बागमती प्रदेश सरकारद्वारा १३ खेलाडी, प्रशिक्षक र पत्रकार सम्मानित

-
नेप्लेज
- |
- २०८२-०२-०५
- |
- 4027 पटक हेरिएको
हेटौँडामा । बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रमा योगदान पुर्याउने १३ जना खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गरेको छ। प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आइतबार साँझ हेटौँडा–४, हुप्रचौरमा आयोजित विशेष समारोहमा नगदसहित उनीहरूलाई पुरस्कृत गरेको हो। बागमती प्रदेशका जिल्लाहरूमा जन्मिएर खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उजागर गर्ने व्यक्तिहरूलाई मन्त्रालयले कदर गरेको हो।
महिलातर्फ कराँतेकी एरिका गुरुङ र पुरुषतर्फ खोखोका राजन बलले ‘उत्कृष्ट वर्ष खेलाडी’ अवार्ड प्राप्त गरे। उनीहरूलाई जनही १ लाख रुपैयाँसहित सम्मान गरिएको थियो। एरिकाले २०औँ सिनियर एकेएफ च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् भने १९औँ एसियाली खेलकुदमा नेपालका लागि २५ वर्षपछि रजत पदक दिलाएकी थिइन्। उनले नेपाललाई कराँतेमा पहिलो पटक एसियन गेम्सको रजत पदक जिताएकी हुन्। पछिल्ला २ वर्षमा ८ अन्तर्राष्ट्रिय प्रतियोगिताबाट ५ स्वर्ण र ४ रजत पदक जित्न सफल भएकी छन्।
यस्तै, खोखो विश्वकपमा दोस्रो स्थान हासिल गर्ने टोलीका महत्वपूर्ण सदस्य राजन बलले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा कांस्य पदक, सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुदमा समेत पदक जितेका छन्।
एथ्लेटिक्सका बैकुण्ठ मानन्धर र जितबहादुर केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। उनीहरूलाई पनि जनही १ लाख रुपैयाँसहित सम्मान गरिएको हो। बैकुण्ठले दक्षिण एसियाली खेलकुद (साग) को पहिलो, दोस्रो र तेस्रो संस्करणमा लगातार म्याराथनमा स्वर्ण पदक जितेका थिए। उनले सन् १९८७ मा साग म्याराथनमा बनाएको २ घण्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमानी रेकर्ड ३८ वर्षसम्म कायम छ। सन् १९७६ देखि १९८८ सम्म लगातार ४ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एकमात्र खेलाडी हुन्।
जितबहादुरले सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा म्याराथनमा कांस्य पदक जितेर नेपालको खेलकुद इतिहासमा पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए। उनले खाली खुट्टा दौडिएर यो उपलब्धि हासिल गरेका थिए।
तेक्वान्दोकी संगिना वैद्यलाई ‘बागमती शान’ अवार्डद्वारा सम्मान गरिएको छ। सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेकी संगिनाले हङकङमा आयोजित एसियाली च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन्। उनले दक्षिण एसियाली खेलकुद (साग) को आठौँ र नवौँ संस्करणमा स्वर्ण तथा दशौँ संस्करणमा कांस्य पदक जितेकी थिइन्।
उत्कृष्ट प्रशिक्षक अवार्ड : पलेशा गोवद्र्धनका प्रशिक्षक कविराज नेगी
उत्कृष्ट पत्रकार अवार्ड : वरिष्ठ पत्रकार श्याम चित्रकार
लोकप्रिय खेलाडी अवार्ड : फुटबलका आयुष घलान, भलिबलकी सलिना श्रेष्ठ, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ
उत्कृष्ट पारा तेक्वान्दो खेलाडी : पलेशा गोवद्र्धन
युवा खेलाडी अवार्ड : गल्फका सद्भाव आचार्य
उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष : ललितपुरका विनोद महर्जन
यी सबैलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाको उपस्थिति थियो। समारोहमा कलाकारहरूले नृत्य, गायन र हास्यव्यंग्य प्रस्तुत गरेर कार्यक्रमलाई थप रमाइलो बनाए।