करणको स्मरणमा क्यानडाबिरुद्धको त्यो इनिङ…

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०६
  • |
  • 321 पटक हेरिएको

फागुन ६, काठमाडौं । ‘आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा लिग चरणको अन्तिम खेल । ६ पटक विश्वकप खेलिसकेको क्यानडाबिरुद्धको त्यस खेलमा नेपालले ४२.१ ओभरमा ९ विकेट गुमाइसकेकाे थियाे। क्यानडाका तीनजना खेलाडीहरु बाउण्ड्री रोपनजिकै राष्ट्रिय झण्डा बोकेर तयार अवस्थामा थिए कि नेपाल अल आउट हुनेबित्तिकै मैदान छिरेर जित ‘सेलिब्रेट’ गरौं ।’

त्यो विपक्षीलाई कमजोर पार्ने रणनीति पनि थियो क्यानडाका खेलाडीहरुको । क्रिजमा रहेका सन्दिप लामिछाने र करण केसी त्यो क्षण टुलुटुलु हेरिरहेका थिए । मैदान भित्रै पनि क्यानडेली खेलाडीहरुले नेपालका अन्तिम दुई ब्याट्सम्यानलाई ‘ह्यारेस’ गरिरहेका थिए ।

क्यानडाका खेलाडीहरुको यही रबैयाले करण केसीलाई ‘इगो हर्ट’ भयो । सोचे, ‘कास, खेल जित्न पाए, राष्ट्रिय झण्डा उनीहरुले होइन हामीले पो फहराउछौं ।’

र, ठ्याक्कै त्यस्तै भयो । झण्डा बोकेर जितको उत्सव मनाउन तयार क्यानडेली क्रिकेटर एकाएक निराश र भावुक बन्न पुगे भने, आशा मारिसकेका नेपाली क्रिकेटरले उनीहरुको ठाउँ लिए ।

क्रिकेटमा जे पनि सम्भव भन्ने सुनेका नेपाली क्रिकेट प्रेमीले त्यस दिन वास्तवमै चामत्कारिक खेलको अनुभूति गर्न पाए र सँगै नेपाली क्रिकेट प्रेमीका लागि प्रेम दिवसको सुन्दर उपहार त्यो भन्दा ठूलो के हुन सक्थ्यो र ?

हो, त्यही चामत्कारिक नतिजा दिलाउने नेपाली खेलाडी कुन् करण केसी । बलिङमा सोमपाल कामीको छायाँमा पर्ने गरेका करणले नामिवियाको विण्डहक मैदानमा आफ्नो संयमित र बहादुरीपूर्ण ब्याटिङ इनिङले देशमा मात्र होइन अन्तर्राष्ट्रिय क्रिकेटमै राम्रो चर्चा पायो । उनले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४२ रनको अविजित पारी खेलेपछि नेपालले खेल १ विकेटले जित्यो । त्यसमा सन्दिप लामिछानेले उनलाई राम्रो साथ दिए । अन्तिम विकेटका लागि उनीहरुले ४७ बलमा ५१ रनको विजयी साझेदारी गरे ।

त्यस जितले नेपालाई एकदिवशीय विश्वकप छनोटसम्म पुर्यायो  र नेपाल पुनः डिभिजन वानमा पनि उक्लियो ।

शनिबार स्वदेश फर्किएपछि क्यानडाबिरुद्धको त्यस खेल स्मरण गर्दै करणले आत्मविश्वासले असम्भव कुरा पनि सम्भव बन्ने अनुभूति ब्यक्त गरे । १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन बनाउँदा आठौं विकेटका रुपमा बसन्त रेग्मीलाई गुमाएपछि करण मैदान छिरेका थिए ।

‘क्रिजमा छिर्न लाग्दा शक्ति दाइले भन्नुभएको थियो कि तिमी गएर आरिफलाई सपोर्टमात्र गर, जे गर्छ उसले गर्छ ।’ उनले सम्झिए ।

तर, लगत्तै अर्को ओभरको पहिलो बलमै आरिफ आउट भएपछि नेपाल झन दवावमा आयो । नेपालको अन्तिम भरोसा नै करण र सन्दिप थिए ।

‘त्यसपछिको प्रेसर मेरो काँधमा आयो । हाम्रो अन्तिम खेल थियो, त्यसमा नजिते डिभिजन टूमै रहने निश्चित भएपछि जसरी पनि खेल्नुपर्छ भन्ने सोच आयो । सन्दिपले पनि दाइ तपाईं खेल्नु म सपोर्ट गर्छु भनेँ ।’

‘४४औं ओभरमा दुई बाउण्ड्री लागेपछि म उत्साहित भएँ कि खेल जिताउन सक्छु जस्तो लाग्यो ।’ करणले भने, ‘सन्दिपसँग पनि विकेट टिकाइराख्ने र खेललाई अन्तिम ओभरसम्म लैजाने सल्लाह भयो ।’

त्यो अन्तिम ओभर

‘लास्ट ओभरमा ८ रन आवश्यक थियो । मैले सोचिसकेको थिएँ कि एउटा बाउण्ड्रि हानेँ भने त खेल जितिहालिन्छ नि !’ विण्डहक मैदानको डेथ ओभर सम्झेर रोमाञ्चित हुँदै करणले भने, तर, अन्तिम ओभरमा क्यानडाको बलरले सुरुआती चारै बल योरकर फल्यो । राम्रो लेन्थमा बल फालेपछि मैले केहि गर्नै सकिन ।’

क्यानडाका सेसिल परवेजले अन्तिम ओभर बलिङ गरेका थिए ।

नेपाललाई जितका लागि २ बलमा ८ रन चाहियो । त्यतिबेला करणले सोचेका रहेछन् कि एक बलमात्र खेर फालेँ भने खेल हाम्रो हाफबाट फुस्किन्छ । त्यसैले उनले जे पर्छ पर्छ भनेर खेले । नभन्दै कभरको दिशामा शानदार छक्का प्रहार गरे । त्यही छक्काले नेपाललाई विश्वकप छनोटनजिक पु¥यायो ।

अन्तिम बलमा २ रन आवश्यक थियो । नेपाली टिमको आत्मविश्वास बढिसकेको थियो भने क्यानडाका बलर सम्भवतः करिअरकै सबैभन्दा चर्को दवावमा थिए । त्यसको फाइदा नेपाललाई भयो । उनले फालेको बल वाइड भयो, नेपालले स्कोर लेभल गर्न सक्यो ।

उनले भने, अन्तिम बलमा मैले पूरै विकेट कभर गरेर खेलेको थिएँ, ता कि बल ब्याटमै परोस । उसले बल मेरो खुट्टामै ताकेर फाल्न खोज्यो । प्रेसरकै कारण होला उसले त्यो बल वाइड फाल्न पुग्यो । त्यो वाइडले उसलाई झनै प्रेसरमा राख्यो भने म त्यत्तिकै फ्री भएँ ।’

अन्तिम ओभरमा करणले १ रन लिए र नेपालबिरुद्धको खेल अगाडिसम्म डिभिजन वानमा पुग्न आरामदायी अवस्थामा रहेको क्यानडा एकाएक डिभिजन टू मै रहने भयो । नेपालले अगाडिको बाटो तय गरेको थियो ।

खेल जितेपछिको क्षण उनी वर्णन गर्नै सक्दैनन् । ‘जितेपछि एकछिन त मैले केहि सोच्नै सकिन । आँखा चिम्म गरेर मैदानमै सुतेछु, साथीहरुले आएर धेरै किस गरे (हासो) ।’

फर्किएको आत्मविश्वास

२६ वर्षीया करणले सन् २०१५ मा नामिवियामै भएको डिभिजन टू प्रतियोगिताबाट राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन् । आफ्नो डेब्यू प्रतियोगितामा आम्तविश्वासको कमी खड्केको देखेका करणले यस प्रतियोगिताको सुरुमै कप्तान पारससँग भनेका रहेछन्, ‘दाई हामीले अघिल्लो पटकको डिभिजन टू मा जस्तो यसपटक हामी नर्भस हुनुहुन्न ।’

त्यतिबेला युगाण्डासँग २ रनले हारे पनि, त्यसपछि सबै खेल जितेर नेपाल लिगको शीर्ष स्थानमा पुगेको थियो । लिगको अन्तिम खेलमा केन्यालाई हराउन सकेको अवस्थामा नेपाल डिभिजन वानमा उक्लने थियो तर, नेपाल त्यहीँ चुक्न पुगेको थियो ।

तर, उस्तै अवस्थामा नेपाली टोली यसपटक खरो उत्रिए ।

क्यानडाको बलिङ अपेक्षाकृत शक्त छैन भन्ने बुझेका उनले करणले १९५ को टार्गेट त्यति धेरै सोचेका थिएनन् । तर, उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्का लगातार बलमा आउट भएपछि नेपाली टोली सुरुमै दवावमा आयो ।

लामो साझेदारी बन्न नसक्नु, वर्षाका कारण खेल केहिबेर स्थगित हुनु लगायतका कारण नेपालको हार निश्चितजस्तै भइसकेको अवस्थामा करण र सन्दिपले अविश्मरणीय जित दिलाए ।

उनको आफ्नै करिअरमा पनि यस प्रतियोगिताले आत्मविश्वास फर्काएको छ । एक वर्षअघि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याबिरुद्धको खेल एपेण्डिक्सका कारण गुमाएका उनका लागि राष्ट्रिय टिममा आफूलाई प्रमाणित गर्ने अवसर थियो । त्यसमा उनीखरो उत्रिए, विशेष गरी व्याटिङमा । बलिङमा भने उनले ६ खेलमा २ वकेटमात्र लिए ।

‘एपेण्डिक्स भएपछि धेरैले मेरो करिअर सकिएको ठानेका थिए तर, मैले हिम्मत हारिनँ । हङकङ टूरपछि राम्रो खेल्न सकिरहेको थिइन्, यस प्रतियोगितामा मैले आफूलाई प्रमाणित गरेँ ।

नेपाली टोलीका लागि आगामी दिनहरु अझै चुनौतिपूर्ण रहेको करणले राम्ररी बुझेका छन् । अहिलेभन्दा राम्रो टिमसँग खेल्नुपर्छ । त्यसका लागि राम्रो तयारी चाहिन्छ । खासगरी नेपालले ब्याटिङमा धेरै सुधार गर्नुपर्छ । उनले भने, ‘आगामी दिन धेरै टफ छन्, व्यक्तिगत रुपमा राम्रो खेलेर राम्रो टिमवर्क प्रस्तुत गर्नुपर्छ ।’

कुराकानीमा आधारित

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal