एन्फा क्यालेन्डर: ए डिभिजन लिगदेखि महिला फ्रेन्चाइजी लिगसम्म

-
नेप्लेज
- |
- २०८२-०१-१८
- |
- 4538 पटक हेरिएको
ए डिभिजन लिग देखि महिलाको फ्रेन्चाइजी लिगलाई समेत प्राथमिकतामा राखेर एन्फाले क्यालेन्डर बनाउँदैछ । क्यालेन्डर सार्वजनिक नभएपनि हामीले एन्फा श्रोतबाट एउटा ड्राफ्ट प्राप्त गरेका छौं । जुन ड्राफ्टमा राखिएका केही कार्यक्रम कार्यान्वयनमा आइसकेको छ ।
नेपालको फुटबल ओरालो लाग्यो भनेर चिन्तामा रहनुभएका आम खेलप्रेमीलाई खुसीको खबर छ । पछिल्लो समय देशमा घरेलु फुटबल गतिविधि हुन नसकेका कारण फुटबलको मज्जा लिन नपाएका फुटबल प्रेमीले २०८२ सालमा फुटबल हेरेर फुर्सद पाउने छैनन् । किनभने यो वर्ष ठूला ठूला देशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलदेखि घरेलु क्लब फुटबलको गतिविधि बाक्लै हुनेछ ।
यो वर्ष पुरुष राष्ट्रिय टिमऽ महिला राष्ट्रिय टिम, यू १९ पुरुष टिम, यू२० राष्ट्रिय महिला टिम, यू १७ महिला राष्ट्रिय टिम, यू१७ पुरुष टिम, यू२३ टिमको अन्तर्राष्ट्रिय सहभागिताका लागि अखिल नेपाल फुटबल संघ एन्फा तयारी गरिरहेको छ ।
यो वर्षको हरेक फिफा विन्डोमा नेपालले पुरु र महिला दुबै टिमको मैत्रीपूर्ण खेल खेलाउने तयारी गरेको छ ।
असार ९ गतेदिख साउन १० गतेको बीचमा नेपालले अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपको छनोट, ब्राजिलमा हुने महिला विश्वकपको छनोट र अमेरिकामा हुने ओलम्पिक छनोट प्रतियोगिता खेल्नेछ ।
असारमै यू २० महिला टोलीले बंगलादेशमा साफ च्याम्पियनसिप खेल्नेछ । भदौमा यही टिमले एसियन कप छनोट पनि खेल्नेछ । भदौमै महिला लिगको च्याम्पियन क्लबले एसयन उमन्स क्लब लिग खेल्नेछ ।
भदौमा यू२३ टिमले साउदी अरेवियामा हुने एसियन कप खेल्नेछ ।
भदौ र असोजमा यू १७ महिला टिमले दुईवटा प्रतियोगिता खेल्नेछ । असोजको पहिलो हप्ता साफ यू १७ च्याम्पियनसिप खेलेर आफ्नो खेल कौशल सुधार्ने गल्ती सच्याउने काम गरेपछि नेपालका किशोरीहरुले असोजको अन्तिममा १७ वर्ष मुनिको एसियन कप छनोट खेल्नेछ । कात्तिकमा सिनियर महिला टिमले पनि एएफसी कपको समूह चरणको खेल खेल्नेछ । कात्तिकमै यू १७ साफ च्याम्पियनसिप संचालन गर्ने तयारी एन्फाको छ ।
यस्तै फागुनमा पर्ने चाइनिज न्यु इयरमा नेपाल चीन फ्रेन्डसिप म्याचका लागि पनि एन्फाले सक्रियता बढाएको छ ।
एन्फाले यो पटक धेरै घरेलु फुटबलका कार्यक्रमहरु संचालन गर्ने तयारी गरेको छ । एडिभिजन लिगलाई ६ महिना ६ महिना संचालन गर्ने तयारी गरिएको छ भने महिलाको फ्रेन्चाइजी लिगलाई प्राथमिकतामा राखिएको छ । नेपाल सुपर लिगलाई भने असोजदेखि मंसिरसम्मको समय दिइएको छ । ए डिभिजन लिगमात्र होइन बी र सी डिभिजन लिगलाई पनि निरन्तरता दिने तयारी गरेको छ । यस्तै जिल्ला र प्रदेशको लिग राष्ट्रिय लिगका कार्यक्रम प्रस्ताव गरिएको छ ।
वर्षको सुरुवात अर्थात बैशाखमै एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो । २० गतेदेखि जेठ ३ गतेसम्म हुने लिग कम नकआउट प्रतियोगितामा ए डिभजन क्लबको सहभागिता बताइएपनि क्लबहरुले खेल्ने इच्छा नदेखाएपछि यो प्रतियोगिता अहिले संचालन नहुने भएको छ ।
जेठ ५ गतेदेखि एन्फा प्रेजिडेन्ट लिग आयोजना हुनेछ जहाँ प्रत्येक प्रदेशका लिग च्याम्पियन टिमले प्रतिष्पर्धा गर्नेछन् ।
नेपालको घरेलु फुटबल संरचनामा प्रवेश गर्न इच्छुक क्लबहरु अहिलेदेखि नै तयारी सुरु गर्दा हुन्छ । किनभने जेठको तेस्रो सातादेखि सी डिभिजनको क्वालिफाइङ राउण्ड पनि आयोजना हुँदैछ ।
असारको पहिलो र दोस्रो साता महिला लिगका लागि छनोट प्रतियोगिता आयोजना हुनेछ भने भदौको तेस्रो सातादेखि महिला लिग आयोजना गर्ने तयारी गरिएको छ । साउनमा राष्ट्रिय लिग आयोजना हुनेछ ।
मंसिरमा एन्फा कप नकआउट च्याम्पियनसिप आयोजना हुनेछ जसबाट सुरु हुनेछ नकआउट फुटबलको सिजन । ए डिभिजन लिग र जिल्ला जिल्लामा हुने नकआउट फुटबल प्रतियोगिताका लागि एन्फाले केही ग्याप राखेर समय मिलाएको छ ।
ए डिभिजन लिग यो पटक डबल राउण्ड रोविन लिगमा खेलाइनेछ । जुन पुस १ गतेदेखि जेठ ३१ अर्थात ६ महिना संचालन हुनेछ ।
यस्तै पुसदेखि माघको बीचमा महिलाको फ्रेन्चाइजी लिगका लागि मिति निर्धारण गरिएको छ ।
यसबीचमा एन्फाले १४ वर्ष मुनिका १६ वर्ष मुनिका स्कुले विद्यार्थीलाई लक्षित गर्दै जिल्ला र प्रदेशमा प्रतियोगिता पनि संचालन गर्नेछ । तत्कालै एन्फा यु १६ लिग आयोजना हुनेछ भने पुसमा यू१८ युथ लिग आयोजना हुनेछ । यस्तै असोजमा अन्तर विश्वविद्यालय कम आयोजना गर्ने तयारीमा अखिल नेपाल फुटबल संघ छ ।
फुटबल सम्बन्धी कुनै गतिविधि आयोजना नगरेको भनेर चौतर्फी आलोचना खेप्दै आएको एन्फाले यो वर्ष फुटबलमय बनाउने तयारी गरेको छ । तर यसका लागि करोडौंको बजेट लाग्नेछ । यि कार्यक्रममध्ये एन्फाले कतिवटा कार्यक्रम आयोजना गर्छ त्यो भने हेर्न बाँकी छ ।