राष्ट्रिय टोलीको प्रशिक्षण गर्ने ओलम्पियन बिधान लामाको चाहना

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०७-१९
  • |
  • 670 पटक हेरिएको

नेप्लेज, १९ कात्तिक । नेपालका एकमात्र ओलम्पिक पदक विजेता तेक्वान्दो खेलाडी बिधान लामाले राष्ट्रिय टोलीको जिम्मेबारी सम्हाल्ने चाहना दोहोर्याएका छन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका ओलम्पियन लामाले यसअघि पनि राष्ट्रिय टोलीको जिम्मेबारी पाएमा आफू नेपाल आउने बताएका थिए ।

यसपटकको नेपाल यात्राका क्रममा पनि उनले आफ्नो चाहना पुनः ब्यक्त गरेका छन् । तर, त्यसका लागि आफूलाई अहिलेसम्म कुनै प्रस्ताव नआएको उनले बताए ।

‘मैले आफूले सिकेको ज्ञान, सीप र अनुभव आफ्नै देशका खेलाडी भाइबहिनीहरुमा लागू गर्न पाउनु भनेको मेरो भाग्यको कुरा हो । बिगतमा बाध्यताले बिदेश भासिए पनि राष्ट्रिय टोलीको योगदानको खातिर म सदैव तयार छु ।’ सोमबार रिपोर्टस क्लवमा आयोजित पत्रकार सम्मेलनमा लामाले भने ।

अमेरिकामा तेक्वान्दो स्कुल सञ्चालन गर्दै आएका लामाले अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडीलाई लामो समयदेखि सहयोग गर्दै आएका छन् । सन् २०१० मा नेप्लिज तेक्वान्दो संघ गठन गरेर उनैको सक्रियतामा एभरेष्ट तेक्वान्दो च्याम्पियनसिप पनि आयोजना भइरहेको छ ।

ओलम्पियन लामाले नेपाली खेलाडीहरु क्षमतावान रहे पनि पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन खस्किएकोमा चिन्ता व्यक्त गरे ।

‘एकोहोरो प्रशिक्षणले मात्र खेलाडीको स्तर बिकास हुने होइन । त्यसका लागि म्याच एक्स्पोजरको धेरै आवश्यकता हुन्छ । हामीले हामीभन्दा बलियोसँग अभ्यास गर्यौं वा प्रतिस्पर्धा गर्यौं भने हाम्रो आत्मविश्वास र क्षमता स्वतः बढ्छ ।’ सन् १९८८ को सियोल ओलम्पिकका पदक विजेता लामाले थपे, ‘मेरो बिचारमा नेपाली तेक्वान्दोको मुख्य समस्या अहिले यही नै हो ।’

लामाको स्तम्भ बन्ने

नेपाली खेल इतिहासमै पहिलो पटक जीवित खेलाडीको रुपमा ओलम्पियन बिधान लामाको स्तम्भ बनाइने भएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङको पहलमा बन्न लागेको लामाको पूर्ण कदको स्तम्भ ६ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

नेपाली खेल इतिहासमै अहिलेसम्मका सर्बाधिक सफल खेलाडीको स्तम्भ निर्माण गर्न लागेको घेदुङले सोमबार रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।

लामाले सन् १९८० को दशकमा नेपाली तेक्वान्दोमा गरेको योगदानको उच्च मूल्यांकन गरी नेपाल ओलम्पिक कमिटी र नेपाल तेक्वान्दो संघसँगको समन्वयमा स्तम्भ निर्माण गर्न लागिएको उसले जनाएको छ ।

साधै घेदुङले बिधान लामा फण्डको स्थापना गरी आर्थिक अवस्था कमजोर भएका प्रतिभावान खेलाडीलाई छात्रबृत्तिको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ ।

बिधान लामाले सन् १९८८ को सियोल ओलम्पिकमा प्रदर्शनी खेलका रुपमा समावेश गरिएको तेक्वान्दोमा नेपाललाई काश्य पदक दिलाएका थिए । त्यसै वर्ष उनले आठौं एशियाली च्याम्पियनसिपमा रजत जितेका थिए । त्यसअघि सन् १९८६मा १०औं एशियाली खेलकुदमा काश्य तथा १९८७ मा स्पेनमा भएको आठौं विश्व तेक्वान्दो च्याम्पियनसिपमा काश्य जितेका थिए ।

पत्रकार सम्मेलनमा ओलम्पियन लामाले तीन वर्षअघि आफूले गरेको योगदानप्रति अहिले सम्मानित हुन पाउँदा अनुग्रहित भएको प्रतिक्रिया दिए । साथै भविश्यमा नेपाली खेलाडीलाई उनीहरुले क्षमता बिकासका लागि सहयोग गर्न आफू जुनसुकै बेला तयार रहेको उनले प्रष्ट पारे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey