आर्मीलाई हराउँदै पुलिसले जित्यो राष्ट्रिय फुटबलको उपाधि

0

माघ ७, दाङ । राखेप च्याम्पियनसिप अन्तर्गत २८औं राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नेपाल प्रहरीले जितेको छ । उत्कृष्ट लयमा रहेको त्रिभुवन आर्मी क्लवलाई पेनाल्टी शुटआउटमा ५–४ गोलले हराउँदै पुलिस राष्ट्रिय च्याम्पियन बनेको हो ।

दाङको घोराहीका शनिबार भएको फाइनलमा नियमित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि सिधै पेनाल्टी शुटआउट गरिएको थियो ।

पेनाल्टीमा प्रहरीका पाँचैजनाले गोल गरे भने आर्मीका राजीव गुरुङ गोल गर्नबाट चुक्दा आर्मीले उपाधि गुमाउन पुग्यो ।

प्रहरीका सुमन लामा, बुद्ध लामा, तेज तामाङ, दिनेश राजवंशी र निरकुमार राईले गोल गरेका थिए भने आर्मीका जर्जप्रिन्स कार्की, हिरण्य मगर, विवेक बस्नेत र रुपेश केसीले गोल गरे ।

एपीएफ र सुदूरपश्चिमाञ्चलबीच तेश्रो स्थानका लागि भएको खेलमा एपीएफ टाइब्रेकरमा ४–३ ले विजयी भयो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा एपीएफका आशिष लामा, सन्तोष कटुवाल, मानबहादुर राणा र सुमित आलेले गोल गरे भने दीपक खड्का गोल गर्नबाट चुके ।

सुदूरपश्चिमाञ्चलका प्रकाश हमाल, सुनील धामी र राजन ठगुन्नाले गोल गरे पनि कृष्ण कठायत र खेलमा २ गोल गरेका मणिराम चौधरी चुक्न पुगे ।

यसअघि नियमित समयमा सुदूरपश्चिमाञ्चलका मणिराम चौधरीले ३३औं मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा एपीएफका महेश लामाले गोल गर्दै खेललाई १–१ को स्थितिमा पुर्‍याए । फेरि मणिरामले ६३औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमाञ्चललाई २–१ को अग्रता दिलाए । ९० औं मिनेटमा एपीएफका आशिष लामाले बराबरी गोल फर्काएपछि खेल पेनाल्टी सुटआउटमा धलेलिएको थियो ।

माघ २ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय गरी ८ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Post Add 1025X115
Loading...