बर्नमाउथ प्रिमियर लिगको आठौं स्थानमा

-
एजेन्सी
- |
- २०८२-०१-०२
- |
- 3508 पटक हेरिएको
इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथ विजयी भएको छ । मंगलबार विहान सकिएको खेलमा बर्नमाउथले फुलहमविरुद्ध १–० को महत्त्वपूर्ण जित निकाल्दै लिग तालिकामा आठौँ स्थानमा छलाङ मारेको छ । खेलको सुरुआतमै एडोनी सेमेन्योले गरेको शानदार गोल नै निर्णायक बन्यो ।
खेल सुरु भएको केही सेकेन्डमै बर्नमाउथले अग्रता लिएको थियो । मिडफिल्डर एलेक्स स्कटको शानदार रनपछि बल फुलहमका डिफेन्डर रबिन्सनको खुट्टाबाट फुस्किएको थियो । सोही बल सम्हाल्दै सेमेन्योले फिनिसिङ गर्दै खेलको पहिलो मिनेटमै अग्रता दिलाए ।
दुवै टोलीले खेलभर आक्रामक प्रदर्शन गरे पनि फुलहमले आफ्नो अवसरहरू सदुपयोग गर्न सकेन । सेसेन्योन र मुनीजले पहिला हाफमै गोलको राम्रो अवसर गुमाए । दोस्रो हाफमा पनि फुलहमले दबाब बनाएको थियो, तर बर्नमाउथको रक्षात्मक प्रदर्शन उच्चस्तरको देखियो ।
बर्नमाउथका गोलकिपर केपाले खेलभर उत्कृष्ट बचाउ गर्दै फुलहमलाई निराश बनाए । विशेष गरी इवोबीको प्रहारमा उनले उत्कृष्ट डाइभ गरेर बचाउ गरे । अर्कोतर्फ, फुलहमका कीपर बेन्र्ड लेनोले पनि केही महत्वपूर्ण बचाउ गरे, तर सुरुआती गोलले खेलको निर्णय गरिसकेको थियो ।
जितसँगै बर्नमाउथ र फुलहम दुबैको ४८ अंक भए पनि गोलअन्तरका आधारमा बर्नमाउथ फुलहमभन्दा अगाडि पुगेको छ ।