एन्फा अध्यक्षमा कर्मा छिरिङ र मणि कुँवरको भिडण्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 281 पटक हेरिएको

फागुन ३, काठमाडौं । आगामी चैत १४ गते हुने अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचनका लागि मणि कुँवरले उम्मेदवारी दर्ता गराएका छन् । उनी एन्फाका वरिष्ठ उपाध्यक्ष हुन् ।

यसअघि नै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले अहिलेसम्म मनोनयन दर्ता गराएका छैनन् । उनले शुक्रबार मनोनयन दर्ता गर्ने जानकारी दिएका छन् । मनोनयन दर्ता गराउने समयसीमा शुक्रबार अपराह्न ४ बजेसम्मका लागि छ ।

बिहीबार कुँवरले कञ्चनपुर जिल्ला फुटबल संघको प्रस्ताव र खालीबारी युवा क्लवको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

एन्फाको निर्वाचन समितिका संयोजक तथा अधिवक्ता सुमनकुमार केसीका अनुसार अध्यक्षको मनोनयन फारम दुई जनाले मात्र लगेका छन् । ४ उपाध्यक्षका लागि १२ जनाले फारम लगेकोमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्ष पदमा बारा जिल्ला फुटबल संघका मोहमद समिउल्लाह, झापाबाट पंकजबिक्रम नेम्वाङ, सरस्वती क्लवका राजेन्द्र न्यौपाने, सिन्धुपाल्चोक फुटबल संघका वीरबहादुर खड्का, सुनसरी फुटबल संघका किशोर राई, कञ्चनपुर फुटबल संघका गणेश बहादुर चन्द, केन्द्रीय सदस्य बिराटजंग शाही र मानार्थ उपाध्यक्ष सुनील शमसेर राणाले उम्मेदवारी दिएका छन् । नेम्वाङ, न्यौपाने, खड्का र राई कर्मा समूहका हुन् ।

त्यस्तै १ महिला सदस्यसहित १२ केन्द्रीय सदस्यका लागि ३६ जनाले फारम लगेकोमा २५ जनाले मनोनयन दर्ता गराएका छन् । महिला सदस्यमा अहिलेसम्म उम्मेदवारी परेको छैन । निर्वाचन समितिका संयोजक केसीका अनुसार शुक्रबार अपराह्नसम्म मनोनयनको समय रहेकाले मनोनयन दर्ता संख्या बढ्न सक्नेछ ।

वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठ अध्यक्षको दौडबाट पछि हटेका छन् । उनले मणि कुँवरलाई समर्थन गर्ने बताएका छन् । अध्यक्षमा दावी गरिरहेका इन्द्रमान तुलाधर र कृष्ण थापाले कर्मालाई समर्थन गर्ने यसअघि नै घोषणा गरिसकेका छन् ।

एन्फाका तत्कालीन बरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि डेढ वर्ष अगाडि वरिष्ठ उपाध्यक्षका लागि भएको चुनावमा कर्मा मणि कुँवरसँग पराजित भएका थिए ।

भ्रष्टाचारमुक्त एन्फा निर्माण गर्ने भन्दै सुद्धीकरण अभियानको नेतृत्व गरेका कर्मा र पूर्व अध्यक्ष गणेश थापाका नातेदार मणि कुँवरबीचको प्रतिस्पर्धाले मैदान बाहिरको फुटबल माहोल रोचक बनेको छ ।

माहोल यसअर्थमा पनि रोचक छ कि यसअघि लामो समय एन्फाको संस्थापन समूहमा रहेकाहरु अहिले कर्मा समूहमा छन् । एन्फाका पूर्व सीईओ तथा संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधर, उपाध्यक्ष वीरबहादुर खड्का लगायतको एउटा समूह अहिले कर्मा जिताऊ अभियानमा लागेको छ ।

कर्मापक्षले यो दावी गरेको छ कि आफूहरुसँग दुई तिहाई समर्थक छ । नयाँ एन्फा बनाउनका लागि चुनावसम्ममा लगभग सबैको समर्थन आउने कर्मा समूहका इन्द्रमान तुलाधरले जानकारी दिए ।

यता एन्फामा लामो समयसम्म नेतृत्व लिएका र विश्व फुटबल महासंघ फिफाले नै भ्रष्टाचार अभियोगमा लगाएको प्रतिबन्ध झेलेका गणेश थापाको नातेदार भएकै कारण मणि कुँवरको छवि राम्रो देखिएको छैन । थापाकै छायाँमा रहेर काम गर्ने गरेको आरोप उनलाई यसअघि पनि लागेको थियो र, लागिरहेको छ ।

यद्यपी आफूलाई २७/२८ जिल्ला, ए, बी र सी डिभिजन क्लवहरुको समर्थन रहेकाले जितका लागि आशाबादी रहेको प्रतिक्रिया कुँवरले दिए ।

प्रतिबन्धमा रहेका थापा अझै पनि एन्फाको निर्वाचनमा निर्णायक भूमिकामा रहन सक्छन् । एन्फा श्रोतका अनुसार थापाले नरेन्द्र श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउन चाहेका थिए । तर, डेढ वर्षको अध्यक्ष कार्यकालका आफ्ना निकटस्थहरु नै कर्मा समूहमा लागेपछि श्रेष्ठले ‘रिक्स’ लिन चाहेनन् ।

यद्यपी एन्फामा अर्को समूह यस्तो पनि छ जो पैसाका लागि जता पनि लाग्न तयार देखिन्छ । १०/१५ जना सदस्य रहेको यो समूह नै अध्यक्षको चुनावमा निर्णायक बन्न सक्छ । यही समूह डेढ वर्ष अघि भएको मध्यावधि चुनावमा निर्णायक बनेको पराजित पक्षले आरोप लगाउँदै आएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey