साविक विजेता मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-०९-२९
  • |
  • 269 पटक हेरिएको
 
२९ पुस, धनगढी । डिफेन्डिङ च्याम्पियन लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लब धनगढीमा जारी दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
 
धनगढी रंगशालामा शुक्रबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा अग्नि रुपन्देही–११ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् । मनाङको जितमा भिक्टोर, विशाल राई र विमल रानाले गोल गरे । एक गोल आत्मघाती भएको थियो ।
 
एकपक्षीय बनेको खेलमा मनाङले १९ औं मिनेटमा भिक्टोरको गोलमा अग्रता लिएको थियो । कप्तान अनिल गुरुङको पासमा भिक्टोरले सदुपयोग गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको मनाङे ५५ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता दोब्बर पा¥यो । रुपन्देहीका छिरिङ गुरुङले बल क्लियर गर्न खोज्दा बलले आफ्नै पोष्टको दिशा लिएको थियो ।
 
खेलको अन्त्यतिर एक मिनेटको फरकमा दुई गोल गर्दै मनाङले जित सहज बनाएको थियो । विशालले ८३ औं मिनेटमा गोल गरे लगत्तै विमल रानाले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । मनाङका भिक्टोर खेलको म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
 
मनाङले अब शनिबार नै त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनल खेल खेल्नेछ । आर्मीले रुस्लान थ्री स्टारलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा पुगेको स्थान बनाएको थियो ।
 
अर्को सेमिफाइनलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लब र नेपाल एपिएफ क्लबबीच आइतबार खेल हुनेछ ।
 
पुस २१ गतेबाट शुरु भएको प्रतियोगिता माघ १ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट बन्नेले समान १५/१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘ए’ डिभिजनका ​​​​विभिन्न १२ क्लबको सहभागिता रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey