पुलिससँग बदला लिँदै थ्रीस्टारले जित्यो बुढासुब्बा गोल्डकप

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२७
  • |
  • 256 पटक हेरिएको

माघ २७, सुनसरी । एक साताअघि आहा रारा गोल्डकपको फाइनलमा ब्यहोरेको हारको बदला लिँदै ललितपुरको थ्रीस्टार क्लवले नेपाल पुलिसलाई हराएर २०औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ ।

प्रतिस्पर्धात्मक र तनावपूर्ण खेलमा थ्रीस्टारले पुलिसलाई १-० गोलअन्तरले पराजित गरेको हो । गत शनिबार मात्रै पोखरामा आहा रारा गोल्डकपको फाइनलमा पुलिस १-० गोलले विजयी भएको थियो ।

खेल सुरु भएको २७औं मिनेटमा दुवै टोली १० खेलाडीमा समेटिएका थिए । थ्रीस्टारका कप्तान बिक्रम लामा डरलाग्दो ट्याकलमा परेर गम्भीर घाइते भएपछि आक्रोशित टिममेट र पुलिसका खेलाडीबीचको तनावका कारण रेफ्रीले पुलिसका हेम तामाङ र थ्रीस्टारका पिटर सेगुनलाई रेड कार्ड देखाएका थिए ।

खुट्टामा गम्भीर चोट लागेका बिक्रमलाई उपचारका लागि आजै काठमाडौं लगिएको छ ।

मुख्य खेलाडीले रातोकार्ड पाउनु तथा चोटग्रस्त हुनुका बाबजुद थ्रीस्टारले उत्कृष्ट प्रदर्शनलाई जारी राख्दा पहिलो हाफको इन्ज्यूरी समयमा गोल गर्न सफल भयो । ९ मिनेट थपिएको इन्ज्यूरी समयको पाँचौं मिनेटमा थ्रीस्टारका बिदेशी खेलाडी अजेयी मार्टिनले गोल गरेका थिए ।

निक्कै आक्रामक खेल खेलेका दुवै टोलीले दोस्रो हाफमा गोल गर्न सकेनन् र मार्टिनको गोल नै निर्णायक बन्यो । जितसँगै उसले पुलिससँग बदला लिएको छ भने सिजनको दोस्रो उपाधि पनि जितेको छ ।

उपाधि विजेता थ्रीस्टारले ५ लाख ५५ हजार रुपैयाँ पुरस्कार पाएको छ ।

प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी थ्रीस्टारका निराजन खड्का चुनिए । उनले मोटरसाइकल पुरस्कार पाए । प्रतियोगिताभर ३ गोल गरेका उनले उच्च गोलकर्ताको रुपमा २५ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक थ्रप्स्टारका एलन न्यौपाने, उत्कृष्ट डिफेण्डर थ्रीस्टारकै ओलावाले, मिडफिल्डर पुलिसका सुमन लामा र स्ट्राइकर पुलिसकै रेजिन सुब्बा चुनिए । उत्कृष्ट प्रशिक्षक थीस्टारका मेघराज केसी बने भने राजिङ प्लेयरको उपाधि धरानका रोमन लिम्बु बने । उनीहरु सबैले जनही २५ हजार पुरस्कार पाए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal