यू-१९ महिला विश्वकप: नेपालको सुपर सिक्समा पुग्ने लक्ष्य
- नेप्लेज
- |
- २०८१-०९-२६
- |
- 2295 पटक हेरिएको
प्रतिस्ना रेग्मी
सीमित श्रोत साधनको बाबजुद यी किशोरीहरू विश्वकपमा पुगेका छन् । कडा मेहनत र कठिन सङ्घर्ष गर्दै विश्व मञ्चमा पुगेका उनीहरू यो यात्रालाई अझै अघि बढाउन चाहन्छन् । उनीहरूलाई थाहा छ विश्व क्रिकेटका महारथीहरूसँग भिड्नु चानचुने कुरा होइन । ब्याट र बलको कलामार्फत आफू भन्दा धेरै सुविधामा प्रशिक्षण गरेका देशलाई हराउनु सहज छैन ।
प्रतियोगिता नजिकिँदै जाँदा उनीहरू अहिले अन्तिम चरणको प्रशिक्षण गरिरहेका छन् । छनोट प्रतियोगिता र त्यसअघिको तयारी र छनोट भइसके पछिको तयारीको समय गरी किशोरीहरू निरन्तर आफ्नो खेल कौशल सुधार्न मेहनत गरिरहेका छन् । त्यसबिचमा उनीहरूले एसीसी एसिया कपमा पनि सहभागी भएर आफ्नो प्रदर्शनलाई सुधार्ने अवसर पाए । जहाँ उनीहरूले टेस्ट मान्यताप्राप्त पाकिस्तानलाई हराए भने भारतसँगको खेल वर्षाका कारण पूरा हुन सकेन । विश्व क्रिकेटका पावर हाउस रहेका एसियाली प्रतियोगिताको सुपर फोरसम्म पुगेर नेपाली किशोरी टिमको आत्मविश्वास बढेको छ । जसलाई आसन्न प्रतियोगितामा प्रयोग गर्नु छ । खेलेर केही हुँदैन भन्ने जमातलाई चुनौती दिनु छ ।
खेल्न खेलाडीहरू निकै उत्साहित रहेको टोलीका प्रशिक्षक महेश प्रसाद रिजालले बताए। 'नेपाली महिला क्रिकेटमा लामो समय भइसकेको थियो केही कुरा हासिल गर्न नसकेको यू- १९ टोली विश्वकपमा छनोट भइसकेपछि खेलाडीहरूमा आत्मबल बढेको छ' प्रशिक्षक रिजाल भन्छन्, 'उनीहरू निकै मोटिभेट देखिएका छन् एउटा ठुलो प्लेटफर्ममा नेपाललाई चिनाउन पाउँदा।'
हुन त नेपाली महिला क्रिकेटको इतिहास लामो छैन । नेपाली महिला क्रिकेट टिम सन् २००७ मा मात्र अन्तर्राष्ट्रिय एरेनामा प्रवेश गरेको थियो । जसरी सुरुवाती दिनहरूमा सिनियर महिला खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभाव छोडे, त्यसरी नै यी किशोरीहरू आफ्नो कौशल प्रदर्शन गरेर देशलाई चिनाउने ध्याउन्नमा छन् ।
अब उनीहरू आइसिसी यु१९ महिला टी-२० विश्वकप खेल्दै छन् । युएई, थाइल्यान्ड र कुवेतलाई पछि पार्दै नेपाली खेलाडीहरूले विश्वकपमा स्थान बनाएका हुन् । जनवरी १८ अर्थात् माघ ५ गतेबाट मलेसियामा सुरु हुने आइसिसी यु१९ महिला विश्वकपमा नेपाल समूह 'डी'मा छ । त्यसमा नेपालसँगै अष्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् ।
प्रतियोगिताका लागि भनेर नेपाली टिमले चितवनमा प्रशिक्षण गरेको थियो । चितवनमा १० दिने प्रशिक्षण सकाएर अहिले किशोरीहरू मूलपानीस्थित मैदानमा अन्तिम प्रशिक्षण गरिरहेका छन् ।
महिला यु१९ विश्वकपको यो दोस्रो संस्करण हो भने नेपाली टिमले पहिलो पटक सहभागिता जनाउँदै छ । पहिलो सहभागितामै उत्कृष्ट नतिजा ल्याउने गरी तयारी भइरहेको छ ।
प्रतियोगितामा आयोजक मलेसिया, १० वटा टेस्ट राष्ट्र, नेपालजस्तै क्षेत्रीय छनोट पार गरेर आएका पाँच राष्ट्र सहभागी छन् । नेपाल एसिया क्षेत्रबाट छनोट भएको हो भने अफ्रिकाबाट नाइजेरिया, इस्ट एसिया प्यासिफिकबाट सामोआ, युरोपबाट स्कटल्यान्ड र अमेरिकाजबाट संयुक्त राज्य यु१९ महिला टी२० विश्वकपमा छनोट भएका हुन्
एसिया कपमा पाकिस्तानलाई पछाडि पारेर सुपर फोरमा पुगेको नेपालको प्रदर्शनमा वर्षा बाधक बन्यो । श्रीलंकाविरुद्धको खेलमा एक ओभर बलिङ गरेपछि वर्षा भयो । तर बंगलादेशसँगको हार भने नमिठो लागेको छ । त्यही बङ्गलादेश फेरी आफ्नै समूहमा परेको छ । र पहिलो खेल बङ्गलादेशसँग नै खेल्नेछ नेपालले ।
यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको विदाई
'हामीले एसिया कपमा टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियौँ' कप्तान पूजा भन्छिन्, 'विश्वकपमा पनि हामीले टेस्ट राष्ट्रलाई पराजित गर्न योजना बनाएको छौँ।'
विश्वकपमा १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ जसमा हरेक समूहको शीर्ष तीन टोली सुपर सिक्समा पुग्छन्। नेपालको पनि विश्वकपमा सुपर सिक्समा पुग्ने लक्ष्य छ। यहाँ एउटा खेल जितेमा पनि सुपर सिक्समा पुग्ने सम्भावना बढ्नेछ । सुपर सिक्समा पुगेमा चेलीहरूले थप अनुभव प्राप्त गर्नेछन् ।
विश्वकपमा छनोट र त्यसपछि एसिया कपमा पाकिस्तानलाई हराएपछि किशोरीको चर्चा देश विदेशमा फैलिएको छ । नेपाली समर्थकले उनीहरूबाट ठुलो अपेक्षा गरेका छन् भने अन्तर्राष्ट्रिय जगतले पनि नेपाली टोलीको प्रदर्शन कुरिरहेका छन् । प्रतियोगिता सुरु हुनु अघि नेपालले वेस्ट इन्डिज र अमेरिकासँग वार्मअप म्याच खेल्नेछ । प्रतियोगिताको पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग तय भएको छ भने माघ ७ गते स्कटल्यान्ड र नौ गते अष्ट्रेलियासँग खेल्नेछ ।
'हाम्रो समूहमा टेस्ट राष्ट्र परेको छन् उनीहरू पक्कै पनि राम्रो छन् टी- २० क्रिकेट हो नतिजा जे नि हुन सक्छ' प्रशिक्षक रिजाल बताउँछन् 'हाम्रो मुख्य उद्देश्य भनेको नै एउटा चुनौती क्रिकेट पस्किने हो।'
'हाम्रो लक्ष्य भनेको विश्वकपको सुपर सिक्समा पुग्ने छ' कप्तान पूजाले नेप्लेजसँग भनिन् 'हामी बंगालदेश र स्कटलन्डलाई हराउने दाउमा छौँ जसमा हामीले अष्ट्रेलियासँग राम्रो क्रिकेट खेल्ने छौँ।'
त्यसपछि हरेक समूहबाट आएको शीर्ष तीन टोली गरी सुपर सिक्समा पुग्ने १२ टोली हुने छ जहाँ ती १२ टोलीलाई ६- ६ टिम बनाएर खेलाइन्छ। विश्वकपको लागि टोली एकदमै सन्तुलित रहेको उपकप्तान सोनीले बताइन्। 'हाम्रो टोली अहिले एकदमै सन्तुलित अवस्थामा छ, दुवै ब्याटिङ र बलिङ पक्ष राम्रो छ' उपकप्तान सोनीले भनिन्, 'विश्वकपको लागि हामी तयार छौँ।'
नेपाली पुरुषको तुलनामा नेपाली महिला क्रिकेटको त्यति धेरै चर्चा छैनन्। यसअघि नेपालको कुनै पनि महिला क्रिकेट यतिमाथिको प्रतियोगितामा पुगेको थिएन तर यू- १९ महिलाले एउटा आस जगाएको छ।
नेपाली टिममा कप्तान पूजा महतो, उपकप्तान सोनी पाख्रिन, सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ छन् ।