खुकुरी च्यालेञ्जर्स कपमा लर्ड बुद्ध र रोयल फाइटर विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२२
  • |
  • 218 पटक हेरिएको

माघ २२, काठमाडाै‌ं । खुकुरी च्यालेञ्जर्स कप क्रिकेट अन्तर्गत सोमबार भएका खेलमा लर्ड बुद्ध क्रिकेट एकेडेमी र रोयल पीसी फाइटरले जित निकालेका छन् । लर्ड बुद्धले त्रिमूर्ति व्वाइजलाई ६ विकेटले हराउँदा रोयलले इञ्जिनियरिङ कलेज पुल्चोकलाई ६६ रनले पराजित गरेको छ ।

मूलपाली क्रिकेट मैदानमा त्रिमूर्तिले दिएको १५२ रनको लक्ष्य लर्ड बुद्धले १८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । लर्ड बुद्धका लागि मनिष श्रीवास्तवले सर्बाधिक ३९ तथा ज्योति भण्डारीले ३६ रन बनाएका थिए । लर्ड बुद्धले २३ रन अतिरिक्त पाएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको त्रिमूर्तिले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको थियो । उसका लागि जीवन लम्सालले सर्बाधिक ४८ रन बनाउँदा दिपेन्द्र मगरले ३६ तथा सञ्जय तामाङले २८ रन बनाए । उसले अतिरिक्त २२ रन पाएको थियो । बलिङतर्फ लर्ड बुद्धका प्रशोन थापामगरले २ विकेट लिए ।

अर्को खेलमा रोयल पीसी फाइटरले दिएको १६४ रनको लक्ष्य पछ्याएको पुल्चोक क्याम्पस १९.३ ओभरमा ९७ रनमै समेटिएपछि रोयल ६६ रनले विजयी भयो । पुल्चोकका कप्तान गौरव खड्काले ३१ रन बनाउनुबाहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।

बलिङमा रोयलका प्रकाश विष्ट एक्लैले ५ विकेट लिए भने मेहवुव आलमले २ विकेट लिए । म्यान अफ द म्याच बनेका विष्टले ४ ओभर बलिङ गरी मात्र १२ रन दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रोयलले राष्ट्रिय टोलीका पूर्व खेलाडी सुवास खकुरेलको ६६ रनको शानदार पारीको सहयोगमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गरेका खकुरेलले ४८ बल खेलेर ७ चौका र २ छक्का प्रहार गरे । रोयलका लागि सन्दिप सुनारले पनि ३० रन जोडेका थिए ।

बलिङमा पुल्चोकका सुयास अर्याल, चिरञ्जीवी पाण्डे, मनिष ज्ञवाली र दिनेश ठगुन्नाले समान २–२ विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey