Prabhu Bank

आर्मीका होमलालद्वारा लुम्बिनी म्याराथनको उपाधि रक्षा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१७
  • |
  • 1 पटक हेरिएको

फागुन १७, रुपन्देही । चौथो संस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका होमलाल श्रेष्ठले रक्षा गरेका छन् ।

बिहीबार लुम्बिनीमा भएको विश्व शान्ति म्याराथनको शीर्ष तीन स्थानमा त्रिभुवन आर्मीकै धावकहरु अटाए । गत सातामात्रै पोखरा म्याराथनको उपाधि जितेका आफ्नै बिभागका हरिकुमार रिमाललाई पछि पार्दै सेनाका होमलाल श्रेष्ठले उपाधि रक्षा गरेका हुन् । उनी गत संस्करणको पनि च्याम्पियन हुन् ।

होमलालले निर्धारित दूरी २ घण्टा ५३ मिनेट १३ सेकन्डमा पूरा गरे । उपाधिसँगै होमलालले ‘लुम्बिनी अशोक पिस पुरस्कार’ स्वरूप नगद १ लाख प्राप्त गरे ।

दोस्रो भएका हरिकुमार रिमालले २ घण्टा ५४ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरे । हरिले ‘कपिलवस्तु हुएन सान पुरस्कार’ स्वरूप ७५ हजार रुपैयाँ नगद जिते ।

म्याराथनतर्फ आर्मीकै खगेन्द्र भाट तेस्रो भए । खगेन्द्रले २ घण्टा ५७ मिनेट ३४ सेकेन्डको समय निकाले । उनले ‘मायादेवी गार्डेन उत्थान पुरस्कार’ स्वरूप ५० हजार प्राप्त गरे ।

म्याराथनमा विदेशी धावकसहित ३५ खेलाडीको सहभागिता रहेको थियो । जसमा ३ भिक्षुसहित १३ जना विदेशी खेलाडी थिए ।

म्याराथन सिद्धार्थ गौतमले बुद्धको रुपमा आफ्नो जन्मभूमि फर्केर बाबु राजा शुद्धोधनलाई भेटेको स्थान कुदानबाट सुरु भई गोटिहवा, कपिलवस्तु, बाणगंगा, तिलौराकोट, निग्लिहवा, अरोरकोट र दोहनी हुँदै मायादेवी मन्दिरमा आएर सकिएको थियो ।

२१ किमिको हाफ म्याराथनको उपाधि भारतीय सेनामा कार्यरत तीर्थ पुनले जितेका छन् । तीर्थको पनि यो लगातार दोस्रो उपाधि हो । उपाधि जित्ने क्रममा तिर्थले १ घण्टा ७ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरे । उपाधिसँगै तिर्थले ५० हजार पुरस्कार पाए ।

१ घण्टा ७ मिनेट ५४ सेकेण्डमा दूरी पूरा गर्दै दोस्राे भएका आर्मीका रामजी बस्नेतले ३० हजार पुरस्कार पाए । तेस्रो स्थान हासिल गरी २५ हजार पुरस्कार जितेका आर्मीका टिकाराम कट्टेलले १ घण्टा ७ मिनेट ५८ सेकेण्डमा दूरी पूरा गरे ।

हाफ म्याराथनमा ५ भिक्षु ७ विदेशीसहित ४५ खेलाडीले सहभागिता जनाएका थिए । हाफ म्याराथन मायादेवीको सुत्केरी मार्ग दोहनीबाट सुरु भई माया देवी मन्दिर आएर समापन भएको थियो ।

पाँच किमी दौडको उपाधि सुनिल थापाले जिते । उनले १७ मिनेट ५ सेकेण्डमा दौड पूरा गरे । दोस्रो भएका संजय राईले १७ मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दा तेस्रो भएका सतेन्द्र यादवले १७ मिनेट २४ सेकेन्डको समय लगाए ।

पाँच किमिको दौड बिजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार प्राप्त गरे ।