Prabhu Bank

सत्यवती र पोखरा विश्वबिद्यालय कलेज प्रिमियर लिगको सेमिफाइनलमा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१०
  • |
  • 0 पटक हेरिएको

फागुन १०, पोखरा । न्यू ग्यालेक्सीबिरुद्ध २ रनको रोमाञ्चक जित निकाल्दै सत्यवती मावि समूह सी तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

अघिल्लो दिन १९ रनले पराजित गरेको सत्यवतीले बिहीबार न्यु ग्यालेक्सीलाई लिगको दोस्रो खेलमा रोमाञ्चक दुई रनले पराजित गर्दै तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटको सेमीमफाईनल प्रवेश गरेको छ । न्यु ग्यालेक्सीले सेमीफाईनल प्रवेशको लागि निर्धारित १७ ओभरमा लक्ष्य पूरा गर्नुपर्ने थियो ।

१२९ रनको लक्ष्यलाई न्यू ग्यालेक्सीले उत्कृष्ट शुरुआत गरे पनि अन्तिम समयमा पुछारक्रमका व्याट्सम्यानले अपेक्षाकृत खेल्न नसकेपछि नतिजा सत्यवतीको पक्षमा गयो ।

न्यू ग्यालेक्सीलाई अन्तिम ओभरमा जितको लागि ८ रन आवश्यक थियो भने उसका २ विकेट बाँकी थिए । तर, उसले ८ रन जोड्न सकेन भने २ विकेट पनि गुमाउन पुग्यो ।

टस जितेर व्याटिङ गरेको सत्यवतीले पाँच विकेटको क्षतिमा १२८ रन बनायो । मिलन थापा मगरले ५९ बलमा ४१ रनको महत्वपूर्ण योगदान दिए । अर्जुन श्रेष्ठले २३ बलमा २५ रन बनाए ।

विनल सुनारले २५ बलमा २४ रनको योगदान गरे । सत्यवतीले २९ रन अतिरिक्त पाएको थियो । अनिष जिसी, संगम गौतम, पेप गुरुङले एक एक विकेट लिए ।

सेमीफाईनल प्रवेश गर्न न्यु ग्यालेक्सीलाई जितले मात्रै सम्भव थिएन् । राम्रो रनरेटको लागि १७ ओभरमै पुरा गर्नुपर्ने चुनौति थियो । उसका लागि किशोर छन्त्यालले २५, राजु थापाले २२ र विजय विकले १८ रन बनाए । न्यू ग्यालेक्सीले अतिरिक्त ३७ रन पाएको थियो ।

१७ ओभरमा खेल जित्ने आशा देखाएको न्यू ग्यालेक्सी अन्ततः १८ ओभरमा अलआउट हुँदै केवल १२६ रनमा समेटियो । सत्यवतीका कप्तान विनय भण्डारीले ४ ओभर १९ रन ४ विकेट लिए ।

म्यान अफ दि म्याच कप्तान विनय भण्डारी भए । उनलाई कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष एवं खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारले म्यान अफ दि म्याचको ट्रफी प्रदान गरे ।

यसैगरी गण्डकी बोर्डिङ स्कुलले वाकओभर दिएपछि पोखरा विश्वबिद्यालय पनि समूह डी बाट सेमिफाइनलमा पुगेको छ ।

दोस्रो खेल वर्षाको कारणले स्थागित भएपछि समूह ए बाट स्याङजा बहुमुखी क्याम्पस र पृथ्वीनारायण क्याम्पसले एक एक अंक बाँडे । स्याङजाले शुक्रबार जनप्रिय बहुमुखी क्याम्पससँग प्रतिस्पर्धा गर्नेछ । पृथ्वीनारायण क्याम्पस तीन अंक छ । सेमीफाईनल प्रवेशका लागि स्याङजाले जनप्रियलाई राम्रो रनरेटमा जित निकाल्नुपर्नेछ ।