अपराजित कर्णाली फाइनलमा
-
नेप्लेज
- |
- २०८२-०७-२६
- |
- 227 पटक हेरिएको
काठमाडौं। साविक विजेता कर्णाली यशविस लगातार चौथो खेलमा अपराजित रहॅंदै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फाइनलमा पुगेको छ।
कर्णालीले मधेशमाथि २५-१५, २५-१२ र २५-१७ ले सहज जित निकाल्यो र चौथो खेलमा पनि अपराजित यात्रा कायमै राखेको हो।
जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा सुचारू भएको हो।
यसअघि पोखरामा लिग भए पनि आन्दोलनपछि आयोजक इनफिनिटी ड्रिम्स प्रालीले आयोजना काठमाडौंमा सार्ने निर्णय गरेको थियो।
विदेशी खेलाडीबिना नै सुचारू भएको लिगमा पनि कर्णालीले आफ्नो लय जारी राख्दै जित निकाल्यो र फाइनलमा पनि पुग्यो। सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णालीले निरूता ठगुन्नाको कप्तानीमा रहेको मधेश युनाइटेडमाथि ३-० सोझो सेटमा सहज जित निकाल्यो।
६ वटा फ्रेन्चाइज टोली रहेको लिगमा कर्णालीले चार खेलबाट १२ अंक बटुल्यो।