न्यू डायमण्ड र एपीएफ प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको उपाधि नजिक पुगेका छन ।
सोमबार भएको सेमिफाइनलमा खेलमा शिवम् न्यू डायमण्ड एकेडेमीले नेपाल आर्मीलाई तथा सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिसलाई समान ३–० को सोझो सेटमा हराउदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
चितवनको पटिहानीमा भएको सेमिफाईनल खेलमा शिवम न्यु डायमण्डले आर्मीलाई २५–१४, २५–१२ र २५–२१ को सेटमा पराजित गर्यो ।
एपीएफ र पुलिसबीचको दोश्रो सेमिफाईनल खेलको दोश्रो सेटमा भने पुलिसले अग्रता बनाउदै एपीएफलाई कडा चुनौती दिए पनि नतिजा आफनो पक्षमा पर्न सकेन ।
अन्ततः एपीएफले पुलिसविरूद्धको सेमिफाईनल खेलमा २५–१४, २७–२५ र २५–१५ को जित निकाल्यो ।
प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, उपविजेताले एक लाख तृतीय हुने टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।