खेलकुद मन्त्रीको १ वर्षे उपलब्धीः क्रिकेट शृङखलामा जित, महेश महर्जनलाई स्वर्ण !

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-०२
  • |
  • 183 पटक हेरिएको

नेप्लेज, २ चैत । जगतबहादुर विश्वकर्माले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी संहालेको आज १ वर्ष पूरा भएको छ । मन्त्रालयले मन्त्रीको १ वर्षे कार्यकालको उपलब्धीको फेहरिस्त आइतबार सार्वजनिक गर्दैछन् । मन्त्री विश्वकर्माको नेतृत्वमा मन्त्रालयले खेलकुदतर्फ केहि सकारात्मक पहलहरु भएका छन् । तर, समग्रमा आम खेलक्षेत्रको अपेक्षा सम्बोधन हुने गरी काम गर्न मन्त्री चुकेका छन् ।

खेलकुद ऐन परिमार्जनकाे अवस्था के ?

संघीय संरचनाअनुसार समयानुकुल परिवर्तनका लागि खेलकुद ऐन परिमार्जन गर्न बनेको बिधयेक मन्त्री परिषदमा पुगेको छ । एक वर्षे कार्यकालमा मन्त्रीको सबैभन्दा उच्च उपलब्धी यही हो । साथै खेलकुद विवाद समाधानका केहि अपर्याप्त प्रयास भएको छ । सुरुआती प्रयासको रुपमा यसलाई सकारात्मक मान्न सकिन्छ । यसबाहेक नेपाली खेलकुदमा जो नेतृत्वमा आए पनि हुने परिवर्तन भएका छन् । जसलाई मन्त्रीले अपनत्व लिन खोजेका छन् ।

मन्त्रीले मानेका सफलता

नेपाली क्रिकेट टोलीले युएईबिरुद्धको एकदिवशीय र ट्वान्टी–२० शृङखला जितेको, ओलम्पिक र एशियाली खेलकुदमा अफिसियल खेलकुदको रुपमा नरहेको शारीरिक शुगठनतर्फ महेश्वर महर्जनले स्वर्ण जितेको, एशियाली खेलकुदमा प्याराग्लाइडिङ खेलबाट प्राप्त रजत पदक लगायत मन्त्रीको कार्यकालमा भएका अन्तर्राष्ट्रिय उपलब्धी हुन् ।

जगतबहादुर विश्वकर्माले मन्त्रालयको नेतृत्व संहालेपछि १३ औं दक्षिण एशियाली खेलकुद र आठौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माण कार्यले गति लिएको सत्य हो । तर, समयमै पूर्वाधार नबन्दा आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एशियाली खेलकुद निर्धारित समयबाट सार्नुपरेको छ । यद्यपी यही महिनाको २५ गतेदेखि आठौं खेलकुद र सन २०१९ को डिसेम्बरमा १३ औं साग आयोजना हुने मिति तय भएको छ । आठौं राष्ट्रिय खेलकुदका लागि नेपालगञ्ज रंगशाला स्तरोन्नति गरिएको छ ।

पोखरा रंगशाला पुनर्निर्माणको लागि गत सातामात्र शिलान्यास भएको छ । दशरथ रंगशाला र सातदोवाटोको हिटिङ सिस्टम जडित पौडीपोखरी निर्माण जारी छ । यी संरचना डिसेम्बरमा हुने १३ औं दक्षिण एशियाली खेलकुदका लागि हो । जुन मार्चमा निर्माण सम्पन्न हुनुपर्ने थियो । पूर्वाधारकै कारण डिसेम्बरमा सरेको हो । साग आयोजनामा पूर्वाधारमात्र होइन प्रशासनिक काम पनि अहिलेसम्म सुरु भएका छैनन् । कार्यविधि लगायत आर्थिक निर्देशिका बनेको छैन । करिव ४ अर्व बजेटको अनुमान गरिएको प्रतियोगिताका लागि १ अर्वमात्र विनियोजन भएको छ ।

नेकपा सरकार बनेपछि खेलकुदको सरोकारवाला निकायका पदाधिकारीबीच चुस्त समन्वय हुने अपेक्षा गरिएको थियो । किनभने राष्ट्रिय खेलकुद परिषदमा नेकपा सम्बद्ध केशवकुमार विष्ट र नेपाल ओलम्पिक कमिटीमा नेकपाकै सांसदसमेत रहेका जीवनराम श्रेष्ठको नेतृत्व थियो । तर, मन्त्रीले आफ्ना मातहतका निकाय प्रमुखसँग सुमधुर सम्बन्ध राख्न असफल बने । अनौपचारिक कुराकानीमा तीनै व्यक्तित्व एकअर्कासँग सन्तुष्ट नरहेको बताउने गरेका छन् । मन्त्री विश्वकर्मा कास्की जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

मन्त्री सुनारमाथि औंला

खेलकुदको बजेट विनियोजनका क्रममा आफ्नो जिल्लालाई काखी च्यापेको गुनासो संसदमै उठेको थियो । उनकै पार्टीका सांसदले सुदूरपश्चिम प्रदेशको समग्र खेलकुद बजेटभन्दा कास्कीको बजेट धेरै भएकोमा संसदमै असन्तुष्टि जनाएका थिए । भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने तयारी गर्दा जनस्तरबाटै बिरोध भएको थियो । त्यसपछि मन्त्रालयले धादिङ लगायतका क्षेत्रमा जग्गा पहिचानका लागि खोजी गरेको थियो । तर, त्यसबारे अहिलेसम्म निर्णय भएको छैन ।

यसबीचमा खेलकुद मन्त्रालयमा सचिव परिवर्तन भएको छ । मोहनकृष्ण सापकोटाको स्थानमा कृष्ण देवकोटा आएका छन् । पर्यटन मन्त्रालयबाट सरुवा भएका कृष्ण देवकोटाले पहिलो पत्रकार भेटघाटमै खेलकुदका लागि कानून बाधक बने त्यसलाई परिमार्जन गरेर भए पनि अघि बढ्ने बताएका छन् । त्यसबाट मन्त्रीलाई काम गर्न सहज हुने अपेक्षा गर्न सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेबारी हेरफेर नगरेमा १० महिनाको अबधि बाँकी रहँदा पूर्वाधार र प्रशासनिक काम सम्पन्न गरी १३औं साग गेम्स सफल बनाउनु मन्त्री विश्वकर्माको नयाँ चुनौती हो । युवा तथा खेलकूद मन्त्रालयले अहिले चालु रहेका केही योजनाहरु एक वर्षे कार्यकालमा भएका भनेर बुँदागत रुपमा उल्लेख गरेको छ । तर ती योजनाहरु क्रमागतरुपमा अघि बढेका छन् ।

निर्माणाधिन पुर्वाधार

इटहरी रंगशाला निर्माणका लागि डिजाइन तयार भइरहेको, धरान रंगशालामा कर्भडहल निर्माणका लागि डीपीसी सम्पन्न भइ गारो लगाउने कार्य जारी रहेको, नारायणी रंगशालाको २५६ मिटर मध्य २३६ मिटर कम्पाउण्ड वालको निर्माण कार्य सम्पन्न भएको र बाँकी २० मिटर कम्पाउण्ड वालको विषयमा वाटो विवाद रहेकाले रोकिएको छ ।

मेची रंगशाला झापामा प्यारापिट निर्माणका लागि सेमिकर्भडहल निर्माण कार्य शुरु भएको, चितवन रंगशालाको डीपीआर तयार भई बोलपत्र आह्वान गरेको लगाएतका रहेका छन् । क्रिकेट मैदान तर्फ कोहलपुर क्रिकेट मैदानको वाउण्ड्री वाल, मैदान र पिच निर्माण कार्य, लमही मैदानको मैदान र पित निर्मािण कार्य तथा पोखरामा निर्माणधिक क्रिकेट मैदानको मैदान विस्तानका लागि माटो भरान कार्य सम्पन्न भएको छ ।

भैरहवा क्रिकेट मैदानको पिच, मैदान र नाली निर्माण कार्य सम्पन्न भएको र प्यारापिट निर्माणको लाग अनुमान तयार भइ बोलपत्र आह्वानको तयारी भैरहेको जनाइएको छ । यसैगरी चितवन रंगशालाको कम्पाउण्ड वाल निर्माणका लागि ठेक्का सम्झौता प्रकृयामा रहेको छ भने कन्चनपुरको महेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माण कार्य उपभोक्ता समितिबाट शुरु गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey