क्यान अध्यक्ष चन्दले प्रतिशोध साँधेर पदबाट हटाएको लुम्बिनी प्रदेश अध्यक्ष गुरुङको आरोप

-
नेप्लेज
- |
- २०८२-०१-३१
- |
- 5108 पटक हेरिएको
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई पदबाट हटाउन षडयन्त्र गरेको भन्दै लुम्बिनी क्रिकेट संघका अध्यक्ष संजय गुरुङले न्याय दिन आग्रह गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै लुम्बिनीका अध्यक्ष गुरुङले क्यानको विधान विपरित अध्यक्ष चन्दले आफूलाई हटाउन सदस्यहरुको हस्ताक्षर संकलन गरेको आरोप लगाए ।
नेपालले पहिलो पटक अन्तर्राष्ट्रि«य म्याच खेल्दाका सदस्यसमेत रहेका गुरुङ दुई वर्षअघि सर्वसम्मत लुम्बिनी प्रदेश क्रिकेट संघको अध्यक्ष चयन भएका थिए । दुई वर्षअघि सर्वसम्मत रुपमा चयन गराएका सदस्यहरुलाई विभिन्न प्रलोभन दिएर आफूविरुद्ध हस्ताक्षर गर्न बाध्य पारिएको गुरुङको दाबी छ ।
उनले अध्यक्ष चन्दले प्रतिशोध साँधेर अविश्वासको प्रस्ताव दर्ता गराइएको आरोप लगाए । उनीमाथि आर्थिक अपचलन गरेको, कार्यसमितिमा सरसल्लाह नै नगरी निर्णय गर्ने गरेको लगायतका आरोप लगाइएको छ ।
अध्यक्ष गुरुङले आफूमाथि अन्याय भएको व्यहोराको पत्र राष्ट्रि«य खेलकुद परिषद्मा पनि पठाइसकेको जानकारी दिए । आवस्यक परेको खण्डमा न्यायालय जाने अध्यक्ष गुरुङले बताए ।
केन्द्रिय अध्यक्ष चन्दले जिल्ला क्रिकेट संघमा आफू अनुकुलका अध्यक्ष बनाउनका लागि अन्य प्रदेशमा पनि चलखेल गरिरहेको आरोप लगाए । यस्तो हस्तक्षेप कायम रहे नेपाली क्रिकेट फेरी सन् २०१४ कै अवस्थामा फर्किन सक्ने दाबी उनको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने गुरुङको कार्यशैलीप्रति प्रदेशका सदस्य जिल्लाबाटै असन्तुष्टि आएपछि यस्तो कदम चालिएको प्रतिक्रिया दिए ।