प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-२७
  • |
  • 2202 पटक हेरिएको

प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी-२० क्रिकेट प्रतियोगितामा दाङ र रुपन्देही टिम समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेका छन् ।

लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी प्रतियोगिता अन्तरगत तेस्रो दिन शनिवार भएको प्रदेश स्तरीय छनोट खेलमा दाङले बाँकेलाई ५ विकेटले हराउँदै समूह ‘बी’ को विजेता तथा रुपन्देहीले बर्दियालाई ४ रनले पराजित गर्दै समूह ‘ए’ को विजेता हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् ।

लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी-२० छनोट प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको बाँकेले १ठ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रन बनायो ।

बाँकेकी सुस्मिता रञ्जु श्रेष्ठले ३४ तथा सुरक्षा पुन मगरले १५ रन बनाउनु बाहेक अरू खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बलिङतर्फ दाङकी मधु डिसीले ४ ओभरमा १३ रन दिएर २ विकेट लिँदा समीक्षा केसीले २ दशमलव २ ओभरमा १५ रन दिएर २ विकेट लिइन् । यसैगरी, आस्ना चौधरीले २ ओभरमा २६ रन दिएर २ विकेट लिँदा सिरिसा चौधरी र अनिता चौधरीले समान १-१ विकेट लिइन् ।

१ सय २ रनको विजयी लक्ष्यका साथ मैदानमा जवाफी ब्याटिङ गर्न उत्रिएको दाङले १९ ओभरमा ५ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्‍यो । दाङका लागि सरस्वती जिएमले कप्तानी पारी खेल्दै ३४ बलमा ९ चौकासहित अविजित ५५ रनको योगदान दिइन् । ओपनर सुप्रिया बुढा मगरले ११ रन बनाउनुभयो । अरू खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

बाँकेकी स्वस्तिका बजगाईँले ४ ओभरमा १ मेडनसहित १५ रन दिएर २ विकेट लिइन् । मनीषा राना र सम्झना पुनले १-१ विकेट लिइन् । प्रतियोगितामा दाङकी कप्तान सरस्वती जिएम प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव कैलाश रोका मगरले जानकारी दिए । दाङसँगको हारका बाबजुद पनि बाँके यसअघि पाल्पालाई हराउँदै समूह उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

यसैगरी, शनिवार दिउँसो भएको खेलमा समूह ‘ए’ मा रहेको रुपन्देहीले ४ रनको रोमाञ्चक जीत निकाल्दै बर्दियालाई पराजित गरेको छ । टस हारेर पहिलो ब्याटिङमा निम्तो पाएको रुपन्देही निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९४ रन बनायो । रुपन्देहीका लागि एन्जिला पाठकले १९ रन, कविता खड्काले १५ रन बनाउनु बाहेक अरू खेलाडीले दोहोरो रन बनाउन सकेनन् । बर्दियाकी विमला पुनले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिँदा रितिसा मानन्धर, कृतिका क्षेत्री र दीपा कुँवरले १-१ विकेट लिइन् ।

९५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको बर्दियाले सम्हालिएर खेल्न नसक्दा ४ रनको हार व्यहोर्यो । बर्दियाका लागि पेमलामु शेर्पाले २१ रन, दीपा कुँवरले १६ रन तथा कामना विष्टले १४ रनको योगदान दिए पनि अरू खेलाडी क्रिजमा टिक्न नसक्दा हार व्यहोर्न पुग्यो । बर्दियालाई झिनो रनले हराउन रुपन्देहीकी एन्जिला पाठकले अलराउण्ड प्रदर्शन गरिन्  । उनले ३ दशमलव २ ओभर बलिङ गर्दै १४ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिइन् । यसैगरी, आँचल रोका मगरले २ ओभरमा १ मेडनसहित ६ रन दिएर २ विकेट, सीमा थापाले २ ओभरमा १६ रन दिएर १ विकेट लिइन् ।

टिमलाई जित दिलाउन अलराउण्ड प्रदर्शन गर्नुभएकी रुपन्देहीकी एन्जिला पाठक प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव रोका मगरले जानकारी दिए ।

प्रतियोगिताबाट पाल्पा र बर्दिया जित विहीन हुँदै बाहिरिएका छन् । समूह विजेता हुँदै दाङ र रुपन्देही सेमिफाइनलमा पुग्दा समूह उपविजेता हुँदै नवलपरासी र बाँके पनि सेमिफाइनलमा पुगेका हुन् ।

प्रतियोगिता अन्तरगत अब पहिलो सेमिफाइनल आइतबार समूह ‘ए’ को विजेता रुपन्देही र समूह ‘बी’ को उपविजेता बाँके बिच बिहान खेल हुँदा दिउँसो समूह ‘बी’ को विजेता दाङ र समूह ‘ए’ उपविजेता नवलपरासी बिच सेमिफाइनल खेल हुनेछ । छनोट प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुने सचिव रोका मगरले जानकारी दिए ।

क्यानको क्यालेन्डर अनुसार प्रदेश क्रिकेट सङ्घले आयोजनामा सुरु भएको छनोट प्रतियोगितामा प्राविधिक सहयोग दाङ क्रिकेट सङ्घले गरेको छ । प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । त्यसको तयारी स्वरूप लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको हो । माघमा हुने प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै ८ वटै टोलीले एक अर्कासँग खेल्ने छन् र अङ्क तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।

यस्तै, तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal