शेरबहादुर स्मृति राष्ट्रिय महिला भलिबलको तयारी पूरा

Kelmi

फाइल तस्वीर

  • नेप्लेज
  • |
  • २०८२-०१-०९
  • |
  • 1846 पटक हेरिएको

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने केएनपी नेरोलेक आठौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा सहभागी ५ टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘बी’ मा साविक विजेता एपीएफ, एभरेष्ट र नेपाल आर्मी तथा समूह ‘बी’ मा साविक उपविजेता नेपाल प्रहरी र न्यु डायमन्ड रहेका छन् ।

पहिलो दिन २ खेल हुनेछ । त्यस दिन पहिलो खेल आर्मी र एपीएफबीच हुनेछ । अर्कोमा प्रहरीले न्यु डायमन्ड विरुद्ध खेल्ने छ ।

विजेताले नगद ४ लाख ९९ हजार, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार दिइने छ । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक प्रतिष्ठान अध्यक्ष रञ्जन खड्काले जनाएका छन् ।

प्रतियोगिताको उद्घाटनका अवसरमा एक राष्ट्रिय महिला खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित ‘शेरबहादुर खड्का स्पेसल अवार्ड’ बाट सम्मानित गरिने छ । एक प्रशिक्षकलाई पनि ५० हजार नगदबाट पुरस्कृत गरिने छ । पुरस्कार राशि मात्रै १३ लाखभन्दा बढी रहेको प्रतियोगिताको अनुमानित बजेट करिब ५० लाख रुपैयाँ रहेको प्रतिष्ठानका अध्यक्ष खड्काले जानकारी दिए । फाइनल बैशाख १३ गते हुनेछ ।

अध्यक्ष खड्काले प्रतियोगितालाई बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकले मुख्य प्रायोजन गरेको बताए । महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतिष्ठानले २०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । सातौं संस्करण सकिँदा एपीएफले ६ पटक उपाधि जितेको छ भने न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको उपाधि जितेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal