नेपाल पुनः डिभिजन वानमा, विश्वकप छनोट खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०२
  • |
  • 257 पटक हेरिएको

फागुन २, काठमाडौं । करण केसीले करिअरकै उत्कृष्ट इनिङ खेलेपछि क्यानडाबिरुद्ध नाटकीय रुपमा १ विकेटको जित हासिल गरी नेपाल आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को फाइनलमा पुगेको छ ।

योसँगै नेपालले एकदिवशीय विश्वकप छनोट खेल्न पाउने भएको छ भने डिभिजन वानमा पनि पुनः उक्लिएको छ ।

क्यानडाबिरुद्ध जित हासिल गरेपछि नेपाल लिगको ५ मध्ये ४ खेलमा जित हासिल गरी ८ अंकका साथ समूहको शीर्ष स्थानमा रह्यो । युएई ६ अंकसहित दोस्रो स्थानमा रह्यो भने उ पनि डिभिजन वानका साथै विश्वकप छनोटका लागि छनोट भएको छ ।

विहीबार हुने फाइनलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ । तेस्राे र चाैथाे स्थानका लागि नामिविया र क्यानडा तथा पाँचाैं र छैटाैं स्थानका लागि अाेमान र केन्या अामनेसामने हुनेछन् । अाेमान र केन्या डिभिजन थ्रीमा  घटुवा भएका छन् भने नामिविया र क्यानडा डिभिजन टू मै रहनेछन् ।

नामिवियाको विण्डहकस्थित वण्डरर्स मैदानमा क्यानडाले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले इनिङको अन्तिम बलमा लक्ष्य भेट्टाउनुअघि खेल निक्कै रोमाञ्चक रह्यो । करण केसी र सन्दिप लामिछानेले दशौं विकेटका लागि ४७ बलमा ५१ रनको शानदार साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो ।

४२ ओभर १ बलमा आरिफ शेख आउट भएपछि धेरैले नेपालको खेल सकिएको ठानेका थिए । तर, त्यसपछि आएका सन्दिपसँग मिलेर करणले करिअरकै उत्कृष्ट र अविस्मरणीय पारी खेले ।

खेलको अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक थियो । करण स्ट्राइकमा थिए । खेलमा तीन विकेट लिएका सेसिल परभेजको सुरुआती ४ बलमा उनले रन लिन सकेनन् ।

पाचौं बलमा छक्का प्रहार गर्दै नेपाललाई जितनजिक लगे । अन्तिम बल परभेजले वाइड फालेपछि नेपालले स्कोर बराबरी गरेको थियो । छैटौं बलमा करणले १ रन लिँदै नेपाललाई ऐतिहासिक जित दिलाए । करणले ३१ ब्लमा ३ चौका र ४ छक्काको सहयोगमा ४२ रनको अविजित पारी खेले । सन्दिपले ५ रन बनाएर उनलाई साथ दिए ।

यसअघि परम्परागत समस्याको रुपमा रहेको नेपालको ब्याटिङ पंक्ति आजको खेलमा पनि चल्न सकेन । त्यसोत नेपालको ब्याटिङ प्रतियोगिताभर चलेको छैन ।

सातौं ओभरमा उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भएपछि नेपालको विकेट पतन सुरु भएको हो । लगत्तै अर्को बलमा कप्तान पारस खड्का डक आउट हुन पुगे । २२औं ओभरमा अर्का ओपनर दिलिप थान ४१ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपालको स्कोर ७३ थियो ।

त्यसपछि ४ ओभरको बीचमा शरद भेषावकर १ र दिपेन्द्र सिंह ऐरी १८ रनमा आउट हुँदा नेपालले ५ विकेट गुमाएर ८१ रन जोडेको थियो ।

छैटौं विकेटका लागि रोहित पौडेल र आरिफ शेखले ४६ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे । तर ३८औं ओभरमा रोहित २७ रनको स्कोरमा आउट भएपछि आएका सोमपाल कामीले पनि ७ रनमात्र जोड्न सकेनन् भने त्यसपछि आएका बसन्त रेग्मीले खाता खाल्नै सकेनन् ।

यसअघि नामिवियाको विण्डहकस्थित वण्डरर्स मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९४ रन बनायो । क्यानडाका लागि ओपनर श्रीमान्था विजेरत्नेले १०३ रनको शतकीय पारी खेलेपछि उसले १९४ रन बनायो । विजेरत्नेले १५२ बल खेलेर ८ चौका प्रहार गरे ।

नेपालका लागि बसन्त रेग्मीले ३, सन्दिप लामिछानेले २, करण केसी र शरद भेषावकरले १/१ विकेट लिए ।
विजेरत्नेले पहिलो विकेटका लागि रुविन्द गुनासेकेरासँग मिलेर ४६ रनको साझेदारी गरेका थिए । ११औं ओभरको दोस्रो बलमा बसन्तले गुनासेकेरालाई ९ रनको व्यक्तिगत स्कोरमा आउट गरे ।

त्यसपछिको दुई विकेट सन्दिप लामिछानेले लिए । २७औं ओभरमा बसन्त रेग्मीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा दालिवाललाई आउट गर्दा क्यानडाले ४ विकेट गुमाएर ९० रन बनाएको थियो ।

३६औं ओभरमा करण केसीले क्यानडाका हज्मा तारिकलाई २४ रनको स्कोरमा आरिफ शेखको हातबाट क्याचआउट गराए । ४२औं ओभरमा शरद भेषावकरले साद विन जफरलाई आउट गर्दा क्यानडाको स्कोर १५५ थियो ।

४३औं ओभरमा निखित दत्त खाता नखोली रनआउट भए भने त्यसको २ ओभर पछि डिलोन हेलिगरलाई बसन्तले बोल्ड गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal