सुवास र आशिषलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०६-१२
  • |
  • 516 पटक हेरिएको

काठमाडौं, १२ असोज। ठीमी डोजोका आशिष लामा र मेन डोजो, भक्तपुरका सुवास परियारले प्रथम उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको पहिलो दिन स्वर्ण पदक जितेका छन् ।

विद्या आर्जन सितोरियो शाखा डोजो, भक्तपुरद्वारा आयोजित प्रतियोगिताको फाइनलअन्तर्गत पुरुष ३५ केजीमा आशिषले मेन डोजो, भक्तपुरका मनोज तामाङ तथा ३० केजीमा सुवासले काभ्रे एकेडेमीका एलिस कार्कीलाई पराजित गरे ।

भक्तपुरस्थित विद्या आर्जन स्कुलमा भएको प्रतियोगिताको पुरुष २० केजीमा भक्तपुर नगरपालिकाका लक्की सुवाल तथा २५ केजीमा लुभू डोजोका सुमित पाख्रिनले स्वर्ण जिते ।

फाइनलमा लक्कीले मेन डोजो भक्तपुरका सुजल कोण्डा तथा सुमितले टौखेल डोजोका ईश्वर थुयालाई हराए ।

महिला २० केजीमा गोजुरियोकी अस्मिता तामाङ पहिलो भइन् । अस्मिताले फाइनलमा गोजुरियोकै प्रियन्शा लामाको चुनौती समाप्त पारिन् ।
२५ केजीमा गोजुरियोकी अनिता तामाङले भक्तपुर नगरपालिकाकी कृतिका राईलाई फाइनलमा पाखा लगाउदै शीर्ष स्थान हात पारिन् ।
३० केजीमा गोजुरियोकी सोनी तामाङले पहिलो स्थान हात पारिन् । फाइनलमा सोनीले मेन डोजो, भक्तपुरकी सुस्मिता शर्मालाई पन्छाइन् ।

आठ वर्षीय आर्यन सम्मानितः

प्रतियोगिताको उद्घाटन अवसरमा अन्तर्राष्ट्रिय पदक विजेता आठ वर्षिय आर्यन रन्जितलाई नगदसहित सम्मान गरिएको थियो ।
आर्यनले दुई साताअघि सिंगापुरमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा कांस्य जितेका थिए ।
सोही अवसरमा आठौं दक्षिण एसियाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता रामशरण ट्वाटी तथा नेपाल रेफ्री काउन्सिलका संयोजक राजेन्द्र कपाली र सह–संयोजक महेश रन्जितलाई पनि सम्मान गरियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगिताको उद्घाटन गर्नुका साथै केहि तौलसमूह पदक विजेता समेतलाई पुरस्कृत गरे ।

दुईदिने प्रतियोगितामा आमन्त्रित काभ्रेसहित विभिन्न २३ डोजोका २ सय २० पुरुष तथा ८९ महिला खेलाडीले विभिन्न ३२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक एवं डोजो प्रमुख सूर्यबहादुर तामाङले जनाएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey