पुलिस बन्न दौडिएकी राजपूरा, अनजानमै खेलाडी

-
नेप्लेज
- |
- २०८१-१०-२१
- |
- 2145 पटक हेरिएको
प्रतिस्ना रेग्मी
राजपूरा पछाईंको सानै देखिको सपना थियो, आफूले आफूलाई पुलिस भएको देख्ने। पुलिस देखेपछि उनी हुरुक्कै हुन्थिन्।
उनलाई पुलिस हुने खास किन मन लाग्थ्यो भने पुलिसको बर्दीले उनलाई औधी मन पर्थ्यो। ठूलो भएको पछि आफू पनि यही बर्दीमा देखा पर्न उनले अठोट लिएकी थिइन्। 'मलाई सानै हुँदा देखि नै पुलिस एकदम धेरै मन पर्थ्यो, पुलिसले लगाएको बर्दी देखेर नै मलाई पुलिस हुन मन लागेको हो' राजपूराले भनिन्, 'पुलिस हुने सपना त मैले त्यही बेला देखि नै देखेको हो।'
उनी पुलिस हुनकै लागि सधैँ बिहान बिहान कुद्ने गर्थिन्। उनी कुद्नमा यतिसम्म व्यस्त हुन्थिन् कि, कुनै बेला खान समेत बिर्सिएर लगातार दौडी मात्र रहन्थिन्।
अनि बनिन् पुलिस...
जुम्लाको कनकासुन्दरी नगरपालिका सिञ्जामा सामान्य परिवारमा जन्मिएकी उनी आमा बुबाको पहिलो सन्तान हुन्। राजपूरा परिवारकी जेठी छोरी हुन् भने उनी मुनि दुई वटा भाइ छन्।
उनको सानैबाट केही गर्न हुटहुटी थियो। उनलाई आफ्नै खुट्टामा उभिएर आफ्नो पहिचान बनाउन मन लाग्थ्यो। तर, उनको आमा बुबाको सपना थियो, छोरीलाई स्टाफ नर्स पढाएर नर्स बनाउने। जुम्लामै होटेल व्यवसायमा संलग्न रहेका उनको बुबाले उनलाई सधैँ भने गर्थे ठूलो भएर नर्स हुनुपर्छ।
तर, राजपूरालाई कहिल्यै नर्स हुन मन लागेन। 'मलाई चाहिँ बुबा आमाले स्टाफ नर्स पढेर नर्स हुनुपर्छ भन्नुहुन्थ्यो, छोरी भएर अहिले नै जागिर खानु हुँदैन भन्नुहुन्थ्यो' राजपूराले सुनाइन्। बुबाको होटेल भएकोले गर्दा त्यहाँ खाजा खाना पुलिसहरू आउने गर्थे।
उनी विद्यालय नहुँदा र आफ्नो फुर्सद हुँदा बुबालाई होटेलमा सघाउने गर्थिन्। त्यही बेला उनले पुलिसहरूलाई देख्ने गर्थिन्। उनीहरूले लगाएको बर्दीले राजपूराईलाई झनै आकर्षित बनायो।
दिनहुँ जस्तो खाजा खाने आउने पुलिसहरू बिस्तारै राजपूराको बुबाको साथी बन्दै गए। राजपूराले उनीहरूलाई नजिक बन्दै चिन्दै गइन्। अनि पुलिसमा भर्ती कसरी हुन सकिन्छ भनेर उनले त्यहाँबाट आइडिया निकालिन्। पुलिस हुनको लागि दौड एकदमै आवश्यक हुन्छ भनेर थाहा पाएपछि उनी त्यो थाहा पाएको दिनदेखि नै बिहान सधैँ उठेर दौडिन् थालिन्। उनको त्यो दौड र पुलिस बने त्यो सपना छिटै नै पूरा भयो।
उनी कक्षा ८ मा पढ्दा पढ्दै पुलिसमा भर्ती हुन पुगिन्। अनि कक्षा १० अर्थात् एसइई दिएपछि उनी पुलिस क्लबमा आबद्ध हुन पुगिन्। 'मैले जब खुल्ला छनोटबाट पुलिसमा नाम निकाले त्यो बेला देखेको एउटा सपना पूरा भएको जस्तो लागेको थियो' राजपूरा भन्छिन्, 'भाग्यमानी नै ठान्छु आफूलाई सानै उमेरमा सपना पूरा भयो। उनी अझै गाउँमा हुँदा भलिबलमा निकै नै खेल्ने गर्थिन्।'
भलिबल खेल्नकै लागि भनेर उनी दुई तीन घण्टा हराउने गर्थिन्। उनले दुई वर्ष भलिबलको प्रशिक्षण समेत गरिन्। लिबरो खेल्ने उनी क्षेत्रीय प्रतियोगिता समेतमा भाग लिएकी थिइन्।
भलिबलको प्रशिक्षण गरेकी उनलाई दौडिन त्यति गाह्रो भएन। उनी कहिल्यै काहीँ त खान समेत बिर्सिएर दौडिन थाली हाल्छिन्। पढाइमा राम्रो उनीले प्लस टु पास गरेकी छिन्।
अनजानमै खेलाडी बनेकी राजपूरा
उनले आफ्नो जीवनको पहिलो खेल राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलिन्। यो प्रतियोगिता उनी पुलिसमा भर्ती हुनुअघि नै खेलेकी हुन्।
कक्षा ७ मा पढ्दा पढ्दा उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोस्रो भइन्। त्यस बेला उनले कुनै पनि प्रशिक्षण नगरी नै ५ किलोमिटर र १५ किलोमिटरमा दौडमा दोस्रो स्थान हासिल गरिन्।
तयपछि हो, उनको खेलको यात्रा सुरु भयो, यस प्रतियोगितामा उनी पुलिसमा भर्ती हुनुअघि नै सहभागिता जनाएकी थिइन्। पुलिस बन्छु भनेर दौडी रहेकी उनी बिनै प्रशिक्षण आफ्नो स्थान हासिल गरिन्। त्यो 'मैले खेलेको मेरो पहिलो प्रतियोगिता पुलिस हुनु भन्दाअघि नै खेलेको हो, दोस्रो भएपछि खेलप्रति पनि इच्छा जागेको थियो' राजपूराले सुनाइन्।
त्यसपछि पोखरमा आयोजना भएको वृहत् राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चाहिँ उनले ७ दिन हरि रोकायासँग प्रशिक्षण गरिन्। त्यस प्रतियोगितामा पनि उनले आफ्नो उत्कृष्ट खेलिन्। त्यो प्रतियोगितामा उनले ५ किलोमिटरमा प्रथम स्थान हासिल गरेकी थिइन भने १५ सय किलोमिटरमा दोस्रो स्थान हासिल गरेकी थिइन्।
तयपछि जब उनले एसइई दिएपछि पुलिस क्लबमा आबद्ध हुन पुगिन् अनि त्यहाँबाट थाहा पाइनँ पुलिस भएपछि नि खेलाडी बन्न पाइँदो रहेछ भनेर। त्यसपछि मात्र हो, उनले क्लबमा प्रशिक्षकसँग प्रशिक्षण गर्न मौका पाइन्। अनि पुलिसमा खुल्लाबाट खेल्दै उनी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चौथो भइन्।
तयपछि उनले आठौँ राष्ट्र खेलकुदमा त तहल्का नै पिटिन उनले सो प्रतियोगितामा स्वर्ण पदक हात पारिन्।
राजपूरा भन्छिन्, त्यस प्रतियोगिता मेरो लागि निकै नै खास रहेको थियो। तयपछि उनले नवौँ राष्ट्रिय खेलकुदमा ५ किलोमिटर र १० किलोमिटरमा रजत पदक हात पारेकी थिइन्।
हरेक प्रतियोगितामा राम्रो छाप छाड्दै गएकी उनी आफूले खेलेको पहिलो खेलमा दोस्रो भएपछि नै खेल्नको लागि हिम्मत आएको बताउँछिन्। उनले भनिन् 'म पहिला भलिबल नै खेल्थे जब मैले खेलेको पहिलो खेलमै दोस्रो स्थान हासिल गरेपछि , यो त एक्लै खेल्ने खेल हो आफैँ राम्रो प्रदर्शन गर्न सकेमा नाम हुन्छ जस्तो लागेर झन् हिम्मत आयो।'
उनले पहिलो अन्तर्राष्ट्रिय खेलमा साउथ एसियन क्रस कन्ट्री प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। उनी त्यस प्रतियोगितामा टिमतर्फ पनि रजत तथा एक्ल स्पर्धामा पनि रजत पदक जितेकी थिइन्। 'मलाई क्रस कन्ट्री खेल्न खासै गाह्रो भएन किनकि मैले उकालो ओरालोमा पहिलैदेखि नै दौडिने गर्थे' राजपूरा भन्छिन्, 'त्यही भूगोलमा खेलिरहेको भएर मलाई क्रस कन्ट्री खेल्ने गाह्रो लाग्दैन '
उनले घरेलु प्रतियोगिता बाहेक एसियन क्रस कन्ट्री प्रतियोगितामा रजत पदक जितेर एउटा इतिहास नै रचेकी थिइन्। उनी जन्मेको र हुकिृएको स्थान उकालो ओरालो हुँदा उनलाई क्रस कन्ट्री खेल्ने खासै गाह्रो भएन। सानैबाट नै उकालो ओरालोमा दौडिँदै आएकी उनीलाई त्यो दौडको बानी नै परिसकेको थियो।
उनले घरेलु प्रतियोगिता बाहेक एसियन क्रस कन्ट्री प्रतियोगितामा रजत पदक जितेर एउटा इतिहास नै रचेकी थिइन्। नेपाली खेलकुदमा राम्रो छाप छाडेकी उनको अबको लक्ष्य २०२६ को एसियन गेम्स खेल्ने हो।
हरेक खेलाडीको चाहन्न हुन्छ ,देशको लागि मेडल ल्याउन। मेडल प्राप्त पछि पुरस्कार खेलाडीको लागि पहिलो कदम हो। तर, यस्तोमा नेपाल ठ्याक्कै उल्टो छ। राजपूराले पनि नेपाल सरकारबाट पाउन पर्न पुरस्कार पाएकी छैन। उनले हालसम्म पनि नेपाल सरकारबाट कुनै पनि रकम प्राप्त गरेकी छैनन्। उनले दुई वर्ष अघि एसियन क्रस कन्ट्री प्रतियोगितामा ऐतिहासिक रजत पदक जितेकी थिइन्। त्यस बेला सरकारले तोकेको रकम पुरस्कार रकम दिएकै छैन।
'हामीले त्यो बेला एउटा ऐतिहासिक पदक जितेको थियो, त्यो बेला पाउनु पर्न रकम अहिलेसम्म पाउन सकेको छैनन्' राजपूराले नेप्लेजसँग भनिन् 'राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल एथलेटिक्स सङ्घलाई दोष दिन्छ फेरि सङ्घले राखेपलाई दोष दिन्छ पिडामा चाहिँ हामी खेलाडी छौँ।'