प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा सुदुरपश्चिम र एपीएफको विजयी सुरुवात

0

फागुन ९, काठमाडाैं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिम र विभागीय टोली एपीएफले विजयी सुरुवात गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र कैलाली जिल्ला खेलकुद विकास समितीको व्यवस्थापनमा सुरु भएको प्रतियाेगिताकाे उद्धघाटन खेलमा सुदुरपश्चिमले पश्चिामञ्चल विकास क्षेत्रलाई ५ विकेटले पराजित गरेको छ ।

अर्को खेलमा एपीएफले मध्यपश्चिमलाई १० विकेटले पराजित गर्न सफल भयो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको पश्चिमाञ्चलले २० ओभर खेल्दै ९ विकेटको क्षतीमा ७३ रन बनायो । पश्चिमाञ्चलका लागी बर्षा रानाले १४ र सरस्वती पुनले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् । पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा सुदुरपश्चिमकी लक्ष्मी साउदले ३ र कविता जोशीले २ विकेट लिईन् ।

७४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको सुदुरपश्चिमले १७ दशमलव १ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

सुदुरपश्चिमका लागि विमला भट्टले १८ र कप्तान मञ्जु वोगटीले १२ रन बनाइन् । पश्चिमाञ्चलकी सरस्वती पुनले ३ विकेट लिईन् । खेलको नेपाल वेष्टर्न कलेज वुमेन अफ द म्याच सुदुरपश्चिमकी लक्ष्मी साउँद भईन् ।

दोश्रो खेलमा टस जितेर व्याटिङ गरेको मध्यपश्चिमले १८ दशमलव ४ ओरभा सबै विकेट गुमाउदै ३६ रन मात्रै बनाउन सक्यो ।

मध्यपश्चिमले १० रन अतिरिक्त पाएको थियो । मध्यपश्चिमका लागी गिता गोसाईले १५ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् । मध्यपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफकी रितु कनौजीयाले ४ विकेट लिईन । ३७ रनको झिनो लक्ष्य सहित मैदान उत्रिएको एपीएफले ४ दशमलव ५ ओभरमा विना विकेटको क्षती लक्ष्य भेटायो । एपीएफकी ओपनर ज्योती पाण्डेयले १७ र सिता राना मगरले १२ रनको योगदान दिईन् । खेलको नेपाल वेष्टर्न कलेज वुमेन अफ द म्याच एपिएफकी रितु कनौजीया भईन् ।

यसअघि प्रतियोगीताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्धघाटन गरे । उद्घाटन गर्दै सदस्य सचिव फाप्ला क्रिकेट मैदानमा प्याराफीट निर्माणका लागी बजेट विनीयोजन गर्ने बताए ।

प्रतियोगितामा ५ विकास क्षेत्र र एक विभागीय गरी ६ टिमले सहभागीता जनाएका छन । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले नगद २ लाख पाउनेछन ।

Post Add 1025X115
Loading...