नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०१-०९
  • |
  • 1785 पटक हेरिएको

विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ। आज नेपालगन्ज रंगशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ६–५ गोलले पराजित गर्दै पुलिसले फाइनल यात्रा तय गर्‍यो।

निर्धारित ९० मिनेटको खेलमा पुलिसका तर्फबाट २९औँ मिनेटमा मिना देउवाले गोल गर्दै टिमलाई अग्रता दिलाइन्। पहिलो हाफसम्म आर्मीले गोल फर्काउन सकेन। तर दोस्रो हाफको ८०औँ मिनेटमा तुलसा बोहराले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन्। त्यसपछि खेलमा कुनै थप गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टी सुटआउटमा पुलिसकी रेबिका पाण्डे, उषा नाथ, निरु थापा, सुष्मा तामाङ, अनुष्का शेर्पा र अमृता जैसीले गोल गर्न सफल भइन् भने मोनिका पुलामी मगर, मिना देउवा र समीक्षा घिमिरेले गोल गर्न नसक्दा तीन पेनाल्टी गुमाइन्। आर्मीका तर्फबाट तुलसा बोहरा, हिमा चौधरी, सपना लामा, बिमला विक र सुखरिया सुक्लखुले गोल गरे। तर अंचली वाइबा, चन्द्रा भण्डारी, सुनिता चौधरी र इन्दिरा राई गोल गर्न असफल भए।

खेलमा म्यान अफ द म्याचको उपाधि नेपाल पुलिस क्लबकी गोलकिपर उषा नाथले जितिन्। उनलाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रकृष्ण चौलागाईं, चार नम्बर बाहिनीपति सहायक रथी विक्रम राणा र केआईसी नेपालगन्ज प्रमुख शुभास थापाले संयुक्त रूपमा नगद ५ हजार रुपैयाँ प्रदान गरे। उषाले मैदानमा खेल्ने मौका पाएमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन्।

खेलका मुख्य रेफ्री कृष्ण खत्री थिए भने सहायक रेफ्रीहरूमा जमुना आले, अमर घले र अनुपसिं थारु थिए। खेलमा एकमात्र पहेंलो कार्ड पुन्जली कुशवारले प्राप्त गरिन्।

खेलको उद्घाटन आयोजक संस्था अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाह र नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष तथा आयोजकका मिडिया संयोजक निरज गौतमले बल हस्तान्तरण गरेर गरेका थिए।

त्रिभुवन आर्मीका प्रशिक्षक चक्र तामाङले रेफ्रीको कमजोरी र व्यवस्थापन पक्षको त्रुटिका कारण अपेक्षाकृत प्रदर्शन नहुनुमा गुनासो गरे। उनले यो नतिजाबाट सिक्नुपर्ने र केही राम्रा खेलाडीको अभाव रहेको पनि बताए। यस्तै, टिम क्याप्टेन सुनिता चौधरीले खेलाडीले राम्रो खेले पनि सोचेजस्तो नतिजा नआएको बताइन्।

नेपाल पुलिस क्लबका प्रशिक्षक सुमन सुवेदीले दुवै टिम विभागीय भएकाले प्रतिस्पर्धा कडा भए पनि नतिजा आउनेमा विश्वास रहेको बताए। फाइनलमा पनि जित्ने सम्भावना रहेको उनले उल्लेख गरे। टिम क्याप्टेन निरु थापाले घरेलु मैदानबाट उपाधि जित्ने लक्ष्यसहित तयारी भइरहेको बताइन्।

पुलिसले अब उपाधिका लागि भोलि बुधवार हुने दोस्रो सेमिफाइनल अन्तर्गत रौतहट फुटबल संघ र अर्को विभागीय टोली एपीएफबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा सञ्चालित प्रतियोगिताको विजेता टोलीले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र अन्य पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal