पोखरा थण्डर्स पहिलो पटक नेपाल सुपर लिगको फाइनलमा

-
नेप्लेज
- |
- २०८२-०१-१०
- |
- 1664 पटक हेरिएको
नेपाल सुपर लिग (NSL) २०२५ को दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सले साविक उपविजेता धनगढी एफसीलाई १-० ले पराजित गर्दै इतिहास रचेको छ। स्टेफेन समिर विनोङले इन्जुरी समयको चौथो मिनेटमा निर्णायक गोल गर्दै पोखरालाई पहिलो पटक लिगको फाइनलमा पुर्याए।
दशरथ रंगशालामा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा दुवै टिमले गोलको प्रयास गरेपनि सफलता हात पार्न सकेनन्। खेलको ८५ औं मिनेटमा पोखराका डिफेन्डर गौरव श्रेष्ठले दोस्रो पहेँलो कार्ड सहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि पोखरा एक खेलाडी कममा सीमित भएको थियो।
तर अतिरिक्त समयको चौथो मिनेटमा आएको कर्नर किकमा स्टेफेन समिर विनोङले हेडमार्फत गरेको गोलले खेलको समीकरण नै बदलेको थियो। उनले दस खेलाडीको टोलीलाई अग्रता दिलाउँदै फाइनल यात्रा पक्का गराए।
सन् २०२१ र २०२२ मा लगातार फाइनल खेलेको र उपविजेता बनेको धनगढी यसपटक पनि फाइनल नजिक पुगेर चुक्यो।
निर्णायक गोलकर्ता स्टेफेन समिर विनोङलाई ‘प्लेअर अफ दि म्याच’ घोषित गरियो।
अब फाइनलमा साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्स बीच वैशाख १३ गते उपाधि भिडन्त हुनेछ। ललितपुरले यसअघि नै पहिलो क्वालिफायरमा धनगढीलाई हराउँदै फाइनल यात्रा तय गरिसकेको थियो।