चेसमै जीवन बिताएकी मोनालिसाः एकेडेमीमार्फत नयाँ पुस्ता तयार गर्न कटिबद्ध

-
नेप्लेज
- |
- २०८१-१०-०४
- |
- 2267 पटक हेरिएको
प्रतिस्ना रेग्मी
नेपालमा मात्र होइन, विश्वभर नै चेसलाई अत्यन्तै चुनौतीपूर्ण खेल मानिन्छ। नेपालमा पनि चेस खेल्नेहरुको संख्या उल्लेख्य छ, तर चेसले नेपाली खेलकुदमा पाउनु पर्ने मान्यता र अवसर पाएको छैन। यस्तै अवस्थामा, मोनालिसा खम्बुले चेसलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउँदै यो खेललाई अगाडि बढाउने सपना पूरा गरिरहेकी छिन्।
खोटाङमा जन्मेकी मोनालिसा मध्यम वर्गीय शिक्षित परिवारमा हुर्किएकी हुन्। सानैदेखि आफूलाई सफल व्यक्तिका रूपमा स्थापित गर्ने हुटहुटीले उनलाई अघि बढ्न प्रेरित गर्यो। विद्यालय गएर फर्केपछि अन्य बालबालिकाले जस्तै खेल्नुभन्दा उनले घरको काममा सहयोग गर्ने गर्थिन्।
मोनालिसाले पहिलो पटक आफ्नो भाइबाट चेस खेल्न सिकेकी थिइन्। सुरुमा खेल्न निकै गाह्रो भए पनि भाइसँग हार्दै–हार्दै उनको चेसप्रतिको रुचि बढ्दै गयो। जब उनले भाइलाई हराउन थालिन्, तब चेस खेल्न अझ रमाइलो महसुस भयो।
कक्षा ८ मा काठमाडौं आएपछि मोनालिसाको चेसप्रतिको लगाव झन् गहिरो भयो। स्कुलको इन्टरस्कुल टुर्नामेन्ट खेल्ने साथीहरूको प्रेरणाले उनलाई औपचारिक रूपमा चेस प्रतियोगितामा भाग लिन प्रेरित गर्यो। उनले आफ्नो पहिलो प्रतियोगिता अन्नपूर्ण नेशनल चेस च्याम्पियनसिप मा प्रथम स्थान हासिल गरिन्।
अन्नपूर्ण च्याम्पियनसिपबाट सुरु भएको मोनालिसाको चेस यात्रा राष्ट्र र अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको छ। उनी यू–१९ चेस च्याम्पियन मात्र नभएर नेपालकी पहिलो महिला चेस च्याम्पियन पनि हुन्।
सन् २००६ मा एसियन गेम्समा चेसलाई पहिलो पटक समावेश गरियो। मोनालिसा एसियन गेम्समा छनोट हुने पहिलो नेपाली महिला खेलाडी बनिन्। लामो समयसम्म खेलकुदमा योगदान दिएपछि उनले २०७९ सालमा नेपाल बुद्धिचाल संघको महासचिवको जिम्मेवारीसमेत सम्हालिन्।
नेपाली खेलकुदमा चेसले खासै स्थान नपाएको अनुभूति गर्दै मोनालिसाले नयाँ पुस्तालाई अवसर दिन एकेडेमी खोल्ने निर्णय गरिन्। २०८० सालको चैत्रमा थापाथली, काठमाडौंमा स्थापना गरिएको हिमालयन चेस एकेडेमी अहिले एक सफल संस्था बन्दै गएको छ।
“हाम्रो लक्ष्य भनेको नयाँ पुस्ताका खेलाडीलाई राम्रो एक्सपोजर र प्लेटफर्म उपलब्ध गराउनु हो,“ मोनालिसाले भनिन्।
एकेडेमी विशेष गरी बालबालिकाहरूका लागि लक्षित छ। शनिबार र विदाका दिन चेस सिक्ने बालबालिकाको बाक्लो उपस्थिति हुन्छ। एकेडेमीले चार स्तरका कोर्सहरू सञ्चालन गर्छ। खेलाडीको क्षमता परीक्षणपछि उनीहरूलाई उपयुक्त स्तरमा भर्ना गरिन्छ।
हाल एकेडेमीमा १० जना प्रशिक्षक छन्, जसमा राष्ट्रिय चेस खेलाडीदेखि ओलम्पियाड खेलाडी रिजनराज भण्डारीसम्म छन्। भण्डारी एकेडेमीका प्रमुख प्रशिक्षक हुन्।
अहिलेसम्म एकेडेमीमा १०० भन्दा बढी विद्यार्थीले भर्ना लिइसकेका छन्। “बालबालिकाले नयाँ सीप सिक्दै एक्सपोजर पाउने वातावरण बनाउनु हाम्रो प्राथमिकता हो,“ मोनालिसाले भनिन्।
मोनालिसाले एकेडेमीमार्फत नेपाली चेसलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने र खेलाडीहरूलाई थप अवसर दिने लक्ष्य लिएकी छिन्। खेलाडीको रूपमा प्राप्त अनुभवलाई उनले नयाँ पुस्ताका लागि मार्गनिर्देशक बनाउँदै छिन्।
मोनालिसाको प्रयासले नेपाली चेसमा मात्र होइन, सम्पूर्ण खेलकुद क्षेत्रमा नयाँ उचाइ थप्ने विश्वास गर्न सकिन्छ।