इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधि आर्मीलाई
तस्वीर साभार : बुटवलटुडे
- नेप्लेज
- |
- २०८१-०९-२५
- |
- 2127 पटक हेरिएको
मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि त्रिभुवन आर्मी क्लबले जीतेको छ । विहिबार भएको फाइनलमा अर्को विभागिय टिम नेपाल पुलिस क्लबविरुद्ध उत्त्कृष्ट पुनरागमन गर्दै ३–२ को सेटमा उपाधि जितेको हो ।
नेपाल पुलिस क्लबले लगातार अग्रतासंगै पहिलो सेट २५–१८ अंकले आफनो पक्षमा पारेको थियो । दोस्रो सेट भने आर्मीले कमब्याक गरेको थियो । आर्मीले २५–१८ ले सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
तेस्रो सेटमा पुलिस फेरि दबाब बनाउँदै २५–२१ ले जीतेपछि खेल रोमाञ्चक बनेको थियो । चौथो सेटमा आर्मी खेलमा फर्किँदै २५–२२ ले जितेपछि फाइनल खेलको नतिजा फाइनल सेटबाट निकाल्नु पर्ने अवस्था आयो । निर्णायक पाचौ सेटमा आर्मी शुरुवातदेखि नै अग्रता लियो र अन्ततः १५–७ को स्कोरमा जीत निकाल्दै उपाधि पनि जित्न सफल भयो ।
उपाधिसंगै आर्मीले नगद ७ लाख, आर्कषक १५ केजीको रनिङशिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । साथै हङकङ निवासी खेलप्रेमी बिष्णु बहादुर गुरुङ (ठुले) ले आयोजकमार्फत उपाधी विजेता टिमलाई थप नगद १ लाख ५ हजार रुपैया हस्तान्तरण गरेका छन । उपविजेता पुलिस भने नगद ३ लाख ५० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
बुटवलको मणिमुकुन्द भलिबल क्लब तेस्रो हुँदै नगद १ लाख ७५ हजार तथा भारतको गुजरात भलिबल क्लब चौथौ हुदै नगद १ लाख रुपैयाबाट पुरस्कृत भएको छ ।
प्रतियोगितामा आर्मीका धन बहादुर भट्ट मोस्ट भेलुएबल प्लेयर घोषित हुदै नगद २५ हजार, गिफट हेम्परबाट पुरस्कृत भए । पुलिसका सन्जु बिक्रम शाह उत्कृष्ट आउटसाईड हिटर, रबिन चन्द उत्कृष्ट अपोजिट हिटर, रबिन नगरकोटी उत्कृष्ट मिडल ब्लकर, त्रिभुवन आर्मीका दुर्गा प्रसाद महतो उत्कृष्ट सेटर, त्रिभुवन आर्मीकै ईश्वर थापा उत्कृष्ट लिबेरो, आर्मीकै लोक बहादुर बुढा उत्कृष्ट कोच घोषित हुदै नगद १० हजार रुपैयासहित गिफट हेम्परबाट पुरस्कृत भए ।
विजेता टिम तथा व्यक्तिगत विधाका खेलाडीहरूलाई लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका पूर्व अध्यक्ष राजु गुरुङ, पूर्व क्रिकेटर तथा कोच शक्ति गौचन, मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमको सहभागीता थियो ।