रेफ्री अधिकारीलाई तामाङ समाज युएईद्वारा सम्मान

-
नेप्लेज
- |
- २०८१-१०-१६
- |
- 2462 पटक हेरिएको
अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर तथा युएईका पहिलो नेपाली राष्ट्रिय रेफ्री जगन अधिकारी, कराते राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शान्ति तामाङ, मध्यपूर्वको पर्यटन क्षेत्रकी पहिलो महिला डबल डेकर बस चालक शान्ती भण्डारी, र सामाजिक कार्यमा सक्रिय पेमा तामाङलाई तामाङ समाज यूएई, अबुधाबी क्षेत्रीय समितिद्वारा सम्मान गरिएको छ।
यो सम्मान २५ जनवरी २०२५, शनिबार, इन्डियन इस्लामिक सेन्टर–अबुधाबीमा आयोजित मञ्जुश्री संवत् २८६१ औं डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछार तथा सेलो विशेष कार्यक्रमको अवसरमा प्रदान गरिएको हो। सम्मानित व्यक्तित्वहरूलाई नेपाली समाजका अध्यक्ष राम मोक्तान, तामाङ समाज यूएईका अध्यक्ष भिम दोङ, सल्लाहकार सम्भु वाईवा, तथा अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष लवाङ दोर्जे लगायतले खादा र सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै तामाङ समाज यूएईका संस्थापक कोषाध्यक्ष, पूर्वअध्यक्ष तथा नेपाली समाजका अध्यक्ष राम मोक्तानले सम्मानित सबैलाई बधाई दिँदै, युएईमा बसेर तेक्वान्दो खेलमार्फत नेपालको नाम उचो पार्दै आएका जगन अधिकारीको योगदानको प्रशंसा गरे। साथै, उनले विभिन्न क्षेत्रमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाइरहेका व्यक्तित्वहरूलाई सम्मान गरेकोमा तामाङ समाज यूएई, अबुधाबी क्षेत्रीय समितिलाई धन्यवाद व्यक्त गरे।
सम्मानपछि, कराते खेलमार्फत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्न सफल र हाल युएईको अबुधाबीस्थित वारियर एकेडेमीमा कराते प्रशिक्षण गराइरहेकी शान्ति तामाङले आयोजक समितिले फरक विधामा अघि बढिरहेका नेपालीहरूलाई सम्मान गरेर थप राम्रो काम गर्न प्रेरित गरेको बताइन्।
कार्यक्रममा तामाङ समाज यूएई, अबुधाबी क्षेत्रीय समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्याम तामाङले, नेपाली समुदायमा परिचित मध्यपूर्वको पर्यटन क्षेत्रकी पहिलो महिला डबल डेकर बस चालक शान्ती भण्डारी, सामाजिक कार्यमा सक्रिय पेमा तामाङ, तथा खेल क्षेत्रमा सफल अन्य व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए। साथै, उनले अन्य संस्थाहरूलाई पनि यस्ता कार्यक्रममार्फत नेपाली प्रतिभालाई हौसला प्रदान गर्न सुझाव दिए।
भव्य रूपमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका चर्चित तामाङ गायक-गायिका मनमाया वाईवा, संजिव घिसिङ, सुमिना लो, तथा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
तामाङ समाज यूएई तथा अबुधाबी क्षेत्रीय समितिले विभिन्न सामाजिक कार्यहरूमा सक्रिय भूमिका खेल्दै नेपाली समुदायलाई निरन्तर सहयोग गरिरहेको छ।