क्यानडा विरुद्ध नेपाललाई जित्नै पर्ने दबाव, ब्याटिङ मुख्य चुनौती

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०२
  • |
  • 219 पटक हेरिएको

फागुन २, काठमाडौं । सन् २०१९ मा इंग्ल्याण्डमा हुने आईसीसी विश्वकप क्रिकेट छनोटको मुख्य आधारको रुपमा रहेको डिभिजन टू क्रिकेटमा नेपालले लिग चरणको अन्तिमा खेल बुधबार क्यानडासँग खेल्दैछ ।

दुवै टोलीका लागि प्रतियोगिताको शीर्ष दुईमा रहेर विश्वकप छनोटको यात्रा तय गर्ने र डिभिजन वानमा बढुवा निश्चित गर्न जितको बिकल्प छैन ।

यसअघिका चार खेलबाट समान तीन जित र १ हारको सामना गरेका नेपाल र क्यानडाबीचको खेलमा पराजित टोलीले शीर्ष दुईमा स्थान बनाउनका लागि अन्य टिमको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

नामिवियाको विन्डहकस्थित वन्डरर्स क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा एक बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले नामिवियालाई १ विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो । त्यसयता दुई खेलमा नेपालले युएईलाई ४ विकेट र केन्यालाई ३ विकेटले पराजित गरेको छ ।

यता क्यानडाले सुरुआती तीन खेलमा क्रमसः ओमानलाई ८ विकेट, युएईलाई २३ रन र केन्यालाई ५९ रनले पराजित गरेको थियो । सोमबार भएको चौथो खेलमा क्यानडा घरेलु टोली नामिवियासँग १७ रनले हारेको थियो ।

बुधबारको खेलमा क्यानडालाई पराजित गरे नेपाल समूह विजेताका रुपमा फाइनलमा पुग्छ भने डिभिजन वानमा पनि उक्लनेछ । साथै मार्चमा जिम्बाबेमा हुने एकदिवशीय विश्वकप छनोटमा पनि सहभागी हुन पाउनेछ ।

यदि नेपाल पराजित भएमा युएई र नामिवियाबीचको खेलको नतिजामा भरपर्नुपर्ने हुन्छ ।

हेड टू हेड

नेपाल र क्यानडा पछिल्लो चार बर्षमा दुई पटक आमनेसामने भएका छन् । तर यी दुई टिम २०१५ पछि पहिलो पटक खेल्दैछन् ।

संयोग के मिलेको छ भने यसअघि पनि नेपाल र क्यानडा डिभिजन टू मा नामिवियामै आमनेसामने भएका थिए । त्यस खेलमा नेपालले ७ विकेटको जित हासिल गरेको थियो ।

सन् २०१४ मा न्युजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो ।

ब्याटिङमा सुधार होला ?

सोमबार भएको केन्याबिरुद्धको खेलपछि नेपालको ब्याटिङ प्रक्तिमा केहि सुधार आएको अपेक्षा पक्कै गर्न सकिन्छ । किनभने मध्यक्रमका युवा ब्याट्सम्यानको संयमित प्रदर्शनले नेपालले केन्यालाई पराजित गरेको थियो।

तर, समग्रमा नेपालको परम्परागत समस्याको रुपमा रहेको ब्याटिङले नामिवियाको मैदानमा पनि नेपाललाई दुःख दिइरहेको छ । मुख्यगरी सुरुआती जोडीमा अझै समस्या छ ।

सुरुआती तीन खेलमा नेपालको ओपनिङ दिलिप नाथ र उपकप्तान ज्ञानेन्द्र मल्लले गरेका थिए । चौथो खेलमा दिलिपलाई ड्रप गरी अनिल साहलाई डेब्यू गराउँदा पनि समस्या समाधान भएन । अलिन डेब्यू खेलमा गोल्डेन डकआउट भए । जसका कारण क्यानडा विरुद्धको खेलमा मुख्य चुनौती ब्याटिङमा हुनेछ ।

केन्याबिरुद्ध १७८ रनको लक्ष्य पछ्याउने क्रममा अग्रपंक्ति ध्वस्त भए पनि आरिफ शेख र रोहित कुमार पौडेलले ८७ रनको संयमित साझेदारी गर्दै टिमको जितमा निर्णायक भूमिका खेलेका थिए ।

कप्तान पारसले पनि पछिल्ला २ खेलमा राम्रो प्रदर्शन गरिरहेका छन् । उनले युएईबिरुद्धको खेलमा ५२ र केन्याबिरुद्धको खेलमा ४२ रन बनाएका थिए ।

सन्दिपले कति विकेट लेलान् ?

पक्कै पनि, क्यानडाबिरुद्ध नेपाली टिमको प्रदर्शनमा युवा लेग स्पिनर सन्दिप लामिछानेको प्रदर्शन निर्णायक हुनेछ । प्रतियोगितामा अहिलेसम्म १४ विकेट लिएका उनी सर्बाधिक विकेट लिने खेलाडीमा १ नम्बरमा छन् ।

केन्याबिरुद्धको खेलमा उनले करिअरकै उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ५ मेडन राख्दै २० रन खर्चेर ५ विकेट लिए । त्यसअघि नामिवियारुद्ध ४, युएईबिरुद्ध ३ र ओमानबिरुद्ध सन्दिपले २ विकेट लिएका थिए ।

आईपीएल टोली दिल्ली डेयरडेभिल्समा आबद्ध भएपछिको पहिलो प्रतियोगितामा उनले शानदार प्रदर्शन गर्दै आएका छन् । उनी नेपालका शनशनी बलर हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey