ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा फर्कियो

-
एजेन्सी
- |
- २०८१-१०-०७
- |
- 2373 पटक हेरिएको
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडले स्यान्टियागो बेर्नाबेउमा लस पाल्मासलाई ४–१ गोल अन्तरले पराजित गर्दै ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो । किलियन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे ।
यस जितले रियल मड्रिडलाई दुई अंकको अग्रतासहित शीर्ष स्थानमा पु¥यायो । यसै क्रममा एट्लेटिको मड्रिडले लेगानेसविरुद्ध अप्रत्याशित हार बेहोर्दा फाइदा रियललाई भयो ।
पेरिस सेन्ट–जर्मेनबाट रियल मड्रिड आएका एमबाप्पेले यो सिजन ला लिगामा आफ्नो १२औं गोल गर्दै, बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीपछि दोस्रो उच्च गोलकर्ता बनेका छन् ।
खेलको सुरुवातमै लस पाल्मासले ३० सेकेन्डमै सान्ड्रो रामिरेजको पासमा फाबियो सिल्भाको गोलमार्फत अग्रता लिएको थियो ।
तर, त्यसपछि रियल मड्रिडले खेल आफ्नो नियन्त्रणमा लियो।
एमबाप्पेले पहिलो हाफमै पेनाल्टीमार्फत बराबरी गोल गरे । यो पेनाल्टी सान्ड्रोले रोड्रिगोलाई फाउल गरेपछि प्राप्त भएको थियो । दोस्रो गोल उनले रोड्रिगोकै असिस्टमा गरे ।
रियलका लागि तेस्रो गोल ब्राहिम डियाजले एमबाप्पेको ब्लक भएको प्रहारबाट रिबाउन्ड गर्दै गरेका थिए । चौथो गोल रोड्रिगोले फ्रान गार्सियाको लो क्रसबाट गरे ।
खेलमा एमबाप्पेले सम्भावित ह्याट्रिक गर्ने अवसर पाए पनि एक गोल अफसाइडका कारण रद्द भयो। यस्तै, जुड बेलिङ्घम र फेडे भाल्भेर्देका दुई गोल पनि अफसाइडका कारण गनिएका थिएनन् ।
यस खेलमार्फत रियल मड्रिडका डिफेन्डर डेभिड आलाबाले एक वर्ष लामो घुँडाको चोटपछि पुनरागमन गरेका छन् ।
६४ औं मिनटमा लस पाल्मस १० खेलाडीमा समेटिएको थियो । सान्ड्रो रामिरेजलाई रेफ्रीले भारको सहायताबाट सिधै रातो कार्ड थिए । रामिरेजले रियल मड्रिडका कप्तान लुकास भास्क्वेजलाई ट्याकल गर्दा चोट लागेपछि रातो कार्ड पाएका हुन् ।