विश्व टेस्ट च्याम्पियनसिप फाइनल : अष्ट्रेलिया र दक्षिण अफ्रिको टिम घोषणा

-
नेप्लेज
- |
- २०८२-०१-३१
- |
- 5051 पटक हेरिएको
काठमाडौं । आइसीसी विश्व टेस्ट च्याम्पियनसिफको फाइनलका लागि अष्ट्रेलिया र दक्षिण अफ्रिकाले टिम घोषणा गरेका छन् । इंग्ल्याण्डको लड्र्स क्रिकेट मैदानमा जुन ११–१५ सम्म फाइनल खेल हुने छ । फाइनलका लागि दुवै टिमले अन्तिम १५ को सूची सार्वजनिक गरेका हुन् ।
दक्षिण अफ्रिकाले आफ्नो टोलीमा तीव्र गतिका बलर लुंगी एनगिडीको पुनरागमनलाई मुख्य आकर्षण बनाएको छ । एनगिडीले चोटका कारण घरेलु सिजनका खेलहरू गुमाएका थिए । तर उनको कमब्याकले टोलीको बलिङ आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ । टेम्बा बभुमाको कप्तानीमा रहेको टोलीमा कागिसो रबाडा, मार्को जेन्सन, डेन प्याटरसन र कोर्बिन बोश जस्ता तीव्र गतिका बलरहरू समावेश छन् । स्पिनरको रूपमा केशव महाराज र सेनुरन मुथुसामीले टोलीमा स्थान बनाएका छन्, तर लड्र्सको पिच तीव्र गतिका बलरलाई अनुकूल हुने भएकाले महाराजको भूमिका अनिश्चित छ ।
ब्याटिङमा भने दक्षिण अफ्रिकालाई ओपनिङ जोडीको चयनमा चुनौती छ । टोनी डी जोर्जी, एडेन मार्करम र रायन रिकेल्टनले हालै पाकिस्तानविरुद्धको घरेलु सिरिजमा ओपनिङ गरेका थिए । तर फाइनलका लागि कुन जोडीले सुरुवात गर्ने भन्ने निर्णय पछि नै हुने छ । मध्यक्रममा डेभिड बेडिङहम, ट्रिस्टन स्टब्स र काइल भेरेनले टोलीलाई सन्तुलन दिने अपेक्षा गरिएको छ ।
दक्षिण अफ्रिकाको टोलीः
टेम्बा बभुमा (कप्तान), टोनी डी जोर्जी, एडेन मार्करम, वियान मुल्डर, मार्को जेन्सन, कागिसो रबाडा, केशव महाराज, लुंगी नगिडी, कोर्बिन बोश, काइल भेरेन, डेभिड बेडिङहम, ट्रिस्टन स्टब्स, रायन रिकेल्टन, सेनुरन मुथुसामी, डेन प्याटरसन ।
साविक विजेता अष्ट्रेलियाले कप्तान प्याट कमिन्स, तीव्र गतिका बलर जोश हेजलवुड र अलराउन्डर क्यामरन ग्रीनको पुनरागमनसँगै बलियो टोली घोषणा गरेको छ । ग्रीनले एक वर्षभन्दा बढी समयपछि टेस्ट क्रिकेटमा फर्कने तयारी गरेका छन् । तर उनले बलिङ नगर्ने भएकाले टोली चयनमा केही जटिलता थपिएको छ । कमिन्सको नेतृत्वमा रहेको टोलीमा मिचेल स्टार्क, स्कट बोलान्ड र नाथन लियोन जस्ता अनुभवी खेलाडीहरू छन् ।
ओपनिङ ब्याटिङमा उस्मान ख्वाजासँग कसले साथ दिने भन्ने प्रश्न अष्ट्रेलियाका लागि मुख्य चुनौती हो । ट्राभिस हेडले श्रीलंकाविरुद्धको पछिल्लो सिरिजमा ओपनिङ गरेका थिए, तर उनी मध्यक्रमको नम्बर ५ मा फर्कने सम्भावना छ । १९ वर्षीय युवा खेलाडी स्याम कोन्स्टासले भारतविरुद्धको सिरिजमा प्रभावशाली प्रदर्शन गरेका थिए, तर उनलाई इंग्ल्याण्डको पिचमा पहिलो पटक ओपनिङको जिम्मेवारी दिनु जोखिमपूर्ण हुन सक्छ। यसैले, मार्नस लाबुशेनलाई तेस्रो नम्बरबाट माथि उक्लेर ओपनिङको जिम्मेवारी सम्हाल्ने पनि क्रिकेट पण्डितहरुको विश्लेषण छ ।
अष्ट्रेलियाको टोलीः
प्याट कमिन्स (कप्तान), स्कट बोलान्ड, एलेक्स क्यारी, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्राभिस हेड, जोश इंग्लिस, उस्मान ख्वाजा, स्याम कोन्स्टास, म्याट कुह्नेमान, मार्नस लाबुशेन, नाथन लियोन, स्टिभ स्मिथ (उपकप्तान), मिचेल स्टार्क, ब्यू वेब्स्टर। यात्रा रिजर्भः ब्रेन्डन डगेट।
दक्षिण अफ्रिकाले मे ३१ मा इंग्ल्याण्डको अरुन्डेलमा भेला भई जिम्बाब्वेविरुद्ध जुन ३ देखि ६ सम्म चारदिने अभ्यास म्याच खेल्नेछ । अष्ट्रेलियाले भने भारतविरुद्धको सिरिज र केही खेलाडीको आइपिएल सहभागितापछि सिधै लड्र्समा तयारी थाल्नेछ । लड्र्सको पिच सामान्यतया तीव्र गतिका बलरलाई अनुकूल हुने भएकाले दुवै टोलीले आफ्नो बलिङ आक्रमणमा विशेष जोड दिने पक्का छ ।
सन् २०२३ मा अष्ट्रेलियाले भारतलाई हराएर विश्व टेस्ट च्याम्प्यिनसिपको उपाधि जितेको थियो । यसपटक, दक्षिण अफ्रिकाले आफ्नो पहिलो विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा इतिहास रच्ने लक्ष्य राखेको छ भने अष्ट्रेलिया लगातार दोस्रो उपाधि जित्ने दाउमा हुने छ ।