आप्रवासीले दिलाएको विश्वकप उपाधि, जो फ्रान्सका लागि सम्झनलायक हुनेछ

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-०१
  • |
  • 214 पटक हेरिएको

स्ट्राइकर एन्टोइन ग्रिजम्यानका पिता जर्मनीबाट फ्रान्समा बसाइँ सरेका हुन्। उनकी आमाको पहिलो देश पनि पोर्चुगल हो। मिडफिल्डर पल पोग्बाका दुवै अभिभावक पनि आइतबार उनको खेल हेर्न गुएनाबाट रुस आइपुगेका थिए। अर्का स्ट्राइकर केलियन एमबाप्पेका पिता क्यामेरुन र आमा अल्जेरियाका हुन्। आफ्ना अभिभावकसँगै आप्रवासीको रूपमा फ्रान्स आएका यी तीन खेलाडीकै गोलमा फ्रान्सले २० वर्षपछि फेरि विश्वकपको उपाधि जित्यो।

आइतबार रुसको राजधानी मस्कोस्थित लुझनिकी रंगशालामा भएको २१औं विश्वकपको फाइनलमा क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै फ्रान्सले उपाधि जित्दा आप्रवासी पृष्ठभूमिका यिनै खेलाडीले महत्वपूर्ण योगदान पुर्‍याए। त्यसैले फ्रान्सले यो उपाधिलाई आफ्ना देशका आप्रवासीहरूले दिएको सबैभन्दा गतिलो उपहार मान्दा फरक हुनेछैन।

अन्तर्राष्ट्रिय फुटबलमा सशक्त प्रदर्शन गर्दै आएको फ्रान्ससँग यस्तो संयोग जोडिएको छ, जसका लागि विश्वकप जस्तो ठूलो प्रतियोगिताको उपाधि जित्न आप्रवासी पृष्ठभूमिका खेलाडीको मुख्य योगदान देखिएको छ। आप्रवासीका रूपमा अन्य कुनै देशबाट आएका अभिभावकका छोरा वा नातिहरूले भरिएको फ्रान्सेली टोलीले सन् १९९८ पछि फ्रान्सलाई फेरि विश्वकपको उपाधि चुमाएका हुन्।

खेलको १८औं मिनेटमा ग्रिजम्यानको फ्रिकिक क्रोएसियाका स्ट्राइकर मारियो माञ्जुकिचको टाउकोमा लागेर आत्मघाती गोलमा परिणत हुँदा फ्रान्स १–० ले अघि बढेको थियो। त्यसपछि खेलको ३८औं मिनेटमा पेनाल्टी गोलमार्फत ग्रिजम्यानले टोलीका लागि दोस्रो गोल गरेका थिए। एमबाप्पेले आफ्नो सशक्त पेसलाई प्रयोग गरी मिलाएको बलमा पोग्बाले तेस्रो गोल गरे। खेलको ६५औं मिनेटमा एमबाप्पे आफैंले अर्काे गोल थपेपछि फ्रान्स सजिलो जित हात पार्‍यो।

‘हामी अहिले फ्रान्सबाट खेल्दै छौं। हाम्रा लागि यो अति नै प्रिय छ’, टोलीले उपाधि जितेपछि हर्षित देखिएका ग्रिजम्यानले भने, ‘फ्रान्सलाई उपाधि दिलाउने टोलीको सदस्य बन्दा मलाई साँच्चिकै खुसी लागेको छ।’ फ्रान्सेली टोलीमा आप्रवासी पृष्ठभूमिका अर्का खेलाडी हुन् ब्लाइस माटुडी, जसका अभिभावक एंगोला र कंगोका नागरिक हुन्। टोलीको सफलताबाट उनी पनि निकै खुसी छन्।

‘टोलीमा देखिएको विविधताले फ्रान्सको सही चित्रलाई प्रतिविम्बित गरेको छ’, माटुडीले भनेका छन्, ‘फ्रान्सको यो सफल टोलीको सदस्य हुन पाउँदा मलाई निकै गर्व लागेको छ।’ २० वर्षअघि आफ्नै घरमा उपाधि जितेको फ्रान्सले आइतबार त्यही इतिहास दोहोर्‍याउँदा मैदानमा ‘थन्डर क्ल्याप’ सहित खुसी मनाइएको थियो। विश्वकपको सफलतासँगै अहिलेको फ्रान्सेली टोलीलाई ‘ब्ल्याक, ब्लाङ्क, बेअर’ भनिएको छ। यसले कालो वर्ण, युरोपियन र अफ्रिकाबाट आएका आप्रवासीका सन्तान भन्ने अर्थ दिन्छ।

यो भनाइले वर्तमान फ्रान्सेली टोलीको सही तस्बिर पनि झल्काउँछ। वर्तमान टोलीका रक्षक सामुएल उमटिटी क्यामरुनमा जन्मिएका हुन् भने गोलरक्षक स्टिभ मान्डन्डा जैरेमा जन्मिएका हुन्। फ्रान्सेली टोलीका प्रायः सदस्यहरू अफ्रिकन देश अल्जेरिया, माली, मोरक्को र सेनेगलसहित युरोपेली मुलुक जर्मनी, इटाली, पोर्चुगल र स्पेनबाट आएका देखिन्छन्।

टोलीका खेलाडीको सम्बन्ध अन्य कुनै देशसँग देखिए पनि त्यसले फ्रान्सबाट खेल्दा कहिल्यै समस्या नदिएको ग्रिजम्यान बताउँछन्। ‘टोलीमा फरक क्षेत्र वा देशसँग जोडिएका खेलाडीहरू हुन सक्छन्। यद्यपि त्यसले फ्रान्सबाट खेल्दा कहिल्यै केही समस्या निम्त्याएको छैन’, ग्रिजम्यान भन्छन्, ‘हामीले सधैं एउटै जर्सीका लागि मैदानमा पसिना बगाएका छौं। फ्रान्सलाई हामीले आफूसँग भएको सबै दिएका छौं। हामी जब एउटै जर्सी लगाउँछौ, त्यसपछि एकअर्काको सहयोगका लागि जे पनि गर्न तयार हुन्छौं।’

फ्रान्सेली टोलीमा यसअघि पनि आप्रवासी खेलाडीको उपस्थिति हुने गरेको थियो। फ्रान्सेली टोलीबाट सशक्त प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय फुटबलमा चम्किएका जिनेदिन जिदान आफंै पनि अल्जेरियन अभिभावकका सन्तान हुन्। फ्रान्सलाई सन् १९९८ को विश्वकप जिताउन जिदानको निकै ठूलो योगदान थियो। यसैगरी सेनेगलमा जन्मिएका प्याट्रिक भिएराले पनि फ्रान्सेली टोलीमा आफ्नो बलियो उपस्थिति जनाएका थिए।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal