पलायनकाे पीडा– खेलेर के पाइन्छ र ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०६-२३
  • |
  • 195 पटक हेरिएको

नेप्लेज, २२ असाेज । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नेपाली खेलकुदको नियमक निकाय राष्ट्रिय खेलकुद परिषदको नारा हो यो । यही नारा सिरोधार्य गरी हजारौं नेपाली खेलाडीहरुले राष्ट्रको नाम उँचो राखे ।

जीवनको सबैभन्दा उर्जाशील समय राष्ट्रका खातीर योगदान दिएका तिनै खेलाडीहरुका लागि करिअरको उत्तरार्धतिर पुगेपछि महशुस हुन्छ– खेलेर के पाइन्छ र ? अहिलेको नेपाली खेलकुदको अवस्था यही हो ।

मुलुकका लागि योगदान दिइरहेका खेलाडीहरु कोही मजदूरी गरिरहेका छन् त कोही बिमारी हुँदा उपचार नपाएर छटपटाइरहेका छन् । पुराना पुस्ताको त्यो हविगत देख्नेहरु आफैं खेलकुदका लागि निरुत्साहित हुनेने छन् भने खेलमा लागेका केहि पनि पछुतो मानिरहेका छन् ।

खेलाडीलाई मजदूरको रुपमा व्यवहार गरिने सरकारी परिपाटी नै यो देशको खेलबिकासको सबैभन्दा मुख्य बाधक हो । ज्यानमा बल हुन्जेल वाही वाही पाएका तीन खेलाडीहरुको भविश्यका लागि राज्यबाट योगदान शून्य छ । खेलेरै बाँच्ने अवस्थाको सृजना गर्ने भन्दै सयौंपटक रटान लगाए पनि व्यवहारमा कहिले लागू हुन्छ उनीहरुलाई नै थाहा हुन्न ।

लामो समय खेलकुदमा लागेर सुनौलो भविश्यको खोजीमा बैदेशिक रोजगारमा जानुपर्ने अवस्था सृजना हुनु भनेको जोसुकै खेलाडीका लागि जीवनको सबैभन्दा कठीन क्षण हो भने राज्यकै लागि लज्जाको विषय हो ।

यसै साता नेपाल प्रहरी क्लवकी एथ्लेटिक्स खेलाडी चन्द्रकला थापा जागीर छाडेर बैदेशिक रोजगारीमा जाने निर्णय गरिन् । १८ वर्ष ७ महिना नेपाल प्रहरीमा रहेर फुटबल र एथ्लेटिक्समा सम्भव भएजति सबै सफलता हासिल गरेकी ३४ वर्षीय चन्द्रकलालाई हामीले सोध्यौं कि बिभागको जागीर छाडेर बिदेशिने निर्णय किन ?

जवाफमा उनले भनिन्, ‘बिभागमै रहे पनि मैले आफ्नो सुरक्षित भविश्य देख्न सकिन । हाम्रो किट नै महंगो पर्छ, प्रहरीको तलवले पुग्दैन, करिअर ओरालो लागेपछि खेलकुद परिषदले हेर्दैन, अनि तपाईं नै भन्नुहोस खेलेर के पाइँदो रहेछ र ?’

उनको निराशा यतिमा मात्र सीमित छैन । ‘मजस्ता बिभागका खेलाडीको हालत त यस्तो छ भने बिभागबाहिरका खेलाडीले आफूलाई कसरी सर्भाइव गरिरहेका होलान् ।’ मोरङ उर्लाबारीकी चन्द्रकलाले भनिन् ।

उनीसँग ओलम्पिक, एशीयन गेम्स, दुई पटक विश्व च्याम्पियनसिप, दुई पटक एशीयन च्याम्पियनसिप र दुई पटक दक्षिण एशीयाली खेलकुद खेलेको अनुभव छ । तर, यी सबै अनुभवले उनको जीवनयापन सहज भएन् र जीवनभर एथ्लेटिक्समा लागिरहन पर्याप्त भएनन् ।

२०५६ सालमा फुटबल खेलाडीको रुपमा नेपाल पुलिस क्लवमा आवद्ध भएकी चन्द्रकलाले त्यही वर्ष नवौं राष्ट्रिय महिला फुटबलमा पुलिसका लागि खेलिन् । त्यसपछि एथ्लेटिक्समा लागेकी उनले करिव १० वर्ष नेपाली एथ्लेटिक्समा १००, २०० र ४०० मिटर दौडमा एकछत्र राज गरिन् ।

सन् २००८ को बेइजिङ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी उनले पछिल्लो पटक सन् २०११ मा दक्षिण कोरियामा भएको विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् ।

एक सय र चार सय मिटरमा १४ वर्ष एक छत्र राज गरेकी चन्द्रकलाले पांचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पांच स्वर्ण जित्दै किर्तिमान बनाएकी थिइन । त्यसपछि पुलिस टिमकै प्रशिक्षक र कमाण्डरको भूमिका पनि निभाइन् ।

१८ वर्षे पुलिस करिअरलाई बिश्राम लिँदै उनी यसै साता दुवई प्रस्थान गर्दैछिन् । नेपाल पुलिसको जागीर छाडेर उनी दुवई पुलिसका लागि छनोट भएकी छिन् । ६ महिनाअघि अर्की पुलिसकै कीर्तिमानी खेलाडी केशरी चौधरीले पनि १० वर्षे खेलजीवन त्यागेर बैदेशिक रोजगारको बाटो रोजेकी थिइन् ।

‘२०५६ सालमा मैले खेलाडीको रुपमा नेपाल प्रहरीमा भर्ना भएको थिएँ, अहिले १८ वर्ष ७ महिनापछि म खेलाडीमै रुपमा बाहिरिएको छु । यसअर्थमा म आफूलाई भाग्यमानी ठान्छु र बिभागलाई धन्यबाद दिन चाहन्छु ।’ नेप्लेजसँगको कुराकानीमा चन्द्रकलाले भनिन् ।

बिदेशमा कति समय बस्ने सोच छ त ? चन्द्रकलाको जवाफ यस्तो छ– ‘सुरक्षित भविश्यको ग्यारेन्टी भएपछि नेपाल फर्कन्छु, बिदेशमा अलिअलि पैसा कमाएर एथ्लेटिक्समै केहि गर्ने सपना छ ।’ करिअरको अन्त्यतिर पुगेकी कीर्तिमानी खेलाडीको पलायन सामान्य लाग्ला । तर, यसले नेपाली खेलकुदको खराव पाटो पर्दाफास गरिदिएको छ । र, भविश्यमा खेलकुदमा लाग्न चाहने युवाका लागि पनि सोच्न बाध्य बनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey