महिला क्रिकेटः नेपालले थाइल्यान्डलाई ८२ रनको लक्ष्य

- |
- २०८१-१०-२५
- |
- 2203 पटक हेरिएको
काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको खेलमा नेपालले थाइल्यान्डलाई ८२ रनको लक्ष्य दिएको छ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन जोड्यो। नेपालकी ओपनर सम्झना खड्काले सर्वाधिक १९ रनको योगदान दिइन्।
उनले २९ बलमा एक चौका प्रहार गरिन्। नेपालकी अर्की ओपनर बिन्दु रावल ७ रन बनाउँदै पेभिलियन फर्किन्।
१५ बलको सामना गरेकी उनले १ चौका प्रहार गरिन्। नेपालकी पूजा महतो ६ रनमै आउट भइन्। ११ बलको सामना गरेकी उनले एक चौका प्रहार गरिन्।
कप्तान इन्दु बर्माले १० रन बनाइन्, जसका लागि उनले २१ बलको सामना गरिन्। नेपालकी कविता जोशीले १२ बलमा एक चौका र एक छक्का प्रहार गर्दै १४ रन बनाइन्। अलिशा कुमार यादव शून्य रनमै आउट भइन्।
नेपालकी सीता राना मगर ७ तथा राजमती ऐरी ११ रन बनाउँदै नटआउट रहिन्। थाइल्यान्डका लागि ओनिचा कामपोचुमले सर्वाधिक तीन विकेट लिइन्।
त्यस्तै, चन्दिदा सुतिरङ र सुलिपोर्न लोमीले समान एक–एक विकेट लिए। यो सिरिज अन्तर्गतको अन्तिम खेल हो।