एसियाड अन्तर्गत तेक्वान्दाेमा नेपाल रित्ताे हात घर फर्किने निश्चित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-०७
  • |
  • 202 पटक हेरिएको

नेप्लेज, ७ भदाै । १८औं एशियाली खेलकुद अन्तर्गत पदकको आशा गरिएको तेक्वान्दो यसपटक पदकबिहीन भएको छ ।

नेपालबाट अन्तिम प्रतिस्पर्धीको रुपमा रहेका ज्ञानेन्द्र हमाल र अस्मिता खड्काले बिहीबार पराजय ब्यहारेपछि १८औं एशियाडबाट नेपाली तेक्वान्दो खाली हात घर फर्कने निश्चित भएको हो ।

बिहीबार पुरुषको ६८ केजीमूनि स्पर्धामा नेपालका ज्ञानेन्द्र हमाल प्रि–क्वार्टरफाइनलमा मलेसियाली खेलाडी रोजाइमी रोजालीसँग ३०–२ अंकले पराजित भए । यसअघि आजै भएको पहिलो चरणको खेलमा उनले भुटानका वाङचुक जिग्मेलाई ३९–१७ अंकका आधारमा पराजित गर्दै दोस्रो चरणमा पुगेका थिए ।

यता महिलाको ४९ केजीमूनि तौलसमूहमा नेपाली खेलाडी अस्मिता खड्का पनि प्रि–क्वार्टरफाइनलमै पराजित भइन् । उनी इरानी खेलाडी कियानीचान्दे नाहिदसँग ४३–४ अंकको आधारमा पराजित भइन् । इण्डोनेसियामा जारी १८औं एशियाली खेलकुदमा तेक्वान्दोबाट चार खेलाडी सहभागी थिए ।

जस अन्तर्गत गेरोगीतर्फ १० र पुम्सेतर्फ ४ खेलाडीको सहभागिता थियो । नेपालका कुनै पनि खेलाडीले पदक जित्न सकेनन् । पुरुष ५७ केजीमा सागर गुभाजु, ६२ केजीमूनिमा वीरबहादुर महरा, ६८ केजीमूनिमा ज्ञानेन्द्र हमाल, ७८ केजीमूनिमा भूपेन श्रेष्ठ र ८० केजीमूनिमा अनोज पुजारीले एशियाडमा प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै महिलातर्फ ४९ केजीमूनिमा अस्मिता खड्का, ५३ केजीमूनिमा निमा गुरुङ, ५७ केजीमूनिमा ज्ञानी चुनारा, ५५ केजीमूनि संगीता बस्याल र ७५ केजीमूनिमा निशा रावलले सहभागिता जनाएका थिए । र, पुम्सेतर्फ कमल श्रेष्ठ, पार्वती गुरुङ, सिना मादेन र निता गुरुङ सहभागी थिए ।

नेपालका लागि एशियाली खेलकुदमा सबैभन्दा धेरै पदक जित्ने खेल तेक्वान्दो योसहित तीन एशियाडमा पदकबिहीन भएको छ । एशियाली खेलकुदमा नेपालले जितेका २२ मध्ये एकमात्र रजतसहित १४ पदक तेक्वान्दोबाट जितेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey