आइपिएलमा बलरले फेरि थुक प्रयोग गर्न पाउने

-
नेप्लेज
- |
- २०८१-१२-०७
- |
- 4912 पटक हेरिएको
इण्डियन प्रिमियर लिग (IPL) २०२५ मा बलरले फेरि थुक प्रयोग गरेर बल चम्काउने अनुमति पाउने भएका छन् ।
बिहीबार मुम्बईस्थित बीसीसीआई मुख्यालयमा आयोजित बैठकमा आईपीएलका अधिकांश कप्तानहरूले यो नियम पुनः ल्याउनुपर्ने माग राखेपछि बीसीसीआईले उक्त निर्णय लिएको हो।
सन् २०२० मा कोभिड-१९ महामारीको समयमा अस्थायी रूपमा लागु गरिएको यो प्रतिबन्ध २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले स्थायी बनाएको थियो। तर, हालैका वर्षहरूमा बलरले थुक प्रयोग गर्न नपाउँदा बलमा रिभर्स स्विङ आउन कठिन भएको र यसले विशेषगरी सेतो बलको क्रिकेटमा प्रभाव पारेको खेलाडीहरूले बताएका थिए।
भारतीय तीव्र गतिका बलर जसप्रीत बुमराहले अघिल्लो वर्ष नै बलरसँग बल मर्मत गर्नको लागि कुनै विकल्प दिनुपर्ने बताइरहेका थिए। उनले भनेका थिए, "बलरहरूको लागि कुनै विकल्प हुनु आवश्यक छ ताकि बललाई राम्रोसँग मर्मत गर्न सकियोस्।" हालै मात्र भारतीय क्रिकेटर मोहम्मद शमीले पनि थुक प्रतिबन्ध हटाउनुपर्नेमा जोड दिएका थिए।
उनले अष्ट्रेलियाविरुद्धको च्याम्पियन्स ट्रफी सेमिफाइनलपछि भनेका थिए, "हामी रिभर्स स्विङ ल्याउने प्रयास गरिरहेका छौं, तर थुकको प्रयोग गर्न नपाइने हुँदा कठिन भइरहेको छ। हामी निरन्तर अनुरोध गरिरहेका छौं कि थुक प्रयोग गर्न दिइयोस् ताकि खेल अझ रोचक बनोस्।"
यस विषयमा पूर्व अन्तर्राष्ट्रिय बलरहरू भर्नोन फिल्यान्डर र टिम साउथीले पनि शमीलाई समर्थन गरेका छन्। साउथीले भनेका छन्, "कोभिडको समयमा यो नियम ल्याइएको थियो, तर अहिले परिस्थिती फेरिएको छ। खेलाडीहरूले ३६०+ रन बनाउने क्रम बढ्दै गएको छ, जसले बलरहरूलाई कठिन बनाएको छ।
यदि थुक प्रयोग गर्ने अनुमति दिँदा बलरहरूलाई केही फाइदा हुन्छ भने म सोच्दिन कि यसमा कुनै समस्या छ।" आईपीएल २०२५ मा यो नियम लागू भएसँगै बलरहरूलाई रिभर्स स्विङ फिर्ता ल्याउने अवसर मिल्नेछ भने खेलमा अझ रोचकता थपिने विश्वास गरिएको छ।