एपीएफ क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०१-१०
  • |
  • 1598 पटक हेरिएको

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ।

नेपालगञ्ज रंगशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघको टोलीलाई ३–० को स्पष्ट अन्तरले पराजित गर्दै एपीएफले उपाधि भिडन्तको यात्रा तय गरेको हो।

खेलको पहिलो हाफमा गोलरहित बराबरी रहेको भए पनि दोस्रो हाफमा एपीएफले आक्रामक प्रदर्शन गर्दै क्रमशः गोल गर्दै जित पक्का गर्‍यो।

७३ औँ मिनेटमा अनिता केसी, ८० औँ मिनेटमा निशा ठोकर, र ९० औँ मिनेटमा सबिता राना मगरले गोल गर्दै टोलीलाई सशक्त जित दिलाए।

रौतहट टोलीले थप गरिएको ३ मिनेट इन्जुरी समयमा समेत गोल फर्काउन सकेन।

म्यान अफ द म्याच घोषित अनिता केसीलाई शसस्त्र प्रहरी जवान शिक्षालयका वरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठ र जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष शन्दिप जंग शाहले रु ५,००० नगदसहित सम्मानित गरे।

खेलको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी र बास नेपाल अध्यक्ष शिवकुमार बर्माले संयुक्त रूपमा बल हस्तान्तरण गर्दै गरेका थिए।

रेफ्री प्यानलमा मुख्य रेफ्री कृति सेन, सहायक रेफ्रीहरू जमुना आले, अमर घले, र कृष्ण खत्री रहेका थिए।

रौतहटका कप्तान सलोनी मगरले डिफेन्स र किपरबीच समन्वयको अभावले पराजय भोग्नुपरेको बताइन्। उनले, “यदि विभागीय टोली होइन भने खेल जित्न सक्थ्यौं,” भन्ने धारणा व्यक्त गरिन्।

कोच भोजराज घिमिरेले प्रतियोगितामा विभागीय बाहेकका टिमहरूसँग पनि प्रतिस्पर्धाको व्यवस्था गरिनुपर्नेमा जोड दिए।

एपीएफकी प्रशिक्षक भगवती थापाले फाइनलमा जित्ने दृढ संकल्प व्यक्त गर्दै, “विभागीय टिमहरूसँगको खेल सँधै चुनौतीपूर्ण हुन्छ,” भनिन्।

कप्तान अनिता बस्नेतले पनि टोलीभित्रको स्कोरिङ समन्वय नमिल्दा थुप्रै अवसर चुकाएको स्वीकार गरिन् र रौतहट टोलीको खुलेर प्रशंसा गरिन्।

अब एपीएफले फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

पुलिसले मङ्गलवार भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि भिडन्त तय गरेको हो।

फाइनल खेल शुक्रबार दिउँसो ३ बजे हुने जानकारी मिडिया संयोजक निरज गौतमले दिएका छन्।

प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोली सहभागी थिए: बाँके–११, एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब (भारत), र रौतहट जिल्ला फुटबल संघ।

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आयोजना भइरहेको प्रतियोगिताको विजेता टिमले रु ५,०५,५५५, उपविजेताले रु २,५०,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal