नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको पहिलो बैठक बस्यो
- नेप्लेज
- |
- २०८१-०८-२९
- |
- 2751 पटक हेरिएको
नेपाली कांग्रेस पार्टी केन्द्रीय समितिले गत मंसिर २६ गते आफ्नो भातृ संस्थाहरुको अधिवेशन चैत मसान्त सम्म गर्न गराउन नेपाली कांग्रेसको विधान, २०१७ (संसोधन सहित) धारा २५(९) बमोजिम तिन, सदस्यीय नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरिएको छ।
गठन पश्चात् महाधिवेशन केन्द्रीय निर्देशन समितिको पहिलो बैठक केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको संयोजकत्वमा सदस्यद्वय केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझी, केन्द्रीय सदस्य गणेश लामा र आमन्त्रित सदस्यका रुपमा नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचन सहितको उपस्थितिमा महत्त्वपूर्ण निर्णय गरि सम्पन्न गरेका छन्।
पूर्व खेलकुद विभाग प्रमुख समेत रहेका पूर्व मन्त्री मा. मोहन बहादुर बस्नेतले बैठकमा मुलतः प्रदान गरिएको जिम्मेवारी अनुसार अधिवेशन समयमा पूरा गर्नु पहिलो दायित्व रहेको धारणा राखेका छन्।
प्रभावशाली केन्द्रीय सदस्य बस्नेतले लोकतन्त्र प्रति आस्था राख्ने खेलकर्मीहरुलाई एक ठाउँमा राखेर खेलक्षेत्रलाई नै चलायमान बनाउने उदेश्यका साथ आगामी पुस १४ गते काठमाडौंको राष्ट्रिय सभागृहमा बृहत् खेलकुद राष्ट्रिय भेला राख्ने निर्णय भएको जानकारी गराएका छन्।
नेपाली कांग्रेसका पार्टी सभापति सम्माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख अतिथि रहने राष्ट्रिय खेलकुद भेलामा खेलकुदमन्त्री, प्रदेश खेलकुदमन्त्री, ७७ वटै जिल्लाका सभापति, नेपाल लोकतान्त्रिक खेलकुद संघका जिल्ला अध्यक्षहरु, कांग्रेस समर्थक राष्ट्रिय खेल संघमा आबद्ध खेलकर्मी, सञ्चारकर्मी एवं शुभेच्छुक खेलप्रेमिहरुको उपस्थिति रहने बताएका छन्।
यसैगरी निर्देशन समितिका सदस्य उमेशजङ्ग रायमाझीले नेपाल लोकतान्त्रिक खेलकुद संघको आसन्न अधिवेशनमा प्रतिनिधि चयन गर्न सम्बन्धित जिल्लाका पार्टी सभापति र वरिष्ठ खेलकर्मीहरु सँग सरसल्लाह गरिने जानकारी गराएका छन्।
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग प्रमुख समेत रहेका रायमाझीले विधान अन्तर्गत अधिवेशन प्रतिनिधि चयन गर्न नेपाल लोकतान्त्रिक खेलकुद संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई जिम्मेवारी प्रदान गरि सबै जिल्लामा खटाइने अवगत गरएका छन्।
यस्तै निर्देशन समितिका अर्का सदस्य गणेश लामाले नेपाल लोकतान्त्रिक खेलकुद संघ निर्वाचन सहितको नयाँ कार्य समिति चयन गर्न अधिवक्ता पूर्ण सिं बोहराको संयोजकत्वमा छुट्टै सचिवालय गठन गरिएको जानकारी गराए। साथै राष्ट्रिय खेलकुद परिषदमा खालि रहेको उपाध्यक्ष सहित अन्य पदमा नियुक्ति गराउन खेलकुदमन्त्री संग तत्काल छलफल गर्ने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका युवा नेता लामाले बैठकवाट नेपाल ओलम्पिक कमिटीको निर्वाचन सम्बन्धि छलफल हुदा समग्र खेलकुद कर्मीहरुले अभिरुचि राखेको विषयमा राष्ट्रिय खेलनिति अनुरुप अगाडि बढ्न सक्ने नेतृत्व, नेतृत्वलाई सघाउने पदाधिकारी र सदस्यको टिमलाई चयन गराउने तर्फ लाग्ने निर्णय भएको जानकारी गराएका छन्।
बैठकमा उपस्थित आमन्त्रित सदस्य देवेन्द्र कुमार शेरचनले निर्देशन समिति र खेलकुद विभागले दिएको निर्देशन अनुसार अधिवेशनका लागि सम्पूर्ण तयारी गरिसकेको जानकारी गराएका छन्। उनले भने जिल्ला जिल्लामा नयाँ सदस्यता वितरण गर्ने काम शुरु भइसकेको छ। कोशी र मधेश प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको र बाकी प्रदेशमा पनि छिट्टै सम्पन्न हुने बताए।
नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले भातृ संघको मान्यता प्राप्त भइसकेको संघ भएको कारण अबको अधिवेशनले चयन गर्ने कार्यसमितिको संगठनमा ठूलो प्रभाव रहनेछ भन्दै खेल क्षेत्रमा आमूल परिवर्तन गरि नयाँ आयाम सञ्चार गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघका सचिवालय सदस्य एवं सह प्रवक्ता राजु ताम्राकारको उपस्थिति रहेको बैठकवाट केन्द्रीय निर्देशन समित, केन्द्रीय खेलकुद विभाग र नेपाल लोकतान्त्रिक खेलकुद संघले संयुक्तरूपमा प्रयोग गर्न मिल्ने गरि तत्काल नयाँ कार्यालय ब्यबस्थापन गर्ने निर्णय समेत गरेको छ।