इन्टरनेशनल वुमेन्स च्याम्पनसिप: नेपालको उपाधि जित्ने लक्ष्य [भिडिओ]

- |
- २०८१-११-०१
- |
- 3000 पटक हेरिएको
प्रतिस्ना रेग्मी
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आगामी फागुन ५ देखि १४ गतेसम्म घरेलु मैदानमा इन्टरनेशल वुमेन्स च्याम्पियनसिप खेल्दै छ।
दशरथ रङ्गशालामा हुने खेलमा आयोजक नेपालसहित, किर्गिस्तान, म्यानमार र लेबनान खेल्दै छन्। यो प्रतियोगिता एसियाली फुटबल महासङ्घ एफसी र महिला एसिया कपसँगै विश्व फुटबल महासङ्घ फिफा महिला विश्वकप तयारीको स्वरूप आयोजना हुन लागेको हो।
प्रतियोगिताको लागि भनेर ३० सदस्यीय टोली अहिले बन्द प्रशिक्षणमा छन्।नेपाली टोलीले एन्फा कम्प्लेक्स तथा दशरथ रङ्गशालामा प्रशिक्षण गरिरहेको छ।
प्रतियोगिताको लागि तयारी राम्रै भइरहेको टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ बताउँछन्।
उनले भने, 'प्रतियोगिताको लागि हाम्रो तयारी राम्रै भएको छ, अहिले हामीले तीन दिन देखि दशरथ रङ्गशालामा पनि प्रशिक्षण गरिरहेका छौँ, त्यस्तै, हामीले बिहान दुई घण्टा पनि प्रशिक्षण गरिरहेका छौँ।'
प्रशिक्षकले यसअघि बन्द प्रशिक्षणमा रहेका ९ खेलाडीलाई बाहिर राख्दै दोस्रो चरणको लागि ३० जना खेलाडी बोलाएका थिए, सोही अनुसार ३० जनालाई उनले नै प्रशिक्षक दिइरहेका छन्।
नेपाली महिला फुटबलको लागि यो प्रतियोगिता एउटा इतिहास नै हुनेछ किनभने,नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल आयोजना हुँदै छ।
प्रतियोगिताको लागि एन्फा महिला लिगको खेलहरू पनि निकै मद्दत गरेको प्रीति राईले सुनाइन्।
'यो प्रतियोगिता सुरु हुनु भन्दा अघि हामीले महिला लिग खेलेका थियौँ, जसले गर्दा हामीलाई यो प्रतियोगितामा हामीलाई मद्दत पुग्ने छ' प्रीति भन्छिन्, 'त्यो लिगले गर्दा खेलाडीहरूबिच कोडिनेसन पनि राम्रो भएको छ।'
नेपाली महिला टोलीले हालै मात्र एन्फा महिला लिग सकेको थियो । गत भदौ देखि सुरु भएको उक्त लिगको समापन माघको १६ गते भएको थियो। प्रशिक्षकले अहिले खेलाडीहरूलाई धैर्य भएर खेल्नमा मेन फोकस गरिरहेको प्रीतिले भनिन्।
'अहिले प्रशिक्षकले चाहिँ हामीले मुख्य गरेर अहिले धैर्य बनेर खेल्न एकदमै बढी सिकाइरहनु भएको छ हामीले जुन गोल खादा र गोल बराबरी हुँदा धैर्य भएर खेल्न भन्नुभएको छ, त्यो हामीले बुझी पनि रहेको छौँ, त्यही कुरामा खेलमा लागु गर्न छौँ' प्रीतिले भनिन्।
यो प्रतियोगितामा म्यानमार सबैभन्दा बलियो टोलीकै रूपमा देखा परेको छ। नेपालले आफ्नो उद्घाटन खेलमा किर्गिस्तानसँग खेल्दै छ। सन् २०१९ मा नेजेदा कपमा नेपालले किर्गिस्तानलाई ८- २ ले हराएको थियो। फिफा वरियतामा हेर्न हो भने म्यानमार ५५औँ, लेबनान १३४औँ तथा किर्गिस्तान १२८औँ स्थानमा रहेको छ। यस्तोमा घरेलु टोली नेपाल फिफा वरियतामा १०३औँ स्थानमा रहेको छ।
पहिलो चार देशको खेल तथा घरेलु मैदानमै खेल हुँदा उत्साहसँगै प्रेसर भएको रेनुका नगरकोटी बताउँछिन्।
'घरेलु मैदानमा खेल हुँदा एकदमै उत्साहित भइरहेको छौँ, योसँगै यस पटक हामीले एकदमै प्रेसर पनि छ किनभने हामी हरेक खेलमा उपविजेता मै सीमित हुन परिरहेको छ तर, यस पटक उपाधि हामीले घरमै राख्ने छौँ।'
नेपाली महिला फुटबल टोलीले हेर्न हो भने टोली सधैँ अभागी देखिन्छ नेपालले खेलेको १२ वटा खेलमा नेपाल उपविजेता मै सीमित हुन पुगिरहेको छ।
गत कार्तिकमा भएको साफ वुमेन्स च्याम्पियनसिप पनि नेपाल घरेलु मैदानमै उपविजेता हुन पुग्यो। नेपालले खेल्न लागेको तीन वटा टोलीसँग यसअघि खेलिसकेको छ, यस्तोमा नेपाललाई भने घरेलु मैदानको सदुपयोग गर्न मौका मिल्ने छ।
बलियो टोलीको रूपमा हेरिएको म्यानमारसँग नेपालको तीन पटक भेट भइसक्यो। तर, तीनै पटक नेपाल पराजित हुन पुगेको छ।
'घरमै खेल हुँदा उपाधि घरमै राख्ने सबैको चाहना हुन्छ नै, म्यानमार यो प्रतियोगिताको सबैभन्दा बलियो टोलीको रूपमा रहेको छ' प्रशिक्षक राजेन्द्र तामाङले पत्रकारहरूसँग भने 'म्यानमारले ठुलै देशहरूसँग प्रतिस्पर्धा गर्छ, खेल हो जे पनि हुनसक्छ उपाधि जित्ने लक्ष्य राखेका छौँ।'
त्यस्तै, नेपालको भेट किर्गिस्तान र लेबनानसँग १ पटक मात्र भएको छ, जहाँ नेपालले यी दुवैलाई पराजित गरेको छ। विपक्ष टोलीलाई बलियो रूपमा हेरेको तर जित्नकै लागि मैदान उत्रिने प्रीतिले बताइन्।
'हामीले किर्गिस्तान, र लेबनानलाई हराएको रेकर्ड छ, तर, हराएको भन्दैमा उनीहरूलाई कमजोर ठानेको छैनौँ, म्यानमारलाई चाहिँ हामीले अहिलेसम्म जितेको छैनौँ उसलाई हराउने र उपाधि हामीले नै जित्ने लक्ष्य सहित हामी मैदानमा उत्रिँदै छौँ,' प्रीतिले सुनाइन्।
नेपाली टोलीको मुख्य चुनौती नै अहिले एउटा उपाधि हात पार्नु छ यस्तोमा नेपालले यो प्रतियोगिता र घरेलु मैदानको सदुपयोग गर्न सकेमा नेपाली महिला फुटबल टोली पनि एक स्वर्णिम युगमा प्रवेश गर्ने छ।
फागुन ५ गतेबाट सुरु हुने प्रतियोगिता राउन्ड रोबिनको आधारमा खेलिने छ, जसमा शीर्ष दुई टोली फाइनल प्रवेश गर्न छन्। प्रतियोगिता अन्तर्गत दिनमा दुई वटा खेल हुने पहिलो खेल दिउँसो २ बजे तथा दोस्रो खेल साँझको ६ बजे हुनेछ।