आठौं राष्ट्रिय खेलकूद : हक्कीमा प्रदेश २ विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२७
  • |
  • 195 पटक हेरिएको

बाँके, २७ चैत । आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबार विहान भएको पुरुष हक्की प्रतियोगितामा प्रदेश नं. ३ का विरुद्ध प्रदेश नं. २ ले पाँच गोल गरेको छ । खेल अवधिभर प्रदेश नं. ३ लाई दवावमा राखेको २ नं. प्रदेशका खेलाडी मनोज शाहले २४ औँ मिनेटमा पहिलो गोल गरे ।

खेलको ३८ औँ मिनेटमा २ नं. प्रदेशका गोविन्द अधिकारीले दोस्रो गोल गरे । भने, खेलको ५२ औँ र ५४ औँ मिनेटमा २ नं. प्रदेशका कप्तान हरविन्द्र सिंहले दुई गोल गरे । आक्रामक रुपमा मैदानमा उत्रिएको २ नं. प्रदेशका खेलाडीले बललाई आफ्नो कोर्टतर्फ आउन दिएनन् ।

निरन्तर दवावमा राख्दै २ नं. प्रदेशका खेलाडी गोविन्द अधिकारीले ५६ औँ मिनेटमा अर्को गोल गरि आफ्नो टिमलाई अग्रता दिलाए । प्रतियोगितामा २ नं. प्रदेशले ६ पेनाल्टी कर्नर पाउँदा ३ नं. प्रदेशले एउटा मात्र पेनाल्टी कर्नर पाएको हक्की खेलका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए ।

प्रतियोगिताको पहिलो दिन प्रदेश नं. ३ का खेलाडीले कुनै गोल गर्न नसकेपनि खेलाडीको प्रदर्शन एकदमै राम्रो भएको प्रशिक्षक आश्विनी अधिकारीले बताए । उनले २ नं. प्रदेशका पूराना र अनुभवी खेलाडीसँग ३ नं. प्रदेशका नयाँ खेलाडीले प्रतिष्पर्धा गर्नुनै सौभाग्य भएको बताए ।

उनले प्रतियोगितामा सहभागी सवै खेलाडी नयाँ भएको बताउँदै खेलाडीले सोँचेभन्दा राम्रो प्रदर्शन गरेको बताए । ‘खेलाडीको प्रदर्शन माथि खोट लगाउने ठाउँ छैन । नयाँ ठाउँ र पहिलो खेल भएकोले खेलाडी नर्भस भएको जस्तो लाग्यो । खेलाडीको प्रदर्शनबाट म एकदमै सन्तुष्ट छु,’ उनले भने ।

त्यसअघि नेपाल आर्मी र गण्डकी प्रदेश वीच भएको उद्घाटन खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँडिएको छ ।

आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको अवसर पाएन । ‘आर्मीले गण्डकीलाई खेल अवधिभर दवावमा राखेपनि गोल गर्न सकेन,’ उनले भने ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey