३४ वर्षपछि हङकङसँग मैत्रिपूर्ण भलिबल खेल्दै नेपाल

0

माघ १०, काठमाडौं । राष्ट्रिय खेल बनेपछि नेपाली भलिबल थप चलायमान बनेको छ । वर्षमा मुस्किलले १÷२ वटा अन्तर्राष्ट्रिय खेल तथा प्रतियोगितामा सहभागी हुन पाउने नेपाली राष्ट्रिय भलिबल टोलीको यस वर्ष अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा केही प्रतियोगितामा सहभागिता बाक्लिएको छ ।

यस्तैमा नेपाली राष्ट्रिय पुरुष भलिबल टोली हङकङको राष्ट्रिय टोलीसँग २ र मकाउको राष्ट्रिय टोलीसँग १ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भलिबलका लागि बुधबार हङकङ प्रस्थान गर्दैछ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले नेपाली टोलीलाई बिदाई गरे ।

नेपालले माघ १४ र १५ गते हङकङको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण भलिबल खेल्नेछ । त्यस्तै माघ १६ गते मकाउ पुगेर १७ गते मकाउको राष्ट्रिय टोलीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । यी खेलहरु एलियाली खेलकुदको तयारीको रुपमा खेल्न लागिएको हो ।

नेपालले हङकङको राष्ट्रिय टोलीसँग ३४ वर्षपछि भलिबल खेल्न लागेको हो । यसअघि सन् १९८३ मा जापानको टोक्योमा भएको तेस्रो एशियन भलिबल च्याम्पियनसिपमा नेपालले हङकङलाई पराजित गरेको थियो । यता मकाउसँग भने नेपालले पहिलो पटक खेल्न लागेको हो ।

हङकङमा रहेका पूर्व भलिबल खेलाडी तथा ईष्ट एशिया भलिबलका सदभावना दूत निरञ्जन गुरुङको पहल तथा उनकै व्यवस्थापनमा नेपाली टोलीले दुई मुलुकको भ्रमण गर्न लागेको नेपाल भलिबल संघले जानकारी दिएको छ । त्यस्तै पूर्व भलिबल खेलाडी, संघका पूर्व महासचिव जयनारायण चौधरीले पनि नेपाली टोलीलाई सहयोग गरेका छन् । उनी नेपाल भलिबल संघका सल्लाहकार पनि हुन् ।

नेपाली टोलीको मकाउ यात्राको व्यवस्था पूूर्व भलिबल खेलाडी तथा नेपाल भलिबल संघका मकाउ प्रतिनिधि मधुकर थापाले गरेका हुन् । नेपाली टोली माघ १९ गते स्वदेश फर्कनेछ ।

Post Add 1025X115
Loading...