आईपीएलपछि सन्दिपले क्यारेवियन प्रिमियर लिग खेल्ने

0

फागुन १८, काठमाडौं । क्रिकेट करिअरमा एकपछि अर्को इतिहार राख्दै नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने इण्डियन प्रिमियर लिग आईपीएलपछि क्यारेवियन प्रिमियर लिग सीपीएल क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

सन्दिपलाई सीपीएल टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले अनुबन्ध गरेको छ । बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा प्याट्रियट्सले सन्दिपलाई ५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

१७ वर्षीय किशोर लेग स्पिनरलाई यसअघि इण्डियन प्रिमियर लिगको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले अनुबन्ध गरेको थियो ।

नामिवियामा भएको डिभिजन टूमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द सिरिज हुनु र आईपीएलमा छनोट हुनु सन्दिपका लागि सीपीएल अनुबन्धको मुख्य आधार बन्यो ।

सीपीएलमा सन्दिपले वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिश गेलसँग ड्रेसिङ रुम शेयर गर्नेछन् । गेल त्यस टिमका कप्तान हुन् । गेलका साथै क्रिश मोरिस, बेन कटिङ स्यामुअल बद्री, मोहम्मद नाभी लगायतका खेलाडी सेन्ट किड्स एण्ड नेभिस प्याट्रियट्समा छन् ।

क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने सीपीएलमा ६ फ्रेन्चाइजी टोली छन् । प्रतियोगिताको यो छैटौं संस्करण हो । अगष्ट ८ देखि सेप्टेम्बर १६ सम्म क्यारेवियन शहरमा प्रतियोगिता आयोजना हुनेछ ।

सीपीएलको अक्सन भइरहँदा सन्दिप भने नेपाली राष्ट्रिय टोलीसँगै जिम्बाबेमा छन् । सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकपको लागि छनोट प्रतियोगिता खेल्न नेपाली टोली जिम्बाबेमा छ । प्रतियोगिताको समूह बी मा रहेको नेपालले जिम्बाबे, स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग खेल्नेछ ।

Post Add 1025X115
Loading...