प्याराग्लाइडिङलाई ऐतिहासिक अवसर

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-२५
  • |
  • 452 पटक हेरिएको

नेप्लेज, २४ साउन । पोखरा आसपासको क्षेत्रमा व्यवसायिक मनोरञ्जनको माध्यमको रुपमा परिचित छ प्याराग्लाइडिङ । यसलाई बिशुद्ध खेलका रुपमा भन्दा पनि व्यवसायिक रुपमा धेरै प्रयोग गरियो । दैनिक सयौं ग्लाइडरहरु पोखराका आकाशमा उडिरहेका हुन्छन्, यसले पर्यटकीय प्रवर्धनमा टेवा पुगेकै छ । तर, प्याराग्लाइडिङलाई एउटा खेलको रुपमा स्थापित गराउन भने सरोकारवालालाई अझै हम्मे परेको छ ।

दुई दशकअघि नेपाल हवाइ खेलकुद संस्थाको रुपमा स्थापित एउटा संस्थाले यसलाई खेलकुदको रुपमा स्थापित गराउन त्यतिबेलैदेखि प्रयास नथालेको होइन । नेपालमा १८औं संस्करणसम्म राष्ट्रिय च्याम्पियनसिप, एक एक पटक एशियाली च्याम्पियनसिप र प्रि–वर्ल्डकप आयोजना भइसकेको छ । अझै पनि प्याराग्लाइडिङ पूर्ण व्यवसायिक खेल स्पर्धाको रुपमा स्थापित हुन सकिरहेको देखिन्न ।

यसबीचमा २०७५ साल प्याराग्लाइडिङलाई खेलकुदका रुपमा स्थापित गराउन पहल गर्नेहरुका लागि सपना साकार भएको वर्ष बन्दैछ । नेपाली प्याराग्लाइडिङ टोली ओलम्पिक खेलको रुपमा मान्यता पाउँदै अर्को सातादेखि सुरु हुने एशियाली खेलकुदमा सहभागिता जनाउँदैछ भने ६ महिनापछि नेपालमै हुने १३औं साग गेम्समा पनि समावेश भएको छ । यो समग्र नेपाली प्याराग्लाइडिङ खेलको कोशेढुंगा हो ।

त्यसो त नेपाली टोलीले अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ फेडेरेसन मातहतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको होइन । अझ त्यस्ता प्रतियोगितामा नेपाली खेलाडीहरुले प्रायः पदक पनि जितिरहेका थिए । तर, ओलम्पिक खेलमा समावेश भएपछि यसको दायरा फराकिलो बनेको छ । नेपालको सरकारले प्याराग्लाइडिङलाई आफ्नै खेलको रुपमा समेटेको छ र यसको व्यवसायिकीकरणको सुरुआत गरेको छ ।

पक्कै पनि पहिलो पटक ओलम्पिक खेलको रुपमा एशियाली स्तरमा प्रतिस्पर्धा गर्नु नेपाली प्याराग्लाइडिङका लागि एतिहासिक क्षण हो । इतिहास त्यतिमा मात्र सीमित हुनुहुँदैन । नेपाली टोलीले अर्को दृढ संकल्प के गरेको छ भने पहिलो सहभागितालाई नै स्वर्णिम बनाउँदै पदक दिलाउने । यसो भएमा सुनमा सुगन्ध हुनेछ । नेपाली टोलीको नेतृत्व गरिरहेका सिनियर पाइलट बिमल अधिकारीले भनिसकेका छन्, ‘पहिलो पटक एशियाली खेलकुदमा सहभागी भए पनि हामी हाम्रा प्रतिद्वन्द्वीसँग परिचित छौं, अनुकुल नतिजा निस्किएला ।’

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालले पदकको आशा गरेको खेलमध्ये प्याराग्लाइडिङ पनि एक भएको भन्दै नेपाली टिमलाई इण्डोनेशिया प्रस्थान गर्नुअघि जितको उत्साह थपे । एक वर्षअघि त्यहीँ भएको प्रतियोगितामा टिम च्याम्पियन बनेको नेपाली टोलीका तिनै सदस्यहरुले यसपटक पनि इण्डोनेशिया भ्रमण गरेका छन् ।

एशियाली खेलकुदमा नेपालको सहभागिता अहिलेसम्म सन्तोषजनक छैन । नेपालले अहिलेसम्म १ रजत र २२ काश्य जितेको छ । पटकको उच्च आशा गरिएको प्याराग्लाइडिङका लागि अर्को अवसर पनि छ, त्यो हो एतिहासिक पहिलो स्वर्ण । त्यसका लागि जापान, कोरिया र इण्डोनेशिया नेपालको प्रमुख चुनौति हो ।

एशियाली खेलकुदमा नेपालले क्रसकन्ट्री, एक्यूरेसी र टिम एक्यूरेसी गरी तीन बिधामा महिला र पुरुष टोलीमा प्रतिस्पर्धा गर्दैछ । टोलीका पशिक्षक योगेश भट्टराईले क्रसकन्ट्री आफूहरुका लागि परिचित भए पनि एक्यूरेसी नयाँ बिधा भएकाले तयारी त्यसैमा केन्द्रित गरिएको बताए । उनले भनेका छन्, ‘एक्सी (क्रसकन्ट्री) हाम्रो लागि नयाँ होइन, त्यसमा हामी शतप्रतिशत दिन सक्छौं, तर, एक्यूरेसीमा हामी नयाँ छौं, त्यसका लागि आवश्यक पर्ने डिभाइस मगाएर एक महिनादेखि तयारीमा केन्द्रित छौं, राम्रो गरिरहेका छौं र प्रतियोगिताका लागि आशाबादी छौं ।’ इण्डोनेशियाको मौसमसँग अभ्यस्त हुन नेपाली टोली एकसाता अघि नै त्यहाँ पुगेको छ ।

‘अन्तर्राष्ट्रिय प्रतियोगितामा अहिलेसम्म पदकविहीन छैनौं’
बिमल अधिकारी, कप्तान

हामी पहिला खेलिरहेका खेलाडीहरु जति छौं, त्यही नै एशियन गेम्समा जाँदैछौं । सरकार र ओलम्पिक कमिटीको दायरामा नआउँदा पनि हामी बिदेशका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुम सहभागी भएर उत्कृष्ट नतिजा निकालेका छौं । र, त्यही टिम अहिले एशियाली खेलकुदमा जाँदैछौं ।

हालसालै चीनमा भएको प्रि–वर्ल्डकपमा बिशाल थापाले तेस्रो स्थान हासिल गर्नुभएको थियो, जो अहिले पनि हाम्रो टिमको सदस्य हुनुहुन्छ, त्यस्तै गएको वर्ष हामी इण्डोनेशियामै भएको प्रतियोगितामा टिम च्याम्पियन बनेका थियौं ।

यी लगायत अन्य प्रतियोगिताहरुमा पनि हाम्रो यही टिम गएर उत्कृष्ट मेडलहरु ल्याएका छौं । त्यसले गर्दा पनि हामी यस प्रतियोगितामा आशाबादी छौं । एशियन गेम्समा जो हाम्रा प्रतिस्पर्धी हुनुहुन्छ, उहाँहरुलाई पनि हामी राम्रोसँग चिन्छौं ।

खासमा भन्दा हामी पहिला क्रसकन्ट्री पाइलट भनेर चिनिन्थ्यौं । त्यसैले क्रसकन्ट्री इभेन्टमा हामी आशाबादी छौं । र, सँगसँगै एक्यूरेसी पनि हुँदैछ । यो चाहीँ हाम्रो लागि नयाँ हो । यद्यपी एक महिनाअघि इण्डोनेशियामै पुगेर प्राक्टिस गरेर आएका छौं र खेल बुझेर आएर यहीँ प्रशिक्षण गरेका छौं । हामी एक्यूरेसीमा पनि कमजोर नै चाहीँ छैनौं ।

महिलाको हकमा हामी पहिलो पटक कुनैपनि बिदेशी प्रतियोगितामा सहभागिता जनाउँदैछौं । महिला टोलीलाई प्रोत्साहन र हौसला पनि भएको छ । मुख्य कुरा के हो भने हामीसँग पहिला अवसर थिएन । अहिले सरकारले नै हामीलाई यस्तो अवसर उपलब्ध गराइराखेको छ भने आउने दिनहरुमा महिला टोलीबाट पनि हामी पदकको आशा गर्न सक्ने हुँदैछौं ।

यो निकै खुसीको कुरा हो कि हाम्रै मुलुकमा हुने साग गेम्समा हामीले प्यराग्लाइडिङ खेल पनि देखाउन पाउने भयौं । आफ्नै ग्राउण्डमा खेल्न पाउनुको मज्जै अर्कै हुन्छ । इण्डोनेशियामा हामीले गत महिना पाकिस्तान, अफगानिस्तानका खेलाडीहरुलाई भेटेका थियौं, उहाँहरु नेपालमा आएर खेल्न निकै उत्सुक हुनुहुन्छ । साथै हामीसँगै उडिरहेको भारतीय टिम । भारतको टिमसँग हाम्रो प्रतिस्पर्धा हुन्छ, तर, समग्रमा हाम्रो टिम बलियो छ । त्यसले गर्दा हामी एशियन गेम्सलगत्तै जब नेपाल फर्कन्छौं, पोखरामै खेल हुने भएकाले त्यहीँ हामी साग गेम्सको तयारी सुरु गछौं । नियमित र स्तरीय प्रशिक्षण गर्न सक्यौं भने हामी सागमा स्वर्णकै आश राख्न सक्छौं ।

‘कोरिया, जापान र इण्डोनेशिया हाम्रा प्रतिद्वन्द्वी’
योगेश भट्टराई, प्रशिक्षक

पहिलो पटक एशियन गेम्समा प्याराग्लाइडिङ समावेश गरिएको छ । तयारी अनुसारको कुरा गर्नुपर्दा, हाम्रो एक्सी (क्रसकन्ट्री)मा चाहीँ लामो समयदेखि उडान भरिरहेको कारण हामी निकै अनुभवी छौं र सहज अवस्थामा पनि छौं । १८औं संस्करणसम्म राष्ट्रिय प्रतियोगिताहरु यही स्पर्धामा गरिएको छ । खेलाडीहरुसँग अन्तर्राष्ट्रिय खेलको अनुभव पनि छ ।

तर, एक्यूरेसी जुन एउटा प्वाइन्टमा ल्याण्ड गर्नुपर्ने हुन्छ, त्यो हाम्रा लागि बिल्कुल नयाँ चीज भएको छ । हामीले एशियन गेम्सकै तयारीको रुपमा दुई वटा सामान्य प्रतियोगिताहरु गरेका थियौैं, केहि न केहि अनुभव हासिल गरियो । एक्यूरेसीका लागि एउटा डिभाइस चाहिन्छ । त्यो पनि हालै एक महिनाअघि नेपाल आइपुगेको छ र त्यसकै प्रयोग गरी हामीले अभ्यास गर्न पायौं । बैशाख २३ गतेदेखि हामी बन्द प्रशिक्षणमा छौं । बिभिन्न टाक्स बनाएर रणनीति बुन्दै प्रशिक्षण गरिरहेका छौं ।

मलाइ दुःख लाग्ने कुरा के हो भने प्याराग्लाइडिङ खेलकै एक बिधा हो । तर, नेपालमा खेलभन्दा बढी मनोरञ्जनको व्यवसायको रुपमा बिकास भइदियो र खेल ओझेलमा पर्यो । तर, अब त्यस्तो रहेन । राज्यले नै जिम्मेबारी लिएर एशियन गेम्स र साग गेम्समा समावेश गरेको छ भने राज्यको दायित्व अन्तर्गत नै हामी जाँदैछौं ।

केहि हदसम्म हामी एशियाली स्तरमा उच्च बरियातामा आउन सक्ने हाम्रो टिम छ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हामीले आफूलाई प्रमाणित गरिसकेका छौं । जित्दै आइरहेका छौं । एशियाली खेलकुदमा हामी पक्कै पनि पदकको आशा गर्न सक्छौं । क्रसकन्ट्रीमा हाम्रो प्रतिद्वन्द्वी जापान र कोरिया छ भने एक्यूरेसीको हिसावमा हामीलाई इण्डोनेशिया र थाइल्याण्डको चुनौति हुनेछ तर, हामी पनि कम छैनौं ।

प्याराग्लाइडिङ विस्तारै ब्यापक बन्दै गइराख्दा अब हामीलाई ट्रेनिङ साइटको जरुरी छ । पोखरामा बढी व्यवसायिकता छ । पर्यटकीय प्रवर्धनमा पोखरालाई छाडेर अन्य ठाउँमा खेलकुदको ट्रेनिङ सेन्टर बनाउन सकिन्छ भन्ने हिसावले हाम्रो संघले खेलकुद परिषदसँग धरानमा ट्रेनिङ सेन्टर बनाउन प्रस्ताव गरिसकेको छ ।

यो राष्ट्रिय गौरवको कुरा पनि हुन्छ कि हामीले एशियाली खेलकुदमा गएर पटक जित्न सक्यौं भने हामीभन्दा पछि रहेका चार पाँचसय पाइलटहरुलाई आकर्षित गर्न सकिएला र यो एउटा खेल पनि रहेछ र यसमा पनि सहभागी हुनुपर्ने रहेछ भन्ने भावना जागृत होला । ओलम्पिक इभेन्टको रुपमा राज्यले समावेश गरिसकेपछि यसमा लागेकाहरुको उत्साह चाहीँ पक्कै बढेको छ ।

‘उत्साहित छु’
प्रतिमा भुजेल, खेलाडी

पहिलो पटक महिला टोली, त्यसमा पनि एशियाली खेलकुद जस्तो ठूलो प्रतियोगितामा जाँदैछौं । निकै नै उत्साहित छौं ।

प्याराग्लाइडिङ भनेर हामी एउटा सीमित क्षेत्रमा उडिरहेका थियौं, अब दायरा फराकिलो बनेको छ । आफ्नो क्षमता देखाउने मौका पनि छ । अपेक्षा धेरै नै गरेका छौं । सकेसम्म आफ्नो शतप्रतिशत दिने हो, त्यसैका लागि फोकसमा छौं । हेरौं कस्तो हुन्छ ।

फरक ठाउँमा जाँदा मौसमले पनि असर गरिरहेको हुन्छ । हामी पहिलो पटक बाहिरको मौसममा खेल्दैछौं भनेर नै हामी एक साताअघि नै इण्डोनेसिया जँँदैछौं ।

हाम्रो लागि एशियन गेम्स कडा चुनौति हो । हामीले अहिलेसम्म हासिल गरेको अनुभवको आधारमा भन्दा हामी राम्रो गर्न सक्छौं । तर, खेल हो, त्यहाँ गएर प्रतिस्पर्धा गरेपछि नै भन्न सकिएला ।

नेपाली टोलीका सदस्यहरुमा

पुरषतर्फ कप्तान बिमल अधिकारी, बिशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम

महिलातर्फ प्रतिमा भुजेल, त्रिशा श्रेष्ठ र सविता तामाङ

प्रशिक्षकः सानुवावु सुनुवार र योगेश भट्टराई

१३औं सागमा स्वर्णको लक्ष्य, तर…..

नेपालबाटै सुरु भएको दक्षिण एशियाली खेलकुद नेपालले तेस्रो पटक आयोजना गर्दा पहिलो पटक प्याराग्लाइडिङ समावेश गराइयो । दक्षिण एशियाली ओलम्पिक काउन्सिलको पछिल्लो बैठकले पर्यटकीय साहसिक खेलकुदको रुपमा स्थापित हुने चरणमा रहेको प्याराग्लाइडिङलाई समेटेर यसको दायरा अझै फराकिलो बनाइदिएको छ । आगामी फागुन २५ देखि चैत ४ गतेसम्म हुने १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पोखरामा प्याराग्लाइडिङ स्पर्धा हुनेछ ।

नेपाली प्याराग्लाइडिङ खेल अहिलेसम्म यहाँसम्म आउनुमा खेलाडी स्वयम् कै मिहिनेतको आर्जन हो । प्याराग्लाइडिङ महंगो खेलमा पर्छ । इभेन्ट अनुसार ग्लाइडर परिवर्तन गर्नुपर्नेहुन्छ, यहाँसम्मकी एउटै ग्लाइडरको १० लाख रुपैयाँसम्म पर्न जान्छ । सामान्य मानिसको पहुँचभन्दा बाहिरको खेल हो । त्यसैले त नेपालमा ४ सय भन्दा बढी पाइलटमध्ये औलामा गन्न सकिने मात्रै यस खेलमा लागेका छन् । अन्यले व्यवसायिक उडान भरिरहेका छन् । खेलाडीको सामाजिक सुरक्षा यस खेलको मुख्य चुनौति हो ।

त्यस्तै ओलम्पिक खेलको रुपमा एशियाली र दक्षिण एशियाली खेलकुदमा समावेश भइसकेपछि प्याराग्लाइडिङले आधिकारिक प्रशिक्षक पाउनुपर्छ । यो ती खेलाडीहरुको माग हो जो एशियाली खेलकुद खेल्न इण्डोनेशिया छन् । ‘व्यक्तिगत खर्चमा देशको प्रतिनिधित्व गर्न सधैं सम्भव होला र !’

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ राष्ट्रिय खेलकुद परिषदमा दर्ता छ । तर, अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाल हवाइ खेलकुद संस्थासँगको किचलोका कारण प्याराग्लाइडिङ व्यवसायिक खेल बन्न समय लागेको हो । तर, अहिले बिवाद समाधान भएको छ र दुवै संस्थाको आत्मसम्मानमा चोट नपुग्ने गरी कार्यसञ्चालन भइरहेको छ ।

यस खेलको अर्को र सबैभन्दा महत्वपूर्ण आवश्यकता भनेको ट्रेनिङ सेन्टरको हो । ‘पोखरामा व्यवसायिक उठान धेरै हुँदा पोखरा प्रशिक्षण केन्द्रको रुपमा सुरक्षित र शान्त रहेन । हाम्रो संघमातर्फत हामीले राखेपलाई भनिरहेका पनि छौं, एउटा व्यवस्थित ट्रेनिङ सेन्टर भए, खेलकुदमा लाग्न चाहने पाइलटहरुलाई आकर्षित गर्न सकिन्छ ।’ प्रशिक्षक योगेश भट्टराईले भने । संघले धरानमा ट्रेनिङ सेन्टर स्थापनाका लागि प्रस्ताव गरेको छ ।

भिडियो हेर्नुहाेस्

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey