१३औं सागमा अहिलेसम्मकै सर्बाधिक खेल समावेश

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-०६
  • |
  • 223 पटक हेरिएको

नेप्लेज, ६ साउन । १३औं दक्षिण एशियाली खेलकुद (साग) आगामी फागुन २५ देखि चैत ४ सम्म नेपालमै आयोजना हुँदैछ र सहभागी खेलका हिसावमा यस प्रतियोगिता ऐतिहासिक बन्दैछ । यसपटक साग गेम्सको इतिहासमै सर्बाधिक खेल समावेश हुँदैछन् ।

शनिबार काठमाडौंमा बसेको दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले क्रिकेट र प्याराग्लाइडिङ समावेश गर्ने निर्णय गरेपछि १३औं सागमा खेलसंख्या २७ पुगेको छ । दक्षिण एशियाली खेलकुदको १२औं संस्करणसम्म २३ भन्दा बढी खेल समावेश गरिएको छैन ।

तर, यसपटक भने कराते र गल्फ नेपालले आयोजकको हैसियदमा थप गरेको थियो भने काउन्सिलको शनिबारको बैठकले दुईवटा खेल थप्ने निर्णय गरेको हो ।

दक्षिण एशियाली खेलकुद नेपालबाटै सुरु भएको छ । नेपालले यसैवर्ष तेस्रो पटक दक्षिण एशियाली खेलकुदको आयोजना गर्दैछ ।

पहिलो साग गेम्स सन् १९८४ मा काठमाडौंमा भएको थियो । त्यतिबेला एथ्लेटिक्स, बक्सिङ, स्वीमिङ, फुटबल र भारत्तोलन गरी पाँच खेलमा प्रतिस्पर्धा गराइएको थियो ।

सन् १९८५ मा बंगलादेशको ढाकामा भएको दोस्रो साग गेम्समा कवड्डी र कुस्ती थप गरी सात खेलमा स्पर्धा गराइएको थियो ।

सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो साग गेम्समा थप तीन खेललाई समावेश गरियो । बास्केटबल, टेवलटेनिस र भलिबल खेल पहिलो पटक समावेश गरी खेल संख्या १० बनाइएको थियो । खो–खो लाई प्रदर्शनी खेलको रुपमा खेलाइएको थियो ।

सन् १९८९ मा पाकिस्तानको इस्लामाबादमा भएको चौथो साग गेम्समा बास्केटबलको ठाउँमा स्क्वास समावेश गरी १० खेलमा प्रतिस्पर्धा गराइएको थियो ।

सन् १९९१ मा श्रीलंकाको कोलम्बोमा भएको पाचौं साग गेम्समा शुटिङ र लन टेनिसलाई पहिलो पटक समावेश गरियो भने बास्केटबल पुनः समावेश गरियो । १० खेलमै स्पर्धा गराइएको त्यस सागमा अघिल्लो संस्करणमा समावेश गरिएका स्क्वास, कुस्ती र कवड्डीलाई समावेश गरिएन ।

सन् १९९३ मा बंगलादेशको ढाकामा छैटौं साग गेम्सको आयोजना गरियो । यस प्रतियोगितामा जुडोलाई पहिलो पटक समावेश गरिएको थियो भने ११ खेलमा स्पर्धा गराइएको थियो । यसपटक कवड्डीलाइई समावेश गरियो भने बास्केटबल पुनः हटाइयो ।

सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न सातौं साग गेम्समा यसअघि समावेश गरिएका सबै खेलका अलावा फिल्ड हकीलाई पहिलो पटक समावेश गरियो । त्यस खेलकुदमा १४ खेल समावेश गरिएको थियो ।

सन् १९९९ मा नेपालले दोस्रो पटक दक्षिण एशियाली खेलकुदको आयोजना गर्यो । आठौं दक्षिण एशियाली खेलकुदमा १२ खेल समावेश गरिएको थियो । सातौं सागमा समावेश गरिएकामध्ये बास्केटबल, फिल्ड हकी, जुडो र लन टेनिसलाई हटाएर नेपालले तेक्वान्दो र करातेलाई पहिलो पटक समावेश गराएको थियो ।

सन् २००४ मा पाकिस्तानको इस्लामाबादमा भएको नवौं साग गेम्समा १५ खेल समावेश गरिएको थियो । त्यतिबेला रोविङ र ब्याडमिण्टनलाई पहिलो पटक समावेश गरिएको थियो ।

सन् २००६ मा श्रीलंकाको कोलम्बोमा दशौं साग गेम्स सम्पन्न भयो । त्यतिबेला सर्बाधिक २० खेल समावेश गरिएको । त्यसअघिका सबै प्रतियोगितामा समावेश गरिएको हरेक खेललाई दशौं सागमा छुटाइएन । त्यसबाहेक आर्चरी, साइक्लिङ र उसुलाई पहिलो पटक समावेश गरिएको थियो ।

सन् २०१० मा बंगलादेश र त्यसको ६ वर्षपछि सन् २०१६ मा भारतमा क्रमसः ११औं र १२औं दक्षिण एशियाली खेलकुदको आयोजना भयो । दुवै खेलमा २३ खेल समावेश गरिएका थिए । ११औं सागमा क्रिकेट खेल पहिलो पटक समावेश गरिएको थियो । यू–२१ टोलीलाई समावेश गरिएको टी–२० फर्म्याटको क्रिकेटमा भारतबाहेक सबै मुलुकका टोलीको सहभागिता थियो ।

आसन्न १३औं दक्षिण एशियाली खेलकुद आगामी सन् २०१९ को मार्च ९ देखि १८ सम्म काठमाडौं र पोखरामा हुँदैछ । त्यसका लागि २७ खेल छिनोफानो भइसकेको छ ।

१३औं सागमा समावेश गरिएका खेलहरुमाः आर्चरी, एथ्लेटिक्स, ब्याडमिण्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हकी, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, खो–खो, शुटिङ, स्क्वास, स्वीमिङ, टेवलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथोलन, भलिबल, भारत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट र प्याराग्लाइडिङ

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey