तेक्वान्दो र उसुमा सकियो आशा, अब बक्सिङ र करातेको भर

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-०७
  • |
  • 298 पटक हेरिएको

नेप्लेज, ७ भदौ । इण्डोनेसियामा जारी १८औं एशियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन जारी छ । प्रतियोगितामा ६ दिनसम्मको खेल सकिँदा अधिकांश खेलमा नेपालको चुनौति सकिएको छ । बिगतको प्रदर्शनका आधारमा पदकको आशा गरिएको उसु र तेक्वान्दोमा नेपालको चुनौति सकिएको छ ।

त्यसोत घरेलु खेलकुद गतिविधि र तयारीलाई हेर्ने हो भने एशियाली खेलकुद जस्तो ठूलो प्रतियोगितामा हामीले धेरै अपेक्षा गर्नुहुँदैन । प्रत्येक चार चार वर्षमा एशियाली खेलकुद आउँछ भन्ने सत्य बिर्सिएर नेपाल हरेक पटक एशियाली खेलकुद आउनुभन्दा २–४ महिना पहिले मात्रै विशेष तयारीमा लाग्छ ।

यसपटक पनि केहि महिनाको तयारी गरी धेरै भन्दा धेरै पदकको आशा गरी जम्बो नेपाली टोली इण्डोनसिया पुगेको थियो । तर, अहिलेसम्म पदकको सम्भावना देखिएको छैन ।

एशियाली खेलकुदमा नेपालले अहिलेसम्म २३ पदक जितेको छ । त्यसमध्ये तेक्वान्दोले मात्र १ रजतसहित १४ पदक जितेको छ । चार वर्षअघि इन्चोन एशियाड र त्यसको चार वर्षअघि ग्वान्झाओ एशियाडमा पदक जित्न नसकेको नेपानी तेक्वान्दोले त्यसैलाई निरन्तरता दिँदै जाकार्तामा पनि पदकबिहीन बन्यो ।

इन्चोन एशियाडमा कराते र ग्वान्झाओ एशियाडमा बक्सिङका खेलाडीले काश्य जितेर नेपाललाई पदकबिहीन हुनबाट जोगाएका थिए । यसपटक पनि त्यही खेलको भर पर्नुपर्ने देखिएको छ ।

बक्सिङको प्रतिस्पर्धा शुक्रबार र करातेको प्रतिस्पर्धा शनिबारदेखि सुरु हुँदैछन् । त्यस्तै शनिबारदेखि नै प्याराग्लाइडिङको क्रशकन्ट्री बिधातर्फको प्रतिस्पर्धा सुरु हुनेछ । र, यही तीन खेल नेपालको पदक आशाको अन्तिम त्यान्द्रो हो ।

नेपालले स्वर्ण पदकको आशा गर्न सक्ने ओलम्पिक पछिको सबैभन्दा ठूलो खेलकुद महामेलाका लागि प्रभावकारी योजना नहुनु, हचुवाका भरमा बैदेशि प्रशिक्षणका लागि पठाउनु, आन्तरिक राजनीतिका कारण एशियाली खेलकुदमा नेपालको प्रदर्शन क्रमसः खस्कँदो छ ।

नेपालले कम्तीमा कास्य पदकको अपेक्षा गरेको तेक्वान्दो र उसुले निराश बनाएका छन् । एशियन गेम्सको तयारीका लागि भन्दै तेक्वान्दोले दक्षिण कोरिया र उसुले चीन लगेर विशेष प्रशिक्षण दिएको थियो । यी दुई खेलको नतिजा र विपक्षीको प्रदर्शन्ले नेपालको खेल न्यून स्तरको रहेको पुष्टि गरेको छ । सुधार गर्नुपर्ने धेरै ठाउँहरु छन् ।

खेलकुदका पदाधिकारीले एशियाली खेलकुदअघि नेपालले अहिलेसम्मकै धेरै पदक ल्याउने ठोकुवा नौ गरेका थिए । तेक्वान्दो र उसुमा निराश भए पनि कराते र बक्सिङले नेपाललाई पदकबिहीन हुनबाट जोगाउने अपेक्षा गरिएको छ । एक्यूरेसी बिधामा असफल भएको प्याराग्लाइडिङ टोलीले पनि आफ्नो स्ट्रेन्थको रुपमा रहेको क्रसकन्ट्री बिधामा पदक ल्याउने अपेक्षा गरेको छ ।

खेलाडीको डाइटदेखि प्रशिक्षण स्थलको अभावको प्रतिफल यसपटकको एशियाडमा देखिएको छ । अघिल्ला संस्करणहरुमा त एउटा पदकले भए पनि नेपाल खाली हात फर्कनुपरेको थिएन । तर, यसपटक त त्यही डर सुरु भइसकेको छ । जाकार्ता आएका खेल पदाधिकारीको जम्बो टोलीले चीन, जापान, दक्षिण कोरिया र आयोजक इण्डोनेशियाकै खेलाडीको प्रदर्शन हेरेर कम्तिमा यो त बुझ्नैपर्छ कि ‘पदक जित्न के गर्नुपर्छ ?’

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey