खेलकुदले जुटाएको कोरियाली ‘एकता’

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२७
  • |
  • 188 पटक हेरिएको

खेलकुद एउटा यस्तो माध्यम हो जसले विभिन्न भौगोलिक तथा राजनीतिक तिक्तता मेटाउन सक्छ । देशलाई चिनाउनेमात्र होइन, मित्रताको सन्देश पनि विश्वभर फैलाउन खेलकुद सक्षम छ र रहँदै आएको छ । शीतयुद्धमा विश्वका शक्ति दुई खेमामा बाँडिएको बेला होस तथा अहिलेको आर्थिक युगमा, खेलकुदले सबैलाई जोड्ने काम गरेको छ ।

दक्षिण कोरियाको प्योङच्याङमा शुक्रबारबाट सुरु भएको शीतकालीन ओलम्पिक राजनीतिक दुस्मनीबाट माथि उठ्दै पछिल्लो समय विश्व राजनीति तताएको उत्तर कोरियालाई शान्ति प्रति प्रेरित गर्नका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको छ ।

अहिलेको विश्वमा कुनै पनि ब्यक्ति, समाज वा राष्ट्र एक्लै अघि बढ्न सक्दैन । यो कुरा उत्तर कोरिया पनि राम्ररी बुझ्छ । त्यसैले शीताकालीन ओलम्पिकको यो संस्करणमा विश्वका खेलाडीमात्र होइन, शक्तिशाली नेताहरुको पनि एकैस्थानमा जमघट भयो ।

लामो समयदेखि उत्तर र दक्षिणवीच बढेको दूरीलाई विर्साउने गरी यी दुई देशका खेलाडीले संयुक्त मार्चपास गरे । उनीहरुले बोकेको झण्डमा आकाशे नीलो रंगमा दुई देशको संयुक्त नक्सा अंकित थियो ।

यो घटनाले विश्व खेलकुदमा मात्र होइन विश्व राजनीतिमा नै ठूलो तरंग ल्याएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले उद्घाटन समारोहमा भने, ‘हामीलाई विभाजित गराउन चाहने कुनै पनि शक्ति भन्दा हामी बलिया छौं ।’

विन्टर ओलम्पिकको यस संस्करणको उद्घाटन समारोहले नै सफलताको उच्च विन्दू प्राप्त गरिसकेको अनुभव अध्यक्षले पनि गरेका छन् ।

उदघाटन समारोहमा उत्तर कोरियाका आईस हकी खेलाडी चुङ गम ह्वाङ र दक्षिण कोरियाका बोबस्लेडर वोन युङ–जोङले संयुक्त रुपमा ध्वजा फहराएका थिए ।

ओलम्पिकमा उत्तर र दक्षिणवीचको एकता झण्डा र मार्चपास परेडमा मात्र सीमित भएन । ओलम्पिकमा दुई देशका खेलाडी सम्मिलित टिमले महिला आइस हकीमा कोरियाको प्रतिनिधित्व गर्नेछन् । अघिल्लो साता महिला टिमले स्वीडेनसँग अभ्यास खेलसमेत खेलिसकेको छ जुन खेलमा ‘युनाइटेड’ कोरिया ३–१ ले पराजित भयो ।

उत्तर कोरियाका २२ खेलाडीले विभिन्न पाँच खेलमा प्रतिष्पर्धा गर्नेछन् ।

उदघाटन समारोहमा उत्तर कोरिया र संयुक्त राज्य अमेरिका शक्तिशाली नेताहरु पनि एकै स्थानमा भेला भए । उत्तरका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम जो–जोङ विशिष्ठ कक्षमा अमेरिकाका उपराष्ट्रपति माइक पेन्स भन्दा पछिल्लो लाइनमा बसेकी थिइन् ।

दक्षिणका राष्ट्रपति मुन जेई–इनले उनीसँग हात मिलाएर स्वागत गर्दा रंगशालामा उपस्थित ३५ हजार दर्शक र टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हेरिरहेका करोडौं खेलप्रेमी साक्षी रहे । राष्ट्रपति जेई–इनले भने, ‘म कोरियाका जनाताका तर्फबाट शान्ति र मित्रताको सन्देश दिन चाहन्छु ।’

यसअघि सियोल ओलम्पिकले शीतयुद्ध साम्य पार्न पु¥याएको योगदानको स्मरण गर्दै जेई–इनले भने, ‘प्योङच्याङ शीतकालीन ओलम्पिकले ३० बर्षपछि विश्वभर सबैका लागि शान्तिको आशाको सुरुवात गरेको छ ।’

उत्तर कोरियाले पनि शान्ति वार्ताका लागि प्योङच्याङमा उच्चस्तरीय वार्ता टोली पठाउने घोषणा गरेको छ ।

यस शीतकालीन ओलम्पिकमा रुसी खेलाडी प्रतिबन्धका कारण ओलम्पिक झण्डामूनि रहेर खेल्दैछन् । राज्यप्रायोजित डोपिङपछि रुसलाई प्रतिबन्ध लगाउँदै आईओसीले १६९ खेलाडीलाई निमन्त्रणा दिएर खेल्न बोलाएको थियो ।

एजेन्सी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey