सानै उमेरमा राम्रो छाप बनाएकी रसिलाको ओलम्पिक खेल्ने लक्ष्य
- नेप्लेज
- |
- २०८१-०९-२२
- |
- 2389 पटक हेरिएको
प्रतिस्ना रेग्मी
नेपालमा हालै योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशल सिरिज सम्पन्न भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को इनडोर कभर्डहलमा भएको उक्त प्रतियोगिता नेपाली खेलाडीका लागि भने बिर्सन लायक नै रह्यो ।
प्रतियोगिताको पहिलो दिन नै नेपाली ब्याडमिन्टनका स्टार र नम्बर वान खेलाडीहरू प्रिन्स दाहाल, र रसिला महर्जन पहिलो चरणबाटै बाहिरिए ।
नेपाली ब्याडमिन्टनमा एकदमै चर्चित नाम हो प्रिन्स दाहाल र रसिला महर्जन । अझै नेपाली महिला ब्याडमिन्ट खेलाडीको कुरा आउँदा रसिलाको नाम कहिल्यै छुट्दैन ।
उमेरले भर्खर २० वर्ष टेकेकी रसिलाले नेपाली खेलकुदमा आफ्नो अलग पहिचान बनाइसकेकी छिन् । लुम्बिनी प्रदेशमा आयोजना भएको ८ औँ राष्ट्रिय खेलकुदमा उनले सिनियरतर्फ स्वर्ण जितेकी थिइन् ।
‘मैले निकै सानो उमेरमा राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाए त्यो कुरालाई लिएर म एकदमै भाग्यमानी महसुस गर्छु’,रसिला भन्छिन् ‘त्यो राष्ट्रिय खेलकुद मेरो लागि यतिकै खास थियो ।’
बुबालाई पछाउँदै खेलाडी बनेकी रसिला
उनलाई हरेक दिन बिहान निन्द्राले चाँडै छोड्थ्यो । बिहानको मौसम अनि त्यति चाँडै उठेर के गर्न भनेर उनको दिमागमा विचार आउँथ्यो ।
रसिलाले उनको बुबा सधैँ बिहान ब्याडमिन्टन खेल्न जाने गरेको देखिन् । ब्याडमिन्टन खेल्दा शरिरको नि कसरत हुने गर्छ, सोही कारण उनको बुबा आफ्नै टोल छिमेकमा ब्याडमिन्टन खेल्थे । बुबाले ब्याडमिन्टन खेलेको देखेर उनलाई पनि भित्रैबाटै ब्याडमिन्टन खेलौँ खेलौँ हुन्थ्यो ।
बुबाले सधैँ आफूसँगै पछि लागेर जानु पर्दैन भन्दा पनि रसिला उनको बुबा उठ्नुभन्दा अघि नि तयारी अवस्थामा बसिसकेकी हुन्थिन् । ‘बुबाले ब्याडमिन्टन खेलेको देख्दा मलाई एकदमै रमाइलो लाग्थ्यो, म नि तपाईँसँग जान्छु भन्दा बुबाले पर्दैन भन्नुहुन्थ्यो अनि म उहाँ उठ्नुभन्दा अघि नि ब्याडमिन्टन खेल्न जानको लागि तयारी अवस्थामा रहन्थिन्’ रसिलाले नेप्लेजसँग मुस्कुराउँदै भनिन् ।
उनको बुबालाई लागेको थियो रसिला एक दुई दिन मात्र आफ्नो पछि लाग्छे भनेर तर छोरीको ब्याडमिन्टन प्रतिको मोहले देखेर उनको बुबाले उनलाई प्रशिक्षणमा हाल्ने निर्णयमा पुगे ।
त्यसपछि उनलाई त्यही टोल छिमेकका सुजमानले ब्याडमिन्टनको बेसिक लेभेल सिकाए । त्यसपछि ब्याडमिन्टन सङ्घमै रहेका वीरेन्द्र श्रेष्ठसँग आर्मीमा प्रशिक्षण गर्न मिल्छ भनेर सुनाए ।
त्यसपछि रसिलाले आर्मीमा आएपछि वीरेन्द्र श्रेष्ठसँग ब्याडमिन्टन सिक्न थालिन् । त्यसपछि त्यहाँ एक वर्ष प्रशिक्षण गरेपछि हो, उनले औपचारिक रूपमा ब्याडमिन्टन खेल्न सुरु गरेको ।
बुबासँग पछि लाग्दा उनी जम्मा ७ वर्षकी थिइन् । ७ वर्षको उमेरदेखि हातमा ब्याडमिन्टन बोकेर हिँड्ने उनको ब्याडमिन्टनको यात्रा भने ९ वर्षको उमेर देखि भयो । ‘बुबाले मलाई एकदमै साथ दिनुभएको छ, त्यो बेला उहाँलाई पनि ब्याडमिन्टनबारे खासै जानकारी थिएन’, रसिलाले भनिन् । ‘बुबाले मलाई यही खेलमा निरन्तर लाग्न सुझाव दिनुभयो र अहिले म यो ठाउँमा छु ।’
सानै उमेरबाट नै खेलमा लागेकी उनको बाल्यकाल्य नै खेल खेल्दै गयो । सात वर्षको उमेरमा ब्याडमिन्टन बोकेर हिँड्ने उनी बिहान र बेलुका सधैँ ब्याडमिन्टन खेल्ने गर्थिन् । बिहान साढे ५ बजे उठेर उनी त्रिभुवन आर्मी क्लब पुग्थिन् ।
बिहान ६ बजेदेखि ८ बजेसम्म प्रशिक्षण गर्थिन, त्यहाँबाट आएर स्कुल जान्थिन्, स्कुलको छुट्टी भएपछि स्कुलबाट सिधै उनी आर्मी क्लब पुग्थिन् अनि बेलुकाको साढे ६ सम्म प्रशिक्षण गरेर घर फर्किन्थिन् ।
‘मेरो बाल्यकाल कोर्टमा नै बित्यो निकै सानो उमेरदेखि खेलमा लागेँ, कोर्टबाट स्कुल स्कुलबाट कोर्ट, अरू साथीहरूजस्तो घुम्न रमाइलो गर्न त्यस्तो कहिल्यै भएन’ रसिलाले सुनाइन् । दिनभरिको स्कुल अनि बिहान र बेलुकाको प्रशिक्षण । न उनले खेललाई त्याग्न सकिन् न त पढाइलाई उनले यी दुवैलाई सँगसँगै लगिन् ।
आइडल मोडल स्कुलबाट एसइई उत्तीर्ण गरेकी उनले स्कूलले प्रतियोगिताहरू हुँदा निकै साथ दिएको स्मरण गर्छिन् । ‘मलाई होमवर्क गर्न चाहिँ कहिले कहिले अल्छी लाग्थ्यो तर, खेलको प्रशिक्षणमा जान कहिले अल्छी लागेन थकाइ पनि लागिरहेको हुन्थ्यो, तर मैलै जसो त्यसो गरेर म्यानेज चाहिँ गरे’ रसिला भन्छिन्।
अनि सुरु भयो खेलको यात्रा
रसिलाका बुबालाई सानो काजीले आर्मीमै प्रशिक्षण हुन्छ छोरीलाई त्यहाँ लगेर प्रशिक्षण गराउनु भनेर भनेका थिए । उनले भनेकै अनुसार नै रसिला त्यहाँ प्रशिक्षण गर्न थालिन् । आर्मी क्लबमा उनले दुई वर्ष कुनै खेल नखेली प्रशिक्षण मात्र गरिरहिन् ।
प्रशिक्षण गरेको दुई वर्ष पछि मात्र उनले प्रतियोगिता खेल्ने मौका पाइन् । उनले आफ्नो खेल जीवनको पहिलो खेल कृष्ण मोहन मेमोरियल ब्याडमिन्टन खेलिन । त्यहाँ रसिलाले आफूले खेलेको पहिलो खेलमै तेस्रो स्थान हासिल गरिन् ।
‘मैल खेलेको पहिलो खेल नै स्मरणीय भयो पहिलो खेलमै तेस्रो स्थान हासिल गरेर मेडल ल्याएकी थिएँ, त्यसपछि झन् खेल खेल्ने हौसला जागेर आयो’ रसिलाले सुनाइन् ।
उनले आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक नै जितिन् । त्यस्तै, उनले नेपालमा भएको १३औँ साफ प्रतियोगितामा टिम इभेन्टमा कांस्य पदक जितेकी थिइन् । ‘त्यो साग प्रतियोगितामा चाहिँ हामीमाथि अलिकति प्रेसर थियो, किनभने त्यो भन्दा अघिको खेलमा दिदीहरूले मेडल ल्याउनु भएको थियो’, रसिलाले त्यो बेलालाई सम्झँदै भनिन्, टिममा खेल्नु पर्दा प्रेसर फिल भएको थियो, तर गर्न सक्छौँ भनेर हामीले खेल्यौँ कांस्य पदक जित्दा पनि हामी एकदमै खुसी थियौँ ।’
सन् २०१५ मा उनले जुनियरतर्फबाट नै अन्तर्राष्ट्रिय प्रतियोगितामा पाइला टेकिन् । उनले भारतको पुनमा भएको सुशान्त चिप्प कट्टी स्मृति जुनियर यु १९ खेलेकी थिइन् ।
‘पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न जाँदा अलिकति डर लागेको थियो, घरभन्दा टाढा जाँदै छु जस्तो लागेको थियो । तर, त्यो खेललाई एउटा अवसरको रूपमा पनि हेरेको थिए’ रसिला भन्छिन् ’ जे होस् सानै उमेरमा एउटा राम्रो खेलको अनुभव बटुलेको थिएँ ।’
त्यस्तै, उनले १३ वर्षको उमेरमा एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेकी थिइन । सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाडमा त्यहाँ उनले मालदिभ्सविरुद्ध टिम गेम खेलेकी थिइन भने नेपालकी अमिता गिरिसँग डब्ल्समा कोरियासँग प्रतिस्पर्धा गरेकी थिइन् ।
नेपालमा राम्रो छाप छाडेकी रसिलाले ओलम्पिक खेल्ने लक्ष्य राखेकी छन् ।’ मैले नेपाललाई धेरै प्रतियोगितामा प्रतिनिधित्व गरिरहेको छु यी भन्दा बाहेक नेपाललाई ओलम्पिकमा प्रतिनिधित्व गराउन मन छ, मेरो लक्ष्य नै ओलम्पिक खेल्न हो ।’
नेपालको प्रतिनिधित्व गरेकी उनले त्यो एसियाड खेल्ने सबैभन्दा कान्छी खेलाडी नै रसिला थिइन् । ‘त्यो एसियन गेमलाई मैलै अवसरको रूपमा लिएको थिए, मैले राम्रो गरेर देखाउनपर्छ भने लागेको थियो तर, त्यही खेल नै मेरो कारणले हार्न पुगेको थियो’ रसिला भन्छिन्’ खेल हारेको भएर पश्चात्ताप भएको थियो पछि त्यही कुरालाई सुधारेर अघि बढे ।’
नेपालमा हेर्न हो भने ब्याडमिन्टनले अझै पनि नेपाली खेलकुदमा आफ्नो स्थान मजबुत बनाउन सकेको छैन । त्यस्तोमा ब्याडमिन्टन खेल अझै पनि छायामा परिरहेको छ । घरेलु प्रतियोगिता नहुँदा खेलाडीहरू अझै मर्कामा पर्छन् ।
‘नेपालमा ब्याडमिन्टन खेलहरू नै हुँदैन यहाँ ब्याडमिन्टन खेल हुने भनेको नै दसैँ तिहार पछि मात्र हुन्छ, अरू बेला खेल नै हुँदैन’ रसिलाले नेप्लेजसँग भनिन’ अरू बेला हामीले क्लबमै प्रशिक्षण गरेर बिताउनु पर्छ ।’
नेपालमा हेर्न हो भने क्रिकेटले अहिले एकदमै हाइप लिइरहेको छ । यस्तोमा नेपाल क्रिकेट सङ्घ क्यानले खेलाडहरुको वर्गीकरण अनुसार तलब दिइरहेको छ । फुटबलमा पनि केही हदसम्म खेलाडीलाई राहत छ ।
तर, छायामा परेका खेलका खेलाडीहरूलाई जीवन चलाउनै मुस्किल छ । नेपाल ब्याडमिन्टन सङ्घले पनि खेलाडीको लागि भनेर केही गर्न खोजे पनि आजका दिनसम्म खेलाडी स्वयम आफैँले आफ्नै पैसामा प्रशिक्षण र डाइटहरु खाइरहेका छन् ।