स्टुवार्ट ललाई किन निकालेको थियो अमेरिकाले ?

-
नेप्लेज
- |
- २०८१-१२-१८
- |
- 4809 पटक हेरिएको
टी २० विश्वकपमा पाकिस्तानविरुद्ध ऐतिहासिक जित र अमेरिकालाई सुपर एटमा पुर्याएका प्रशिक्षक स्टुवार्ट ललाई बर्खास्त गरिएको खबर एकाएक मिडियामा आयो ।
विश्वकप सकिएको ठिक तीन महिनापछि सन् २०२४ अक्टोबरको अन्तिम आएको बर्खास्तकीको खबरले अमेरिकी क्रिकेट तरङ्गित बनायो । तीन वर्षका लागि अनुबन्धित भएका प्रशिक्षक जसले यस्तो ऐतिहासिक सफलता दिलाए, किन टिक्न सकेनन् । यो प्रश्न स्वाभाविक हो ।
यो प्रश्नको प्रत्यक्ष जवाफ बर्खास्त गर्नुभन्दा एक दिन अगाडी गए पुग्छ । आईसीसी विश्वकप क्रिकेट लिग टूअन्तर्गत अमेरिकाको ड्यालसमा भएको स्कटल्यान्डविरुद्धको सिरिजमा अमेरिकाको खराब प्रदर्शन आयो ।
स्कटल्यान्डसँग १० विकेटले पराजित भयो । जसमा अमेरिकाले जम्मा १४४ रनको मात्र बनाएको थियो । त्यसअघि भएको नेपालविरुद्धको तीन खेलको टी२० सिरिजमा पनि अमेरिका ३–० ले पराजित भएको थियो । कुशल भुर्तेलले नट आउट ९२ रन बनाएको र नेपालले अमेरिकालाई सुपर ओभरमा हराएको याद त तपाईँहरूलाई पनि ताजै होला ।
क्रिकेटमा कहिलेकाहीँ दिन चल्दैन । नतिजा जे पनि आउन सक्छ । तर, ललाई ट्राई नेशन्स सिरिजको बिचमै हटाउने कारण के हो ?
यो बुझ्नका लागि अझै केही समय अघि जानुपर्छ ।
अगस्टमा अमेरिका नेदरल्याण्ड भ्रमणमा गयो । जहाँ अमेरिकाले एउटा मात्र खेल जित्न सक्यो । एउटा खेल वर्षाका कारण रद्द हुँदा १ अङ्क थप्न सफल अमेरिकाले नेदरल्याण्ड्ससँगको दुवै खेलमा पराजय भोग्यो । यो सिरिज आईसीसी विश्वकप क्रिकेट लिग टु साइकलको पहिलो सिरिज थियो ।
विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गरेको अमेरिका एकाएक लज्जास्पद हारको सिकार हुँदा सबैलाई नमिठो लागेको थियो । सबैभन्दा ठूलो चोट अमेरिकी क्रिकेट बोर्डलाई लागेको थियो ।
र, पराजयको कारण खोतल्दै जाँदा प्रशिक्षक र खेलाडीबिचको सम्बन्ध खराब रहेको निष्कर्ष बोर्डले निकालेको थियो ।
लले कोही खेलाडीलाई काखा र कोहीलाई पाखा गर्ने गरेको आरोप लगाएका थिए । विशेष गरी कप्तान मोनाक पटेल प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट थिए । जसको प्रभावका कारण मोनाकले नेपालविरुद्धको पहिलो खेलमा ३, दोस्रोमा १ र तेस्रोमा २ रन मात्र बनाएर आउट भएका थिए ।
मोनाकमात्र नभएर अन्य सात सिनियर खेलाडीले लले खेलाडीलाई पक्षपात गर्ने, टिमका सदस्यले एक अर्काप्रति अविश्वास गर्ने वातावरण सिर्जना गरेको आरोप लगाए । विशेष गरी ललाई कप्तान पटेलविरुद्ध खेलाडीलाई भड्काएको आरोप लगाइएको थियो ।
नेदरल्याण्ड्स भ्रमणपछि भने यो विवाद उत्कर्षमा पुगेको थियो । त्यसपछि खेलाडीले लका कारण टिम स्प्रिटमा कमी आएको, खेलाडीबिचको सम्बन्ध चिसो बनाएको, खेलाडीलाई डिमोरलाइज गरेको भन्दै बोर्डमा पत्र लेखेका थिए ।
त्यसअघि टी२० विश्वकपमा भारतविरुद्धको म्याचका लागि नोश्तुश केन्जिगेलाई हटाउने निर्णय कप्तान पटेलले निर्णयमा प्रश्न गर्न लले खेलाडीलाई उक्साएको घटना साइटेसन गरिएको थियो ।
ल र मोनाकबीचको सम्बन्ध सुरु देखि नै चिसो भयो, जुन बेला सेलेक्टरहरुलाई लले मोनाकलाई कप्तानको भूमिका नदिन दबाब दिइरहेका थिए । र, यो असमझदारी विश्वकपको मैदानमा देखियो ।
मैदानमै प्रशिक्षक र कप्तानबिच गरमागरम बहस भयो । विश्वकपको दुई वटा म्याच खेलपछि इन्ज्युरीको कारण देखाएर पटेल मैदानमा फर्किएनन् । र, उनको इन्ज्युरी कस्तो हो भन्ने रिपोर्ट पनि सार्वजनिक भएन । प्रशिक्षक र कप्तानबिचको विवादका कारण पटेलले नखेलेको भनेर बुझ्न सायद गाह्रो नहोला ।
नेदरल्याण्ड्स भ्रमणमा पनि यस्तै भयो । यस पटक हरमित सिंह र लको वादविवाद क्यामरामा पटक पटक देखिएको थियो । कारण चाहिँ हरमितले अरू खेलाडीलाई दिएको बलिङ गर्ने टिप्स । लेगस्पीनर यासिर मोहम्मद, लगायत भारतीय मूलका खेलाडीलाई हिन्दी भाषामा कम्युनिकेट गरेको भन्दै प्रशिक्षक ल हरमितसँग खनिएका थिए ।
अर्का खेलाडी मिलिन्द कुमारले पनि लले आफूलाई उपेक्षा गरेको आरोप लगाएका थिए । लले आफूलाई हप्तौँसम्म पनि नेटमा अभ्यास गर्न नबोलाएको र आफूले नेटमा गरेको प्राक्टिसलाई पनि लले वास्ता नगरेको भनेर क्रिकेट बोर्डमा गुनासो गरेका थिए ।
विश्वकपमा पनि पाकिस्तानविरुद्धको खेलमा कप्तान पटेलले नितिश कुमारभन्दा अगाडी कोरी एन्डरसनलाई जान भनेका थिए । तर, उनी त्यस खेलमा बेन्चमा बसेका पटेलको निर्देशन पालना भएन । सुपर ओभरमा पनि पटेलले एन्डरसनलाई ब्याटिङमा पठाउने भनेकोमा प्रशिक्षकले नकारिदिएका थिए ।
नेपालविरुद्धको टी२० आई सिरिजका खेल्न लागेका आधा खेलाडी नयाँ थिए । तर प्रशिक्षकले खेलको रणनीति, योजना बनाउन, सबल र दुर्बल पक्षबाट छलफल गर्न कुनै खेलाडीलाई बोलाएनन् । खेलअघि दुई मिनेट जति छलफल भएको थियो, त्यो पनि मैदानमै, टस हुनुभन्दा अघि ।
तिनै प्रशिक्षक नेपाल राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक भएर आएका छन् । उनले नेपाली क्रिकेटमा के गर्छन् ? अमेरिकामा भएको घटना सुधार्ने काम गर्छन् वा गर्दैनन् ।
यसले नेपाली क्रिकेटको भविष्य समेत निर्धारण गर्नेछ ।