डीपीएल-२, को को छन् रणनीतिक खेलाडी ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१०
  • |
  • 288 पटक हेरिएको

माघ १०, काठमाडौं । धनगढी प्रिमियर लिग डीपिएलको दोस्रो संस्करणमा सहभागी टिम र त्यसका रणनीतिक खेलाडीहरु सार्वजनिक गरिएको छ ।
सहभागी टिमहरु पहिलो संस्करणकै निरन्तरता हुन् । कञ्चनपुर आइकोनिकको टिमको नाम परिवर्तन गरी महेन्द्रनगर युनाइटेड बनाइएको छ ।
त्यसबाहेक काठमाडौं गोल्डेन्स, विराटनगर किंग्स, सिवाइसी अत्तरीया, टिम चौराहा धनगढी र रुपन्देही च्यालेन्जर्सले नै दोस्रो संस्करणमा पनि सहभागिता जनाउनेछन् ।

पहिलो संस्करणमा सीवाईसी अत्तरियाका कप्तान रहेका ज्ञानेन्द्र मल्ल यसपटक काठमाडौं गोल्डेन्सका रणनीतिक खेलाडी छन् ।

त्यस्तै पारस खड्का बिराटनगर किंग्सका रणनीतिक खेलाडी बनेका छन् । उनी यसअघि टिम चौराहा धनगढीका कप्तान थिए ।

टिम चौराहाको रणनीतिक खेलाडी सोमपाल कामी चयन भएका छन् भने महेन्द्रनगर युनाइटेडबाट बिनोद भण्डारी, रुपन्देही च्यालेञ्जर्सबाट शक्ति गौचन र अत्तरिकाबाट दिपेन्द्रसिंह ऐरी रणनीतिक खेलाडी बनेका छन् ।

यसअघि पहिलो संस्करणमा विराटनगर किंग्सको कप्तानी गरेका शरद भेषावकरले यसपटक डीपीएल नखेल्ने भएका छन् । शरदले पारिवारिक कारणले प्रतियोगिता नखेल्ने बताएको आयोजकले जानकारी दिएको छ ।

फाल्गुन ९ गते हुने अक्सनका लागि खेलाडीहरुको श्रेणी विभाजन गरिएकोमा ए श्रेणीमा राष्ट्रिय टोलीबाट कम्तिमा १५ खेल खेलेको या विगत तीन वर्षयता राष्ट्रिय टिमबाट खेल्दै आएको हुनुपर्नेछ । अक्सनमा उनीहरुको न्युनतम मूल्य एक लाखदेखि अधिकतम एक लाख ५० हजार रुपैयाँ हुनेछ ।

यस्तै बी श्रेणीमा राष्ट्रिय खेलाडीका साथै यू–१९ खेलाडीलाई राखिको छ । अक्सनमा उनिहरुको बोली कम्तिमा ५० हजारदेखि अधिकतम एक लाखसम्म हुनेछ ।

सी श्रेणीमा अनक्याप खेलाडीलाइ राखिएको छ । उनीहरुको अक्सनमा न्युनतम मूल्य २५ हजारदेखि अधिकतम ७५ हजारसम्म तोकिएको छ ।

डी श्रेणीमा स्थानीय खेलाडीका साथै विदेशी खेलाडी छन् । हरेक टिमका मार्की खेलाडीले कम्तिमा दुई लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

यसपटक आयोजकले टोलीमा दुई जना विदेशी र एक जना खेलाडी धनगढीमा हुने ट्यालेन्ट हन्टबाट अनिवार्य गरेको छ । रणनितीक खेलाडी र दुई विदेशी खेलाडीबाहेक बांकी १२ जना खेलाडीलाई ११ लाख रुपैयाँ एउटा टोलीले अक्सनमा खर्च गर्न पाउने आयोजकले जनाएको छ ।

करिब ३ करोड लागतमा सञ्चालन हुने डीपीएलको विजेताले २५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको म्यान अफ द सिरिजले टीभीएस वाइक तथा उत्कृष्ट ब्याटसम्यान र बलरले पनि पुरस्कार पाउनेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey