नेपाल आएका रोबर्टो कार्लोस को हुन् ? (भिडियोसहित)

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०१-०९
  • |
  • 1878 पटक हेरिएको

फुटबलको इतिहासमा कहिल्यै नबिर्सने मध्ये एक हो रोबर्टो कार्लोस ।

एक यस्तो खेलाडी जसबाट प्रहार भएको बलले १७० किलोमिटर प्रतिघण्टाको रफ्तारमा विपक्षीको पोस्टमा धावा बोल्थ्यो ।

विश्वका उत्कृष्ट डिफेन्डर कार्लोस । तर के तपाईंलाई थाहा छ ? उनले आफ्नो करियर फर्वार्डको रूपमा सुरु गरेका थिए!

रोबर्टो कार्लोस दा सिल्भा रोचा, जसलाई प्रायः रोबर्टो कार्लोस भनेर चिनिन्छ, १० अप्रिल १९७३ मा ब्राजिलको साओ पाउलो शहरमा जन्मिएका थिए। फुटबल संस्कृतीले भरपुर दक्षिण अमेरिकाको ब्राजिलमा जन्मिएका उनी फुटबलबाट टाढा हुन सक्ने कुरै भएन । फुटबलप्रतिको लगाव र झुकावले गर्दा उनलाई सानै उमेरदेखि फुटबलमा लागे ।

सन् १९८६ मा उनले युनाओ साओ होआओ क्लबबाट आफ्नो फुटबल यात्रा सुरु गरे। जहाँ उनले यस्तो खेल कौशल देखाए जसका कारण उनी पामेरियसका प्रशिक्षकको नजरमा परे । सन् १९९२ मा उनले पाल्मेरियसमा  आफ्नो क्षमता र खेल कौशललाई प्रकट गर्दै, १९९२ मा पाल्मेरियसमा क्लबमा स्थान पाए। पालमेरियसको दुई वर्षे करियरमा उनले दुई वटा लिग जिते ।

त्यसपछि उनको यात्रा युरोपतिर मोडियो । सुरुमा उनी इटालीको इन्टरमिलानमा आबद्ध भए । तर त्यहाँको मौसम र होम सिक भएपछि इन्टरमा उनले जम्मा ३० खेलमात्र खेले । त्यहाँ उनले पाँच गोल गरेका थिए ।

इटालीमा धेरै लामो समय खेल्न नपाएपनि उनका लागि इन्टरमिलानको करियर युरोपेली फुटबलको स्वाद चाख्ने र युरोपेली फुटबलको शैली सिक्ने एउटा महत्वपूर्ण क्लब बन्यो ।

त्यसपछि उनी स्पेन गए । जहाँ उनले आफ्नो बेग्लै पहिचान बनाए । विश्व फुटबलको सर्वाधिक सफल र चर्चित क्लबमा विश्वचर्चित खेलाडी खेल्दथे ।

यहाँ उनले ११ सिजन खेल्दै, क्लबलाई ३ युरोपियन कप, ४ ला लिगा, र ३ स्पेनिश सुपर कप जस्ता प्रमुख उपाधिहरू जिताउन महत्वपूर्ण भूमिका खेले।

उनको बायाँ खुट्टाबाट प्रहार गरिएका शक्तिशाली फ्री किक र गतिशील आक्रमणात्मक खेल शैलीले उनलाई 'एल होम्ब्रे बाला' अर्थात द बुलेट म्यानको उपनाम दिलायो । रियल म्याड्रिडमा उनले ५२७ खेलमा ६८ गोल गरेका छन् ।

 

ब्राजिलियन राष्ट्रिय टोलीमा योगदान

रोबर्टो कार्लोसले ब्राजिलको राष्ट्रिय टोलीका लागि १२८ खेलमा ११ गोल गरे। उनले ३ विश्व कप, ४ कोपा अमेरिका, र १९९७ को कन्फेडेरेसन कपमा ब्राजिलको प्रतिनिधित्व गरे। ब्रजिललाई २००२ को विश्व कप जिताउनका लागि उनको भूमिका महत्वपूर्ण थियो । उनको वलर्डक्लास फ्रीकिक सँधै सम्झिने क्षण बन्यो । विषेशगरी सन् १९९७ मा उनले फ्रान्सविरुद्ध प्रहार गरेको फ्रिकिकलाई अझै पनि खेलप्रेमीले सम्झिन्छ ।

खेल शैली र प्रभाव

रोबर्टो कार्लोसलाई 'सबैभन्दा अट्याकिङ लेफ्ट ब्याकका रुपमा चिनिन्छ । त्यतिबेला फुटबलमा डिफेन्डरले विरलै गोल गर्दथे । डिफेन्डरलाई डिफेन्सको दायराभन्दा बाहिर निस्किन दिइँदैनथ्यो । तर ओभरल्यापिङ र फ्रिकिकका कारण कार्लोसले डिफेन्डरको डिफिनेसनलाई नै परिवर्तन गराए । उनको डाइनामिक एप्रोच, बल कन्ट्रोल र अट्याकिङ माइन्डसेट विश्वका लागि उदाहरण बन्यो ।

उनको फ्री किक्स र लामो दूरीका प्रहारहरूले उनलाई विश्वभरि चर्चित बनायो। लेफ्ट ब्याक पोजिसनमा उनी भएसम्म प्रशिक्षकलाई कुनै चिन्ता हुँदैनथ्यो । उनी एक्लैले आफ्नो पोजिसन ह्याण्डल गर्थे ।

व्यक्तिगत पुरस्कार र सम्मान

रोबर्टो कार्लोसलाई विभिन्न व्यक्तिगत पुरस्कारहरूले सम्मानित गरिएको छ। २००२ मा, उनले बलोन डि'ओरमा दोस्रो स्थान प्राप्त गरे, जुन डिफेन्डरको लागि दुर्लभ उपलब्धि हो। उनलाई २०२० मा बलोन डि'ओर ड्रीम टिम (सिल्भर) मा स्थान दिइयो र २०२१ मा IFFHS द्वारा 'साउथ अमेरिका मेन्स ड्रीम टिम' मा समावेश गरियो ।

प्रशिक्षकको रूपमा यात्र

खेल जीवनको अन्त्यपछि, रोबर्टो कार्लोसले प्रशिक्षकको रूपमा आफ्नो यात्रा सुरु गरे। उनले टर्किस क्लब सिभास्पोरबाट म्यानेजरियल करियर सुरु गरे । त्यसपछि अखिर्सार्सपोरमा पनि एक वर्ष प्रशिक्षण दिए । २०१५ मा, उनले भारतको ओडिशा एफसीसँग सम्झौता गरे र भारतीय सुपर लिगमा प्रशिक्षकको रूपमा कार्य गरे। यद्यपि, २०१६ मा उनले क्लबसँगको सम्झौता नवीकरण गरेनन्।

समग्र प्रभाव र धरोहर

रोबर्टो कार्लोसको फुटबलमा योगदान मात्र खेल कौशलमा सीमित छैन। उनले बायाँ ब्याकको भूमिकामा रिभोलुसन ल्याए र डिफेन्डरको भूमिकालाई आक्रमणात्मक दृष्टिकोणबाट परिभाषित गरे। उनको खेल शैलीले आगामी पुस्ताका खेलाडीहरूलाई प्रेरित गर्यो र फुटबलमा नयाँ सोचको सुरुवात गर्यो।

ब्रजिलका लागि १२५ क्याप जितेर ११ गोल गरेका कार्लोस अहिले पनि एक्टिभ छन् । पछिल्लो समय उनी फुटबलको विकास विस्तार र प्रवर्द्धनका लागि विश्वका कुना कुना पुग्ने गर्छन् । त्यही क्रममा नेपाल सुपर लिगलाई प्रवर्द्धन गर्न उनी नेपाल आएका हुन् । कहिले सोसल म्याच खेल्दै, कहिले च्यारिटीका लागि दौडिँदै – रोबर्टो कार्लोस आज पनि फ्यानहरूको मनमा बसेका छन् । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal